रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा दुई साताव्यापी निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले आउँदो बुधबारदेखि आगामी जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सरकारले पहाडी जिल्लामा दुई सय जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरे पनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
यदि कसैले जिल्ला छाड्नुपर्ने वा अर्काे ठाउँ जानुपर्ने भए २४ घन्टाभित्र जान समय दिेइएको प्रजिअ सापकोटाले जानकारी दिए ।
रोल्पामा हालसम्म ८८ जना सक्रिय संक्रमित रहेका छन् । विशेषगरी गंगादेव गाउँपालिकामा ५० बढी संक्रमित भेटिएको र एक जनाको मृत्युसमेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । छिमेकी दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।