प्रेरक भनाइ : बाबुआमाको सेवाभन्दा ठूलो धर्म अर्को हुँदैन

१, बाबुआमाको सेवा र आज्ञा पालनभन्दा ठूलो धर्म अर्को हुँदैन । बरू सकिन्न र भ्याइन्न भने तीर्थ, ब्रत तथा यज्ञअनुष्ठान नगरे पनि हुन्छ तर बाबुआमाको सेवा भने गर्नै पर्छ । किनकि यी बिना ती सब निरर्थक हुन्छन् ।  महर्षि वाल्मीकि२, सानो कुरामा पनि इमान्दार हुन सक्नुपर्छ, सिक्नुपर्छ । अन्यथा ठूलो कुरामा इमान्दार हुनै सकिन्न । किनकि इमान्दारीको जग भनेकै यस्तै कुरा हुन् । मदर टेरेसा३, केही फरक कुरा गर्नु छ भने भीडबाटा टाडा हुनुपर्छ । भीडले साहस त दिन्छ तर आफ्नो परिचय हराउँछ । भीडकै भाषा बोल्न थालिन्छ,

सम्बन्धित सामग्री

निषेधाज्ञाको सहारा

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले गर्ने प्रदर्शन र प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले गर्ने प्रदर्शन मिति र स्थान जुधेपछि शान्ति सुरक्षा कायम गर्न सरकारले माइतीघरलगायत क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । त्यस्तै ललितपुरका केही क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । दुई पक्षले एकअर्काप्रति आरोप प्रत्यारोप लगाउँदै शक्ति प्रदर्शन गर्न लागेपछि सरकारले अप्रियस्थिति आउन नदिन निषेधाज्ञा जारी गरेको देखिन्छ । शान्ति सुरक्षाका लागि सरकारले आफ्ना सबै संयन्त्रलाई परिचालन गर्छ नै तर यो प्रदर्शन र विरोधभित्रको अर्थराजनीति के हो भन्ने स्पष्ट छैन ।  यतिखेर नेपालको शासकीय स्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र छ, यो भनेको जनता सर्वेसर्वा छन् र असन्तुष्टि पोख्न पाउँछन् भन्ने हो । स्थानीय प्रशासनले अप्रिय घटना हुन नदिन आफ्नो तहबाट गर्ने भनेको निषेधाज्ञा वा यस्तै बलप्रयोगका काम हुन् । तर, सत्तामा रहँदै आएका राजनीतिक दलहरूले भने ठन्डा दिमागले सोच्ने बेला आएको छ, किन गणतान्त्रिक शासन व्यवस्थामा सर्वसाधारणले व्यक्त गर्ने असन्तुष्टिमा लामो समय निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो भनेर । सरकारप्रति जनता सन्तुष्ट हुन सके विभिन्न व्यक्तिले दिने प्रलोभनमा जनता पर्ने सम्भावना हुँदैन । त्यसैले जनतामाथि बलपूर्वक शासन गर्न सकिन्छ भन्ने सोच राख्नुभन्दा पनि जनता खुशी हुने गरी कसरी काम गर्न सकिन्छ भन्नेतर्फ ध्यान जान जरुरी छ । यसरी लामो समय निषेधाज्ञा लगाउँदा सरकारकै कमजोरी देखिन्छ । किनकि यसअघि नै सर्वोच्च अदालतले कुनै पनि स्थानमा २ महीनाभन्दा बढी निषेधाज्ञा लगाउन नपाइने फैसला गरिसकेको छ । ललितपुर प्रशासनले ६ महीनाका लागि निषेधाज्ञा लगाउनु भनेको कानूनलाई चुनौती दिनु हो । त्यसैले सरकारमा बस्नेहरू जनताप्रति उत्तरदायी नहुने हो भने विरोधका स्वर निरन्तर आइरहन्छन्, जसले द्वन्द्व निम्त्याइरहन्छ ।  शक्ति प्रदर्शन गर्ने भनिएका समूहले आरोपप्रत्यारोप गरिरहेको देख्दा यसमा कुनै अर्कै रहस्यले काम गरेको छ भन्ने देखिन्छ । दुवै पक्षले कुनै सैद्धान्तिक वा वैचारिक कुरालाई लिएर आरोपप्रत्यारोप गरेको पाइँदैन । लोकतन्त्रमा निश्चय नै विरोध प्रदर्शन गर्ने र आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ । गणतन्त्रकै विरोध गर्न पनि पाइन्छ, राजतन्त्रको पक्षमा वकालत गर्न पनि पाइन्छ । त्यसो गर्नेलाई थुन्ने, रोक्ने काम लोकतन्त्रमा हुनु हुँदैन । सरकारले यही उद्देश्यले निषेधाज्ञा जारी गरेको देखिँदैन । तर, प्रसाईं समूहको प्रदर्शनबाट सरकार डराएको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रविरुद्ध ठूलै खेल भइरहेको भनी दिएको अभिव्यक्ति र सुरक्षा संयन्त्रसँग गरेको छलफलले सरकार केही न केही त्रस्त रहेको देखाउँछ । सामाजिक सञ्जालमा राम्रो उपस्थिति देखिएको तर सडक प्रदर्शनमा नआएको यो समूह र युवा संघबीच सम्भावित झडपलाई लिएर सुरक्षा संयन्त्रको तयारी हेर्दा सरकार आत्तिएको भान हुन्छ ।  प्रसाईंले बैंक तथा वित्तीय संस्थाका कर्जा ग्राहकलाई भड्काउने काम गरेकाले वित्तीय अराजकता बढाउने माध्यम बन्ने हुन् कि भन्ने चिन्ता अर्थतन्त्रका सरोकारवालाहरूलाई छ । उनले ऋण मिनाहाको जुन नारा दिएका छन् त्यो गलत छ । बैंकको पैसा भनेको जनताको पैसा हो । त्यो पैसा मिनाहा गर्न सरकारले बैंकहरूलाई शोधभर्ना दिनुपर्छ । अन्यथा वित्तीय संंकट निम्तिने निश्चित छ । निजीक्षेत्रले ब्याजदर चर्को भएको आवाज उठाउँदै गर्दा त्यो मागलाई समेत सम्बोधन गर्ने गरी केही कार्यक्रम ल्याउने सरकारको तयारी भएको भनाइ पनि आएको छ । सरकारको यो कदम प्रसाईंको अभियानको उपलब्धिमा रूपमा स्थापित हुन पुग्यो भने त्यसले झनै समस्या बढाउन सक्छ । यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।  युवा संघ संगठित राजनीतिक शक्ति हो र प्रमुख प्रतिपक्ष नेकपा एमालेको भ्रातृ संगठन पनि हो । त्यसैले यो संगठन जिम्मेवार र गम्भीर बन्नु जरुरी छ । पार्टीले पनि संयमितता अपनाउन आग्रह गर्नुपर्ने हो तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो पाराले संघको विरोधलाई समर्थन गरेको देखिन्छ । यसले अवाञ्छित मुडभेड ननिम्त्याउला भन्न सकिँदैन । त्यसैले सबैले संयमित भएर मुलुकको अर्थतन्त्रमा समस्या नपर्ने गरी प्रदर्शन र विरोध गर्न सक्छन् । माओवादी द्वन्द्वले अर्थतन्त्र बिग्रिएको र त्यो अझै सम्हालिन नसकेको तथ्यलाई प्रदर्शनको तयारीमा रहेका समूह र तिनको नेतृत्वले बिर्सनु हुँदैन ।

खतरनाक विवाद

गोरुको मासु खाएको भन्दै भिडियो सामाजिक सञ्जालमा आएपछि गाईको संरक्षणको आवाज उठाई हिन्दूहरूले धरानमा प्रदर्शन गर्ने भएपछि चर्किएको विवाद निकै गम्भीर र खतरनाक देखिएको छ । प्रशासनले लगाएको निषेधाज्ञा र पूर्वमेयर तथा उपमेयरहरू तथा राजनीतिक दलको आग्रहका कारण यो विवाद अहिले केही साम्य भए पनि यसको चुरो भने जीवितै छ । यसले कुनै पनि बेला उग्र रूप लिने सम्भावना जीवितै भएकाले संयमका साथ यो विवादको गहिराइसम्म पुगेर छलफल, अध्ययन र समाधान खोजिनु आवश्यक छ ।  संविधानले गाईलाई राष्ट्रिय जनावर मानेकाले यसको खुलेआम हत्या गर्न कानूनत: मिल्दैन । तर, संविधानले नै आआफ्नो धर्म परम्परा मान्ने स्वतन्त्रता दिएकाले जसले यिनको मासु खाने गरेका छन् तिनलाई रोक्न पनि नमिल्ने देखिन्छ । त्यसैले यो विवाद निकै जटिल छ र यसले निकै प्रश्नहरू उठाएको छ जसबारे निकै गम्भीर विमर्श आवश्यक देखिएको छ । हिन्दूहरूले गाईको संरक्षणमा आवाज उठाए पनि व्यवहारत: उनीहरूले गाईको संरक्षण गरेका छन् त ? दूध दिन छाडेका गाई, बाच्छी, बाच्छा आदि सडकमा छाडेर अलपत्र पार्ने प्रवृत्तिले चाहिँ गाईको संरक्षण र सम्मान हुन्छ त ? त्यस्तै परम्परागत रूपमा गोरुको मासु खानेहरूले खाइरहेकै हुन् । तर, त्यसलाई सामाजिक सञ्जालमा राखेर विद्वेष फैलाउने काम कसले किन गरिरहेको छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । गोरूको मासु खान्छौं, यो हाम्रो धर्म हो भन्नेकै धार्मिक समुदायले पनि आफ्नो धर्ममा त्यस्तो नभएको बताएको पाइन्छ । यस्तोमा धार्मिक अवधारणाहरूबारे गम्भीर चिन्तन गर्नुपर्ने अवस्था आएको छ । यसमा सबै धर्मावलम्बीहरूले बृहत् र गम्भीर छलफल गरेर कुनै निर्णय गर्न आवश्यक देखिएको छ । तर, यसका लागि सबै धर्मावलम्बी तयार छन् त ? गाई र गोरुको संरक्षणको आवाज उठेको छ । तर, हिन्दूको परिभाषा अनुसार अहिले भएका सबै गाई पर्छन् त ? अहिले आनुवंशिक परिवर्तन गरिएका गाई पाल्ने क्रम नेपालमा निकै बढेको छ । त्यस्ता गाई पनि यसमा पर्छन् कि पर्दैनन् ? कसैले आफ्नो धार्मिक आस्थाको कुरा मान्छ र अरूमाथि हिंसा नहोस् भन्ने चाहन्छ भने त्यस्तो आस्थाको सम्मान गर्नु अर्को समुदायको दायित्व हो कि होइन ? यो दायित्व सबै पक्षले मनन गर्ने हो भने विवादको हल निकाल्न सहज हुन्छ । चतराको खुवालुुङको विवाद यहाँनेर स्मरणीय छ । त्यसलाई ढुंगाका रूपमा मात्र लिएर हटाउन खोज्दा त्यसलाई आफ्नो आस्थाको विषय भएको किराँतहरूको भनाइ आएपछि त्यसलाई आस्थाको वस्तु मानियो । अब गाईलाई हिन्दूहरूले आफ्नो आस्थासँग जोडिएको मानेका छन् भने अरू धर्मावलम्बीहरूले त्यसलाई आस्थाका वस्तु भनेर सम्मान गर्दा के बिग्रन्छ ? कसैले आफ्नो धार्मिक आस्थाको कुरा मान्छ र अरूमाथि हिंसा नहोस् भन्ने चाहन्छ भने त्यस्तो आस्थाको सम्मान गर्नु अर्को समुदायको दायित्व हो कि होइन ? कसैको आस्थामा चोट नपुर्‍याई आफ्नो धार्मिक आस्था अँगाल्ने हो भने विवाद चर्को बन्दैन । तर, त्यही आस्थाको सम्मान गर्न चुकियो भने त्यसले निम्त्याउने भनेको जातीय र धार्मिक द्वन्द्व नै हो जसले कुनै पनि मानवको हित गर्दैन । साथै आर्थिक विकास र जनजीविकामा समेत गम्भीर असर पार्छ । अहिले विवाद मत्थर देखिएको छ । तर, यो भित्रभित्रै भुसको आगोका रूपमा रहेको छ । यसैबीच राष्ट्रिय झन्डाको अपमान गरेको एउटा भिडियो पनि सामाजिक सञ्जालमा देखिन्छ । यसले झन् समस्या चर्काउने सम्भावना छ । त्यसैले यसबारे राम्रोसँग मन्थन गरेर सबै पक्षलाई स्वीकार्य हुने मत स्थापित गर्न आवश्यक छ । कानूनमा लेखिएको कुरामात्रै गरेर पनि हुँदैन । यसमा राजनीतिक दलहरू पनि जिम्मेवार हुनुपर्छ । हो, उनीहरू धार्मिक सिद्धान्त र त्यसको ऐतिहासिकता र दार्शनिकताबारे विज्ञ हुँदैनन् । तैपनि उनीहरूले सबै धर्मका वास्तविक ज्ञातासँग छलफल गरेर एउटा सर्वस्वीकार्य धारणा बनाउन भने सक्छन् । धरानको विवाद मत्थर हुनुमा दलहरूको भूमिका पनि केही मात्रामा देखिएको छ । त्यसैले उनीहरूले नै पहल गरेर यो विवादको चुरोमा पुगी त्यसको सर्वस्वीकार्य समाधान खोल्न लाग्नुपर्छ । अन्यथा यसले ल्याउने परिणाम निकै भयावह हुन सक्छ ।

आउनोस् युद्ध गरौं

बजार ठण्डा छ, अर्थात् मन्दी छ । तर सदन र दल दलका बीच गर्मी बढ्दो छ । यो उखुम गर्मीमा नेताहरू जनतालाई के के हो के के दिन लडिरहन्छौं भन्दै भाषण ठोकिरहेका छन् । त्यसो त सरकार पनि जनताका सुविधाका लागि लड्या लड्यै छ । सरकारको नेतृत्वमा नै अहिले लडाकु दस्ताका नाइके छन् । तिनले लड्नलाई कहिले सुरुङ खने, कत्ति मुठी उचाले, कति धनुष्टंकार जोडे तिनको हिसाबकिताब गर्न थाल्यो भने त अर्को महाभारतै तयार होला । विगतका सरकारहरू देश र जनताका लागि खुब लाग्या थिए, अहिले पनि लागेको लाग्यै छन् । पहिले कहिले कृषि क्रान्ति गरे, कहिले शिक्षामा क्रान्ति भने । कहिले जनयुद्ध गरे त अहिले धनयुद्ध गरिरहेका छन् । तर युद्ध चैं गरिनै रहेका छन् । दश कोणमा फर्किएका दलहरूलाई एक ठाउँमा मिलाएर जनतालाई सेवासुविधा दिने भनेर लड्ने काम कम्ता भारी छ ? तर पनि लड्ने र लडाउने क्रम त जारी नै छ । तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हँुदैन भन्थे । त्यो भनेको त स्थायी सिद्धान्त, अडान र गन्तव्य हुँदैन भनेको पो रहेछ । किनकि यहाँ सबैलाई आफै बन्ने हतारो छ, देश त केवल बहाना रहेछ । यो लड्ने लडाउने खेलमा नेताजीहरू नयाँ नयाँ तरीकाहरू लेराइरहन्छन् । कोही ओछ्यानमा लड्छन् त कोही हिलोमा । कहिले पाँचतारे होटलमा लड्छन् त कहिले संसद्मा मारमुंग्री गर्छन् । कोही आफू लड्छन् त कोही अर्कालाई लडाउँछन् । लड्न भिड्न नसकेपछि अनि चिच्याउँछन् समानता, स्वतन्त्रता, अधिकार ... ।  त्यसो त यो लड्ने र लडाउने कर्म केवल हाम्रो पालामा वा अहिलेका सरकारहरूले मात्र गरेका होइनन् है ! विगतका सरकारहरू पनि जनतालाई सजिलै मार्ने प्रबन्धमा चुकेका थिएनन् । हाम्रोमा मात्र होइन, विश्वमा पनि चाहे अहिले चलिरहेका रुस–युक्रेन युद्ध होस् वा चीन–अमेरिकाबीचको शीतयुद्ध सबै सबै सरकारहरू आआफ्ना जनताका हितका खातिर लडिरहेका छन् । अझ सबै देश शान्तिका लागि लडिरहेका छन् । शान्तिका लागि बम पड्काइरहेका छन् । हिटलरको मगज सट्केको कुरा होस् कि हिरोशिमा, नागासाकीमा बम पड्केको कुरा, सबै शान्तिकै लागि रे ।  मानव सभ्यताको कुरा गर्ने हो भने झन्डै ५०० भन्दा बढी युद्धहरूले भरिएका छन् । बेलायत र फ्रान्सले एउटै युद्ध सय वर्षसम्म लडे । हामी पनि के कम ? त्यसैले लड्ने र लडाउने मेलो चलेको छ । यी सबै युद्धहरूका आआफ्ना कथा छन् । आआफ्ना व्यथा छन् । टोल, छरछिमेकदेखि अन्तरिक्षसम्म, ब्रान्डदेखि ब्रह्माण्डसम्म आआफ्नै ढंगका युद्ध जारी छन् । श्रीमतीजी श्रीमान्ज्यूमाथि भारी छिन् । सासू बुहारीसँग र बुहारी सासूसँग लडाइँ गरिरहकै छन् । जे गर, जसो गर, यसो गर, उसो गर तर झगडा चैं तगडा गर । किनकि लड्ने र लडाउने अथवा युद्ध गर्ने त हाम्रो रगतमै छ । त्यसैले सबैले आआफ्नो काम गर्नैपर्छ । एकअर्कोसँग युद्ध गर्नका लागि चनाको रूखमा पनि चढ्नैपर्छ, रछ्यानमा पनि सड्नैपर्छ । लड्नु हाम्रो सभ्यता र संस्कृति हो । लडेगा त बढेगा भनाइ नै छ । त्यै भएर त विश्व–ब्रह्माण्डमा मनुष्यजातिलाई सबैभन्दा बुद्धिमान् भनिएको । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । मर्नु त छँदै छ, आज नभए भोलि । विश्वमा यो समय मानिसको सम्पूर्ण बुद्धि र विवेक चैं एकअर्कोलाई मर्न र मार्नमै त टिकिरहेको छ । मर्नु र मार्नु पनि खुद्रा र होलसेलमा हुन्छ । चीन–अमेरिका, एमसीसी–बीआरआई, युक्रेन–रुस, नाटो–यूएनओ, भारत–पाकिस्तान सबैका आआफ्ना लडाइँ जारी छन् । प्रत्येकका दिमागमा लडाइँका नयाँ नयाँ जुक्ति फुरिरहेका छन् । कसले कसलाई कति छिटो मार्न सक्छ भनेर होला हतियारका यति धेरै भण्डारण गरिएका छन् । आधा विश्व हतियार बनाउनमा व्यस्त छ, आधा ती हतियार ठेगान लगाउनमा । प्रत्येकजसो देश आफ्नो राष्ट्रिय आयको सबैभन्दा ठूलो हिस्सा हतियार किन्नमै लगाइरहेका छन् । जनतालाई रोटी दिन नसक्ने सरकार गोलीमा पैसा बगाइरहेछ । सच्चा मानवताका लागि यति धेरै डलर खर्च भइरहेको छ भने मर्ने त पक्का छँदैछ । तर यो भीषण युद्धमा मर्ने मार्ने यो खेलमा प्रत्येक सरकार तपाईंको साथमा छ है ! त्यसैले एकअर्कोबीच झगडा गर्नु पुण्य कर्म भएको छ । असली धर्म भएको छ । भलै मर्ने मार्ने सुविधा फरक फरक सरकारहरूले फरक फरक ढंगले दिँदै आएका छन् । कुनै सरकारले खेतबारीमा सीधै कीटनाशक औषधि हाल्न लगाएर सोझै भोजनमै विष मिसाउने काम गरिरहेका छन् । कुनै सरकारले छिमेकबाट ट्रकका ट्रक विषादी भरिपूर्ण तरकारी र खाद्यान्न जनताका भान्छा भान्छामा पुर्‍याउने काम गरिरहेको छ । कुनै सरकार केमिकलहरू मिसिएका प्याकेट फुड वा डिब्बाबन्द खानेकुरा जनतालाई खाने वातावरण बनाएर धमाधम परमधाम पुर्‍याइरहेकै छन् । जनता पनि सरकारको यो उपहारलाई खुशी–खुशी नै ग्रहण गरिरहेका छन् । कुनै सरकार कमसल मदिरा र निम्नकोटीको औषधिको पूर्ण रूपमा वितरण व्यवस्था मिलाउन कटिबद्ध छ, ता कि मर्ने कार्यक्रम जारी रहोस् । कुनै सरकार त यस्ता यस्ता अस्पतालहरूलाई खोल्ने अनुमतिपत्र बाँड्दै हिँडिरहेको छ, जसमा केवल भर्ना मात्र भए पुग्छ । भर्ना भएको केही दिन वा हप्ता पुगेपछि बिरामी लाशमा परिवर्तित हुने प्रक्रिया शुरू हुन्छ । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । यो नै मानवको सभ्यता हो ।  एकबारको जुनीमा किन कायर बन्नु हुन्छ ? बरु आउनुस्, लडौं लडाऔं । जहाँ जसलाई जतिबेला सकिन्छ पछारौं । युद्ध छेडौं, घरघरमा बम, बारुद र बन्दुक फहराऔं । मानिस मानिसबीच, दल दलबीच, सरकार र जनताबीच एकअर्कोप्रति क्षेप्यास्त्र प्रहार गरौं । लडाइँ, झगडा, बम र गोली । अब प्रेमको बोली होइन, गालीको गोली निकालौं अनि नम्रतालाई नालीमा फालौं ⁄ शान्तिका लागि, समृद्धिका लागि आउनोस् एकअर्काविरुद्ध युद्ध गरौं, यदुवंशी बनौं । मानवका हितका खातिर आउनोस् सबै मिलेर मानवताको अन्तिम संस्कार गर्न संकल्प गरौं । निभ्नै सक्दैन युद्धको आगो यो मेरो दाबा हो । यो आफै लागेको नभै लगाइएको ज्यादा हो ।।

पदयात्रामा पर्यटक गाइड अनिवार्य नीति लागू होला?

हालसालै आएको विभिन्न समाचारअनुसार  १ अप्रिल, सन् २०२३ देखि लागू हुने गरी नेपाल भ्रमणमा आउने कुनै पनि विदेशी पर्यटकहरू आफूखुशी पदयात्रा अर्थात् ट्रेकिङ गर्न जान पाउनेछैनन् । कम्तीमा विदेशी पदयात्रीका साथमा एक जना ट्रेकिङ गाइड अनिवार्य रूपमा रहनेछन् । अलि खर्चिलो र पैसा खर्च गर्नमा ‘मक्खिचुस’ नभएका पदयात्रीहरूले भने आफ्नो साथमा भरिया पनि लैजान सक्नेछन् । यस्तो व्यवस्थाले नेपाली पर्यटन क्षेत्रमा रोजगारी बढ्ने पक्का छ । खास गरी ट्रेकिङ गाइडको तालीम लिएर पनि भारी बोक्नसमेत नपाउने स्थितिमा रहेका ट्रेकिङ गाइड साथीहरूको मुहारमा पक्कै चमक आउनेछ । गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको १ पैसा पनि लगानी परेको छैन । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै फ्री इन्डिभिज्युअल ट्रेकर (एफआईटी) का रूपमा ४६ हजारभन्दा बढी पर्यटक नेपालका विभिन्न स्थानमा आफूखुशी एक्लै पदयात्रा गर्न निक्लिएका थिए । सन् २०१९ को अन्त्यतिर चीनबाट शुरू भएको कोरोना महामारीपछि सन् २०२० र २०२१ मा यस्तो संख्या लगभग शून्य नै रहेको थियो । तर, २ वर्षको शून्यतापछि पुन: बढ्दै गएको विदेशी पर्यटकको आगमन दरसँगै यस्ता पर्यटकको संख्या पनि बढ्न थालेको छ । सन् २०१९ मा नेपालमा एफआईटीका रूपमा गएका विदेशी पदयात्रीका तुलनामा सन् २०२२ मा लगभग ५७ प्रतिशतले घटेर १९ हजार चानचुन यस्ता विदेशी पर्यटक नेपाल आएको एनटीबीको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । नेपाली पदयात्रा क्षेत्रका गाइडहरूलाई सेवासुविधा पनि उपलब्ध छैन । ९० प्रतिशतभन्दा बढी गाइड ज्याला मजदूरजस्ता छन् । यति मात्र नभएर भइपरी आउने आकस्मिक उद्धारमा पनि नेपालका ट्रेकिङ गाइडहरू चुक्ने गरेका छन् । एक उदाहरण लगभग २ वर्षअघिको कोरोना महामारी (कोभिड–१९) काललाई सम्झौं । जब नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दै थियो, नेपालको पूर्वी क्षेत्रको ताप्लेजुुङको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु, सोलुखुम्बु जिल्लाको लुक्ला, नाम्चे, दोलखा जिल्लाको गौरीशंकर, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ त्यस्तै नुवाकोट–धादिङ–रसुवा जिल्लाभित्र पर्ने गणेश हिमाल क्षेत्र, गोरखाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार–फु, थोराङपास, मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ क्षेत्र, मुक्तिनाथ, जोमसोम, धवलागिरि, डोल्पा जिल्लाको पनि अझ माथिल्लो डोल्पाको शे गुम्बा, धो, तराप, तिनजे/तिल्जे, हुम्ला जिल्लाको सिमकोट, लिमी, दार्चुला जिल्लाको व्यास आदि सुदूरपश्चिमसम्मका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक भ्रमण गर्दै थिए । उनीहरूका साथमा गाइड र भरियाहरू पनि रहेका थिए । त्यो बेला सरकारले ‘लकडाउन’को नीति अपनायो । सरकारको उक्त निर्णयले हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटक फर्कनलाई असर पर्‍यो । अझ विदेशी पर्यटकका साथमा रहेका गाइड र भरियाहरूलाई त झन् धेरै असर पर्‍यो । किनभने, ती क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटकलाई नेपाल सरकार र सम्बद्ध देशले जसोतसो उद्घार गरे । विदेशी पर्यटकका साथमा रहेका नेपाली गाइड र भरियाहरूलाई भने तत्कालका लागि के–कसो गर्ने भनेर कुनै प्रभावकारी निर्णय भएन । फलत: त्यो बेला प्राय: सबै नेपाली गाइड र भरियाहरूको उद्धारमा ढिलाइ भयो । कतिपय नेपाली गाइड र भरियाहरू आआफैले व्यवस्था गरेर पनि आफ्नो गन्तव्यस्थलतर्फ फर्के । तर, लगभग ३१ हजार विदेशी पर्यटकलाई भने नेपालको विभिन्न क्षेत्रबाट उद्धार गरी उनीहरूको देश फिर्ता गरिएको थियो । नेपाली गाइड र भरियाहरूलाई चाहिँ बेवारिसे अवस्थामा छाडियो । त्यसो त विदेशी पर्यटकलाई गाइड गर्ने गाइडहरूले आफ्नो मातृभाषा र राष्ट्रभाषाबाहेक कम्तीमा १ वा २ देखि ३, ४ ओटा अन्य (विदेशी भाषा) भाषासमेत जानेको हुन्छ भने जुनसुकै देशका गाइडहरूले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकहरूलाई आफ्नो देशको समग्र स्थिति, आफ्नो देशको इतिहास, आफ्नो देशको ऐतिहासिक पृष्ठभूमि, आफ्नो देशको विभिन्न कालखण्डका शासक वा तिनका वंशहरू, आफ्नो देशको वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका अमूर्त सम्पदा, प्राकृतिक सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडबाड, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिमताल, हिमनदी, वातावरण, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, झारपात, लेउ आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम उँचो राख्ने गर्छन् । यसरी हेर्दा नेपालमा घुम्न आएका विदेशी पर्यटकलाई आफ्नो देशको सही र तथ्यपरक जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरू हुन्छन् । भनाइ नै छ, ‘गाइडहरूले कहिल्यै पनि गलत सूचना दिनु हुँदैन, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ।’ हो, त्यही कारण पनि कुनै पनि गाइडले विदेशी पर्यटकलाई आफ्नो देशका बारेमा सही र सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने प्रथम दायित्व हुनुपर्छ । त्यसैले विश्वका सबै देशका सरकारले पर्यटक गाइडहरूलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रूपमा मान्यता दिएको छ । गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै (ट्रेकिङ र टुर गाइड दुवै तालीममा) तालिम गर्दा ताका गाइड तालिम गर्न/लिन चाहने व्यक्तिले राजस्व तिरेको हुन्छ भने उनीहरू गाइड गर्न गएपिच्छे आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय करसमेत तिरेको हुन्छ । यसरी राज्यको एक पैसाविना उल्टै राज्यलाई फाइदा गराउने गाइडहरू खास गरी ट्रेकिङ गाइडहरूको महत्व नै नबुझेको देखिन्छ । यस्तोमा अहिले विनागाइड पदयात्रा जान नपाउने नीति ल्याइएको छ । यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्न सकिन्न किनकि यस्तै खाले थुप्रै प्रावधानहरू लागू भएका छैनन् । यो नीति लागू भएमा पर्यटन गाइडहरूले रोजगारी पाउने भने निश्चित छ । लेखक पर्यटनकर्मी हुन् ।

प्रेमको जात कतिन्जेल हेर्छौ ?

मिमबहादुर परियार एउटा भनाइ छ, ‘प्रेम अन्धो हुन्छ’ अर्थात् मायाप्रेमले केही देख्दैन, सिबाय भावना हृदय र सामीप्यता । प्रेमका अगाडि जात, धर्म, वर्ण, सम्पत्ति, भूगोल र शक्तिको कुनै अर्थ हुँदैन । प्रेम विशुद्ध मनसँग जोडिएको हुन्छ । प्रेम यी मानव निर्मित कथित संरचनाभन्दा माथि रहेको मानिन्छ । यिनै कारणले गर्दा विभिन्न जातजातिका युवायुवतीबीच प्रेम हुन्छ […]

बहसमा धर्म, राजनीति र राष्ट्रवाद

कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन सभामा बीपीपुत्र शशांक कोइरालाको ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनुहुन्न, धर्मसापेक्ष राज्य पनि हुनु हुँदैन, धार्मिक हिसाबले स्वतन्त्र राज्य हुनुपर्छ’ भन्ने भनाइ यतिखेर चर्चामा छ ।यसअघि हिन्दुराज्यसहितको धार्मिक स्वतन्त्रताको वकालत गर्दै आएका उनी कतै खुमबहादुर खड्काको लाइनमा जाने त होइनन् भनेर सशंकितकांग्रेस र बाहिरको ठूलो समूहलाई यसरी उनले हर्षित बनाए ।

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसको अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न (भिडियो)

कात्तिक १२, काठमाडौं । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको उक्त  कार्यक्रम शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो । ‘नेपाली युनिकर्नको खोजी’ गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा  भर्चुअल तथा भौतिक माध्यमबाट गरेर १ हजार ५०० भन्दा बढी उद्यमी सहभागी थिए ।  कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महाबीर पुनले प्रशिक्षण दिंदै नेपालमा उद्यमको विकास नहुनुको प्रमुख कारण समाज नै रहेको बताए ।  नेपाली समाजमा उद्यम गर्ने संस्कार नहुँदा उद्यमशिलताको विकास नभएको बताउँदै उनले भने, ‘नेपालमा अझै पनि विदेश जाने प्रचलन छ, अब उद्यमशिलताको विकास गर्न उद्यमी बनाउने संस्कारको विकास गर्नुपर्छ, त्यो पनि स्टार्टअपका रुपमा । बाउबाजेले नै गरेको कामलाई निरन्तरता दिएर मात्र स्टार्टअप उद्यमी बन्न सकिदैन ।’  उनले अब सरकारमा पुग्ने प्रतिनिधिहरुले पनि स्टार्टअप तथा उद्यमशिलतालाई अध्ययन गर्न आवश्यक रहेको बताए । ‘उद्यमशिलताको संस्कार नै नभएको समाजबाट नेतृत्वमा पुग्नेहरुले स्टार्टअप विजनेशबारे बुझ्दै बुझेनन् र सोही अनुरुपको नीति ल्याएर लागू गर्नै सकेनन् । तसर्थ, उनीहरुले अब यस बिषयमा अध्ययन गर्न आवश्यक छ,’ उनले बताए ।  यस्तै उनले आफ्नो अविस्कार केन्द्रबाट कुनै पनि स्टार्टअप उद्यमीहरुलाई कुनै पनि किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘तपाईहरुसँग स्टार्टअप व्यवसाय गर्ने योजना छ, तर पैसा छैन । आउनुस, पूँजी जुटाउने काममा हामी सहयोग गर्छाै,’ उनले भने, ‘साथै, स्टार्टअप व्यवसाय गर्न आइडिया नै छैन भने पनि हामी निःशुल्क रुपमा सहयोग गर्न तयार छौं । तर, काम भने गर्नुपर्छ ।’ सफल पार्टनर्सका फाउन्डर तथा स्रोत व्यक्ति आशुतोष तिवारीले उद्यमशिलतामा प्रवेश गर्नु महासागरमा नै हाम फाल्नु सरह भएको बताए ।  ‘उद्यमशिलता आफैंमा बढी जोखिमयुक्त क्षेत्र हो । तसर्थ, यो महासागरमा नै हाम फाल्नु सरह हो,’ उनले भने, ‘तर, जोखिम बढी भएपनि प्रतिफलको सम्भावना पनि उत्तिकै भएकाले आत्तिनु भने हुँदैन ।’ साथै उद्यम गर्ने व्यक्तिले प्रश्न गर्ने बानीको पनि विकास गर्नुपर्ने उनको भनाइ छ ।  उनले उद्यमी बन्नलाई उमेर, धर्म र जातले नछेक्ने बताए । ‘उद्यमशिलता बन्न उमेर, धर्म, जात लगायत कसैले पनि छेक्दैन । अमेरिकामा नै पढेको हुनुपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘कुनै पनि व्यक्तिले उद्यम गर्न सक्छन् । तर, यसमा असफल पनि हुन सकिन्छ । तर, त्यो परिक्षामा फेल भएर फेरी सोही कक्षा दोहोर्‍याए जस्तो पनि होइन । फेल भएपनि फेरी सफल हुन सकिन्छ । फेल हुनु आफैंमा नराम्रो होइन ।’ उद्योग वाणिज्य महासंघ अन्तरगतको स्टार्टअप एण्ड  इन्नोभेशन समितिका सभापति रञ्जित आचार्यले स्टार्टअपलाई परिभाषित गर्ने सरकारी नीति आउनुपर्ने बताए । स्टार्टअप क्षेत्रलाई बिकास गर्ने गरि सरकारले थप नीति पनि ल्याउनुपर्ने उनको भनाइ छ ।  साथै, उद्यम गर्न सही समयको प्रतिक्षा गर्न नहुने उनले बताए । ‘उद्यम गर्न सही समय प्रतिक्षा गरियो भने उद्यमी बन्न सकिदैंन । उद्यम गर्ने सही समय नै यही हो भनेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘उद्यमीले कुनै पनि समयलाई आफु अनुकुल बनाउन सक्नुपर्छ । तव मात्र उद्यमी उद्यमी बन्न सक्छ ।’ पछिल्लो समय त उद्यमीहरुलाई सहयोग गर्ने निकाय तथा संस्थाहरु पनि रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।  यस्तै, खल्ती डिजिटल वालेटका को–फाउन्डर एण्ड डाइरेक्टर अमित अग्रवालले अझै पनि कतिपय क्षेत्रमा डिजीटल भुक्तानीको विकास नभएको बताए । ‘अझै पनि काठमाडौं खानेपानीको बिल डिजीटलाइज भएको छैन । त्यहाँ हामीले चाहेर पनि आफ्नो सेवा दिन सकेका छैनौ,’ उनले भने,‘यस्तै, हामीले दैनिक गरिने खर्चमा जति भुक्तानी नगद गर्छाै, त्यस्ता सबै क्षेत्रमा डिजीटल भुक्तानीको विकास गर्न आवश्यक छ ।’  उनले आगमी आवमा खल्तीलाई पब्लिक कम्पनीमा रुपान्तरण गरिने बताए । साथै, त्यसको तीन वर्ष भित्र सर्वसाधारणलाई आईपीओ पनि जारी गर्ने उनको भनाइ छ ।  यस्तै, माकुसेकी फाउन्डर एण्ड मिस वर्ल्ड नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले आफुलाई उद्यमशिलतामा प्रवेश गराउन ठूलो चुनौती भएको बताइन । ‘मैले अष्ट्रेलियामा बैंकमा आफ्नो करियर अगाडि बढाइएको रहेको थिंए । तर, मलाई नेपालमै आएर केही गर्न मन थियो र त्यसको लागि केही बहाना खोजी रहेको थिए,’ उनले भनिन्, ‘त्यो अवस्थामा मिस वर्ल्ड नेपाल मेरो लागि ठूलो प्लेट फर्म भएर आयो । मिस वर्ल्ड नेपाल भएपछि आफ्नो क्षमता विकास गर्दै म उद्यमशिलतामा प्रवेश गरे ।’ उनले नेपालमा केही पनि गर्न सकिदैन भन्ने मानसिकता राख्न नहुने पनि बताइन् । ‘नेपाललाई उद्यमशिलाताको लेन्सबाट हेर्न सकियो भने जति पनि सम्भावनाहरु देखिन्छ । तसर्थ, नेपालमा केही गर्छु भन्न उद्यमशिलताको आखाँबाट हेर्नपर्छ,’ उनले भने, ‘त्यसपछि हामीले पनि नेपालमा केही गर्न सकिन्छ भन्ने देखिन्छ ।’ यसैगरी न्यूबिजका अध्यक्ष मदन लम्सालले निजी क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको मोडेललाई साथ दिने उद्देश्यसहित यो कार्यक्रम गरेको बताए ।  ‘सरकारलगायतका बिभिन्न निकाय तथा संस्थाबाट पहिलेदेखि नै स्टार्टअप व्यवसायको विकासमा बिभिन्न प्रयास गरिनै रहेका छन् । त्यसबाट केही महत्वपूर्ण उपलब्धि हासिल पनि भएका छन्,’ उनले भने, ‘तर, यो क्षेत्रको तिव्र विकासको लागि अझै आवश्यक पहल कदम पुगेको जस्तो लाग्दैन । तसर्थ यस क्षेत्रको विकासमा केही सहयोग पुगोस् भन्ने उद्देश्यसहित यो कार्यक्रम गरेका हौं ।’ ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजक कुमारी बैंक लिमिटेड रहेको छ भने सह-प्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एशोसिएट पार्टनर’ मा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) रहेको छ । यस्तै अवार्ड कार्यक्रमलाई आइएमई,  सिटिजन्स लाइफ इन्स्योरेन्स, मन्सिरी ट्रेडिङ  तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेका छन् । कार्यक्रमको टेक्निकल पार्टर भने मेङ्गो टेक रहेको छ ।