न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसको अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न (भिडियो)

कात्तिक १२, काठमाडौं । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको उक्त  कार्यक्रम शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो । ‘नेपाली युनिकर्नको खोजी’ गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा  भर्चुअल तथा भौतिक माध्यमबाट गरेर १ हजार ५०० भन्दा बढी उद्यमी सहभागी थिए ।  कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महाबीर पुनले प्रशिक्षण दिंदै नेपालमा उद्यमको विकास नहुनुको प्रमुख कारण समाज नै रहेको बताए ।  नेपाली समाजमा उद्यम गर्ने संस्कार नहुँदा उद्यमशिलताको विकास नभएको बताउँदै उनले भने, ‘नेपालमा अझै पनि विदेश जाने प्रचलन छ, अब उद्यमशिलताको विकास गर्न उद्यमी बनाउने संस्कारको विकास गर्नुपर्छ, त्यो पनि स्टार्टअपका रुपमा । बाउबाजेले नै गरेको कामलाई निरन्तरता दिएर मात्र स्टार्टअप उद्यमी बन्न सकिदैन ।’  उनले अब सरकारमा पुग्ने प्रतिनिधिहरुले पनि स्टार्टअप तथा उद्यमशिलतालाई अध्ययन गर्न आवश्यक रहेको बताए । ‘उद्यमशिलताको संस्कार नै नभएको समाजबाट नेतृत्वमा पुग्नेहरुले स्टार्टअप विजनेशबारे बुझ्दै बुझेनन् र सोही अनुरुपको नीति ल्याएर लागू गर्नै सकेनन् । तसर्थ, उनीहरुले अब यस बिषयमा अध्ययन गर्न आवश्यक छ,’ उनले बताए ।  यस्तै उनले आफ्नो अविस्कार केन्द्रबाट कुनै पनि स्टार्टअप उद्यमीहरुलाई कुनै पनि किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘तपाईहरुसँग स्टार्टअप व्यवसाय गर्ने योजना छ, तर पैसा छैन । आउनुस, पूँजी जुटाउने काममा हामी सहयोग गर्छाै,’ उनले भने, ‘साथै, स्टार्टअप व्यवसाय गर्न आइडिया नै छैन भने पनि हामी निःशुल्क रुपमा सहयोग गर्न तयार छौं । तर, काम भने गर्नुपर्छ ।’ सफल पार्टनर्सका फाउन्डर तथा स्रोत व्यक्ति आशुतोष तिवारीले उद्यमशिलतामा प्रवेश गर्नु महासागरमा नै हाम फाल्नु सरह भएको बताए ।  ‘उद्यमशिलता आफैंमा बढी जोखिमयुक्त क्षेत्र हो । तसर्थ, यो महासागरमा नै हाम फाल्नु सरह हो,’ उनले भने, ‘तर, जोखिम बढी भएपनि प्रतिफलको सम्भावना पनि उत्तिकै भएकाले आत्तिनु भने हुँदैन ।’ साथै उद्यम गर्ने व्यक्तिले प्रश्न गर्ने बानीको पनि विकास गर्नुपर्ने उनको भनाइ छ ।  उनले उद्यमी बन्नलाई उमेर, धर्म र जातले नछेक्ने बताए । ‘उद्यमशिलता बन्न उमेर, धर्म, जात लगायत कसैले पनि छेक्दैन । अमेरिकामा नै पढेको हुनुपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘कुनै पनि व्यक्तिले उद्यम गर्न सक्छन् । तर, यसमा असफल पनि हुन सकिन्छ । तर, त्यो परिक्षामा फेल भएर फेरी सोही कक्षा दोहोर्‍याए जस्तो पनि होइन । फेल भएपनि फेरी सफल हुन सकिन्छ । फेल हुनु आफैंमा नराम्रो होइन ।’ उद्योग वाणिज्य महासंघ अन्तरगतको स्टार्टअप एण्ड  इन्नोभेशन समितिका सभापति रञ्जित आचार्यले स्टार्टअपलाई परिभाषित गर्ने सरकारी नीति आउनुपर्ने बताए । स्टार्टअप क्षेत्रलाई बिकास गर्ने गरि सरकारले थप नीति पनि ल्याउनुपर्ने उनको भनाइ छ ।  साथै, उद्यम गर्न सही समयको प्रतिक्षा गर्न नहुने उनले बताए । ‘उद्यम गर्न सही समय प्रतिक्षा गरियो भने उद्यमी बन्न सकिदैंन । उद्यम गर्ने सही समय नै यही हो भनेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘उद्यमीले कुनै पनि समयलाई आफु अनुकुल बनाउन सक्नुपर्छ । तव मात्र उद्यमी उद्यमी बन्न सक्छ ।’ पछिल्लो समय त उद्यमीहरुलाई सहयोग गर्ने निकाय तथा संस्थाहरु पनि रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।  यस्तै, खल्ती डिजिटल वालेटका को–फाउन्डर एण्ड डाइरेक्टर अमित अग्रवालले अझै पनि कतिपय क्षेत्रमा डिजीटल भुक्तानीको विकास नभएको बताए । ‘अझै पनि काठमाडौं खानेपानीको बिल डिजीटलाइज भएको छैन । त्यहाँ हामीले चाहेर पनि आफ्नो सेवा दिन सकेका छैनौ,’ उनले भने,‘यस्तै, हामीले दैनिक गरिने खर्चमा जति भुक्तानी नगद गर्छाै, त्यस्ता सबै क्षेत्रमा डिजीटल भुक्तानीको विकास गर्न आवश्यक छ ।’  उनले आगमी आवमा खल्तीलाई पब्लिक कम्पनीमा रुपान्तरण गरिने बताए । साथै, त्यसको तीन वर्ष भित्र सर्वसाधारणलाई आईपीओ पनि जारी गर्ने उनको भनाइ छ ।  यस्तै, माकुसेकी फाउन्डर एण्ड मिस वर्ल्ड नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले आफुलाई उद्यमशिलतामा प्रवेश गराउन ठूलो चुनौती भएको बताइन । ‘मैले अष्ट्रेलियामा बैंकमा आफ्नो करियर अगाडि बढाइएको रहेको थिंए । तर, मलाई नेपालमै आएर केही गर्न मन थियो र त्यसको लागि केही बहाना खोजी रहेको थिए,’ उनले भनिन्, ‘त्यो अवस्थामा मिस वर्ल्ड नेपाल मेरो लागि ठूलो प्लेट फर्म भएर आयो । मिस वर्ल्ड नेपाल भएपछि आफ्नो क्षमता विकास गर्दै म उद्यमशिलतामा प्रवेश गरे ।’ उनले नेपालमा केही पनि गर्न सकिदैन भन्ने मानसिकता राख्न नहुने पनि बताइन् । ‘नेपाललाई उद्यमशिलाताको लेन्सबाट हेर्न सकियो भने जति पनि सम्भावनाहरु देखिन्छ । तसर्थ, नेपालमा केही गर्छु भन्न उद्यमशिलताको आखाँबाट हेर्नपर्छ,’ उनले भने, ‘त्यसपछि हामीले पनि नेपालमा केही गर्न सकिन्छ भन्ने देखिन्छ ।’ यसैगरी न्यूबिजका अध्यक्ष मदन लम्सालले निजी क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको मोडेललाई साथ दिने उद्देश्यसहित यो कार्यक्रम गरेको बताए ।  ‘सरकारलगायतका बिभिन्न निकाय तथा संस्थाबाट पहिलेदेखि नै स्टार्टअप व्यवसायको विकासमा बिभिन्न प्रयास गरिनै रहेका छन् । त्यसबाट केही महत्वपूर्ण उपलब्धि हासिल पनि भएका छन्,’ उनले भने, ‘तर, यो क्षेत्रको तिव्र विकासको लागि अझै आवश्यक पहल कदम पुगेको जस्तो लाग्दैन । तसर्थ यस क्षेत्रको विकासमा केही सहयोग पुगोस् भन्ने उद्देश्यसहित यो कार्यक्रम गरेका हौं ।’ ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजक कुमारी बैंक लिमिटेड रहेको छ भने सह-प्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एशोसिएट पार्टनर’ मा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) रहेको छ । यस्तै अवार्ड कार्यक्रमलाई आइएमई,  सिटिजन्स लाइफ इन्स्योरेन्स, मन्सिरी ट्रेडिङ  तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेका छन् । कार्यक्रमको टेक्निकल पार्टर भने मेङ्गो टेक रहेको छ ।

सम्बन्धित सामग्री

स्टार्टअप समिट अवार्ड्स विशेष-१

स्टार्टअप अहिलेको आवश्यकता हो गोविन्दप्रसाद ढकाल प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक यो कार्यक्रमलाई अझै केही वर्ष निरन्तता दिनुपर्छ । स्टार्टअप अहिले नेपालको आवश्यकता हो । पत्रकारिता क्षेत्रबाट यस किसिमको कार्यक्रम हुनु आफैंमा ठूलो उपलब्धि भएको ठान्छु । यसलाई अब सरकार तथा सरोकारवाला निकायले बुझ्न जरुरी छ । यसरी अघि बढ्दा केही परिवर्तन हुन सक्छ भन्नेमा हामी आशावादी छौं । अहिले एउटा समस्या कहाँनिर छ भने स्टार्टअप तथा नवउद्यमी निकै उत्साहका साथ आउनुहुन्छ । तर, उहाँहरू थोरै असफल हुँदा पनि निरुत्साहित बनेर फर्किने प्रवृत्ति छ, यसलाई अन्त्य गर्नुपर्छ । सबै बिजनेश सफल हुँदैनन् । स्टार्टअप भनेको नयाँ भिजन र आइडिया लिएर आउने कुरा हो । नयाँ कुरा आउँदा सबै सफल हुन्छन् भन्ने हुँदैन । यति भन्दैमा असफल भइयो भनेर पछि हट्नुहुँदैन । यसमा बैंक सहयोग गर्न तयार छ । अहिले एउटा बिजनेस ल्याउने तर त्यसलाई दीर्घकालीन नबनाउँदै अर्काे बिजनेशमा हाम फाल्दा पनि समस्या देखिएको छ । बैंक तथा वित्तीय संस्थाका पनि समस्या होलान् । कतिपय कुरा नियामक निकायको निर्देशनमा बसेर काम गर्दा सहयोग नभएको पनि हुन सक्छ । बैंक तथा वित्तीय संस्थाले अप्ठेरो पार्ने नियत राख्दैनन् । स्टार्टअप एक लेभल ‘ग्रो’ भएपछि बैंक आउने हो मनोज ज्ञवाली नायब महाप्रबन्धक, नबिल बैंक स्टार्टअप के हो भन्ने विषयमा धेरै मानिस स्पष्ट नभएको अवस्थामा यो कार्यक्रमले यसबारे सचेतना जगाइदिएको छ । यो कार्यक्रमले मानिसलाई स्टार्टअपका विषयमा झक्झकाउने काम गरेको छ । स्टार्टअपमा जोखिम जहिले पनि हुन्छ भने इनोभेसन जोखिम हो । यसमा बैंक तथा वित्तीय संस्थाभन्दा पनि नीतिगत रूपमा सरकारले सघाउनुपर्छ । अर्काेपल्ट कार्यक्रम गर्दा असफल भएका स्टार्टअप तथा तिनका कथाहरू पनि समावेश गरिनुपर्छ । असफल भएकालाई पनि ल्याउँदा त्यसमा सरकार, बैंक तथा वित्तीय क्षेत्र कसले सहयोग गर्न सक्छन् भन्ने विषयमा जानकारी हुन्छ । स्टार्टअपलाई बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गरेका छैनन् । किनभने, स्टार्टअपमा जोखिम छ, बैंकमा बसेर बिजनेस रिक्स लिन सकिँदैन । अन्तर्राष्ट्रिय अभ्यासमा पनि एन्जल इन्भेस्टर, रियल इन्भेस्टर, प्राइभेट इक्विटी इन्भेस्टरहरू स्टार्टअपमा सामेल भएका हुन्छन् । जोखिम भएका क्षेत्रमा लगानीकर्ताले लगानी गर्ने हो, फाइनान्सियल क्षेत्रले होइन । बैंकिङले सहयोग गरेर स्टार्टअप सफल भएको छैन । फाइनान्स क्षेत्रले एक लेभल माथि आएपछि मात्रै कर्जा दिने हो । सुरुमा एञ्जल, भेञ्चर क्यापिटल आउनुपर्छ । दोस्रो चरणमा मात्रै बैंकले सहयोग गर्ने हो । कार्यक्रमले स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहन ईश्वर गुरुङ प्रमुख, एसएमई डिपार्टमेन्ट, कुमारी बैंक लिमिटेड ‘न्यूबिज स्टार्टअप समिट एण्ड अवार्डस’ कार्यक्रमको प्रमुख प्रायोजक बन्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ । अहिले स्टार्टअप बिजनेशलाई प्रोत्साहन गर्नेगरी राज्यले नीति लिइरहेको छ । बैंकहरूले समेत सोही अनुसार कर्जा प्रवाह गर्नुपर्ने अवस्था छ । तर स्टार्टअपबारे धेरैले बुझिरहनुभएको छैन । त्यसबारे बुझाउन पनि यस्तो खालको कार्यक्रम महŒवपूर्ण भएकाले कुमारी बैंकले यो कार्यक्रमलाई मुख्य प्रायोजन गरेको हो । गत शुक्रवार सम्पन्न अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी थियो । यसले नवउद्यमीहरूलाई स्टार्टअप व्यवसायमा लाग्न ठूलो प्रोत्साहन मिल्नेछ । स्टार्टअप बिजनेश गर्दा पैसा वा आइडिया मात्रै भएर नहुने प्रशिक्षकहरूको प्रस्तुतिबाट देखियो । खासगरी पूँजीको कसरी जोहो गर्ने र आइडियालाई कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षकहरूले खुलस्त पार्नुभएको छ । त्यसकारण पनि यो कार्यक्रम आफ्नो उद्देश्य पूर्तिमा सफल भएको छ । निर्यातमूलक स्टार्टअपलाई सरकारले प्राथमिकता दिनुपर्छ अशोकमान कपाली, हिमालयन लस इन्डष्ट्रिज, झापा इमर्जिङ स्टार्टअप कम्पनी, प्रदेश १ यस कार्यक्रमले हामीलाई व्यावसायिक रूपमा अगाडि बढ्न हौसला गरेको छ । हामीले झापामा सुपारीको पातबाट प्लेट बनाउने काम गर्दै आएका छौं । हामीले आफ्नो उत्पादन निर्यात समेत गर्दै आएका छौं । अब स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न निर्यातमूलक कम्पनीलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । नयाँ स्टार्टअप उद्यमीका लागि जानकारीमूलक आशिष शाह नमस्ते रिसाइकल ट्रेडर्स, जनकपुर इमर्जिङ स्टार्टअप कम्पनी, प्रदेश २ पछिल्लो समय स्टार्टअप उद्यममा धेरैजना आएका छन् । आउन खोजेका पनि छन् । तर, उनीहरूलाई यस सम्बन्धमा सरकारी नीति लगायत विषयमा जानकारी छैन । यस अवस्थामा यो कार्यक्रम उनीहरूका लागि जानकारीमूलक भएको छ । साथै, प्रेरणादायी पनि रह्यो । म पनि यस कार्यक्रमबाट थप प्रोत्साहित भएको छु । साथै, इमर्जिङ स्टार्टअप कम्पनीको रूपमा सम्मानित हुदाँ खुशी पनि लागेको छ । स्टार्टअपले इकोसिस्टमलाई उजागर गरेको छ अजय पाण्डे आइटी म्यानेजर, ग्लोकल प्रालि इमर्जिङ स्टार्टअप, बागमती प्रदेश उदाउँदो स्टार्टअपको अवार्ड पाउँदा निकै उत्साहित छौं । अर्काेतर्फ यो अवार्डले आफूले गरिरहेको क्षेत्रमा काम गर्न थप हौसला मिलेको अनुभूति गराएको छ । हामीले गरिरहेको कामलाई न्यु बिजनेशको कार्यक्रमले सम्मान गर्दा उत्साहित छौं । स्टार्टअप आइडियाले सम्मान पाएको छ । ग्लोकल प्रालिले २०१५ देखि समाजमा सकारात्मक काम गर्नेलाई सम्मान गर्दै आएको छ भने भारत र श्रीलंकामा फ्रेन्चाइज बेच्ने हामी पहिलो नेपाली स्टार्टअप कम्पनी हौं । कार्यक्रममा आउनुभएका सरकारी तथा निजीक्षेत्रका जिम्मेवार पदाधिकारीले उठान गरेका विषयले नेपालमा स्टार्टअपले इकोसिस्टमलाई उजागर र प्राथमिकता दिएजस्तो देखिएको छ । सरकारबाट व्यक्त विचार निकै राम्रा भए पनि कार्यान्वयनमा सधैं समस्या देखिन्छन् । अहिले भएका नीति नियमबाट  जसले फण्ड जुटाउन सक्दैन, काठमाडौंमा आएर केही गर्न खोज्नेलाई निकै गाह्रो छ । केही राम्रो भइरहे पनि यो सुस्त गतिमा छ । यसलाई तीव्रताका साथ अघि बढाउन लाग्नुपर्छ । स्टार्टअपलाई प्रोत्साहन मिलेको छ निराजन घिमिरे एक कल होम सोलुसन्स प्रालि इमर्जिङ स्टार्टअप, गण्डकी प्रदेश यो कार्यक्रमले स्टार्टअपलाई प्रोत्साहन मिलेको छ । प्रोत्साहनले थप काम गर्न ऊर्जा दिएको छ । स्थानीय तहमा काम गर्दा निकै चुनौती सामना गर्नुपर्छ । अहिले पनि धेरै स्टार्टअप बाहिर नदेखिएका होलान् । यस्ता कार्यक्रमले तिनलाई पनि थप प्रेरणा मिलेको हुनुपर्छ । काम गरेपछि केही सफलता मिल्छ भन्ने सन्देश यो कार्यक्रमबाट जान्छ । स्टार्टअप बिजनेस सुरु गर्दा कानुनी अड्चन धेरै सामना गर्नुपर्छ । अहिले श्रम कानुनअनुसार भएको व्यवस्थाले केही समस्या पारेको छ । सिक्ने अवसर पनि भयो रमेश क्षेत्री, निन्जा इन्फोसिस प्रालि, नेपालगञ्ज इमर्जिङ स्टार्टअप कम्पनी, लुम्बिनी प्रदेश यो कार्यक्रमबाट सम्मान हुन पाउँदा उत्साह र प्रेरणा पनि मिलेको छ । हामीे शुरुआती चरणको उद्यमी हौं । हामीलाई उद्यमशीलताको विषयमा धेरै जानकारी पनि थिएन । यहाँ आएर यससम्बन्धी धेरै सिक्ने अवसर मिल्यो । अब अझै बलियो भएर अगाडि बढ्ने आँट आएको छ । कार्यक्रमले विषयगत ज्ञान बढाइदिएको छ चन्द्रबहादुर खड्का, ज्वाला कृषि तथा पशुपालन उद्योग, दैलेख इमर्जिङ स्टार्टअप कम्पनी, कर्णाली प्रदेश हामी मुलुकको संघीय राजधानीभन्दा धेरै टाढा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छौं । हामीलाई व्यवसायको बजारीकरण कसरी गर्ने भन्ने विषयमा पर्याप्त ज्ञान थिएन । यस कार्यक्रमले हाम्रो व्यावसायिक क्षमता बढाएको छ । साथै, सम्मानित हुन पाउँदा व्यवसायमा अझै सफल रूपमा अघि बढ्न आत्मविश्वास पनि मिलेको छ । टिम नै निकै उत्साहित छ चन्द्रप्रकाश साउद, फारवेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर इमर्जिङ स्टार्टअप, सुदूरपश्चिम प्रदेश इमर्जिङ स्टार्टअपको रूपमा पुरस्कृत हुँदा टिम नै निकै उत्साहित छ । हाम्रो आइडिया र इनोभेसन देशलाई परिवर्तन गर्न एक चरण माथि उठ्न सफल भएको ठान्छु । २०७६ साउनदेखि बिजनेस शुरू गरेका हौं । हाम्रो समूह चार जनाको छ । हामीले अहिले बिजनेशका साथै ई–गभर्नेन्समा अनुसन्धान र डिजिटल साक्षरता लक्षित कार्यक्रम गरिरहेका छौं । केन्द्रमा हाइटेक प्रविधि छ । हामी आफ्नो ठाउँमा ग्रामीण क्षेत्रमा प्रविधिको भरपूर प्रयोग गर्दै छौं । आइटी कम्पनी भएकाले यसमा ६ लाख रुपैयाँ लगानी गरेका छौं । प्रविधि र डिजिटल साक्षरतामा पछि परेको सुदूरपश्चिम प्रदेशको धनगढीबाट हाम्रो प्रतिनिधित्व भएको हो । हामीले त्यहाँ प्रविधिको विकासलाई नै प्राथमिकता दिएका छौं । इन्टरनेटको पहुँच नभएका २ स्थानमा निःशुल्क इन्टरनेट जोडिएको छ । स्थानीय तहका पदाधिकारीसँगको सहकार्यमा डिजिटल साक्षरताका विषयमा पनि काम गरिरहेका छौं । कर्मचारीलाई साइबर अपराध र डिजिटल साक्षरताका विषयमा तालिम दियौं । कम्पनीले सफ्टवेयर विकास र खासगरी ग्रामीण क्षेत्रलाई लक्षित गरेर प्रविधिको सहज पहुँच पु¥याएर स्थानीय बजारमा यसको प्रयोगका विषयमा सचेतना जगाउने काम गर्छ । जिम्मेवारी बढेको छ विनय खड्का सीईओ, जानकी टेक्नोलोजी (खल्ती) स्टार्टअप सक्सेस सम्मानप्राप्त कम्पनी कार्यक्रमबाट सफल स्टार्टअप कम्पनीको रूपमा सम्मानित हुँदा खुशी लागेको छ । यसका लागि आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दछौं । यो सम्मानले हामीलाई उत्साहसँगै कम्पनीलाई राम्रो बनाउने जिम्मेवारी पनि बढेको महसूस भएको छ । स्टार्टअप व्यवसायको क्षेत्रमा हामी पनि युनिकर्न बन्न चाहन्छौं । सोहीअनुसार हामी अगाडि बढ्छौं ।

आज ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम

काठमाडौं । न्यू बिजनेश एज प्रालिको आयोजनामा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम आज (बिहीवार) हुँदैछ ।   नवीनतम सोच लिएर उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सातै प्रदेशबाट उद्यमीहरू छनोट गरेर ल्याइएको छ । स्वतन्त्र विज्ञहरू सम्मिलित निर्णायक मण्डलबाट उत्कृष्ट छनोट गरिएकालाई नगद पुरस्कारसहित अवार्ड, प्रमाणपत्र दिन लागिएको हो । न्यू बिजनेश एज प्रा.लि.ले आयोजना गरेको समिट एन्ड अवार्ड समारोहमा पहिलो चरणमा सर्ट लिस्टमा परेका पाँच जना उद्यमीको घोषणा गरिँदै छ भने दोस्रो चरणमा प्यानलमा छलफल हुँदै छ, तेस्रो चरणमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिनेछ । प्यानलअनुसार हुने छलफलमा (अलिबाबा ग्रूप) अन्तर्गत दराज नेपालका एमडी लिनो आलेरिङ, जेनिस सोलुशनका संस्थापक एवम् ग्लोबल सीटीओ अञ्जनी फुयालले विशेषगरी आफ्ना अनुभव सुनाउनेछन् । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत रहेको महिला उद्यमशीलता विकास समिति सहअध्यक्ष जुना माथेमा, हाम्रो पात्रोका अपरेशन म्यानेजर आश्रय दीक्षितले स्टार्टअप शुरू गर्दा आइपर्ने समस्या, चुनौती र अवसरका बारेमा प्यानल छलफलमा चर्चा गर्नेछन् । स्टार्ट अपका लागि राज्यले गरिरहेको कामकारबाहीका बारेमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले प्यानल छलफलमा चर्चा गर्नेछन् । प्यानल छलफलको सहजकर्ता उद्यमी सुमन शाक्य रहेका छन् । त्यसलगत्तै उत्कृष्ट हुनेहरूलाई नगद, ट्रफी तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । बेस्ट स्टार्ट अप अफ दर इयर हुनेले नगद १ लाख पाउनेछन्, दोस्रोले नगद ५० हजार, तेस्रो हुनेले नगद २५ हजार पाउनेछन् । महिलाले नेतृत्व गरेको एउटा बेस्ट स्टार्ट अपलाई पनि सम्मान गरिँदै छ । त्यस्तै स्टार्ट अपका रूपमा शुरू भएर हाल सफलता पाइसकेका दुईओटा कम्पनीलाई पनि सम्मान गरिँदै छ । साथै देशका प्रत्येक प्रदेशबाट एकएकओटा गरी सात ओटालाई उदाउँदो स्टार्ट अपका रूपमा सम्मान गरिँदै छ । न्यू बिजनेश एजले आयोजना गरेको समिट एन्ड अवार्डअन्तर्गत विभिन्न चरणमा कार्यक्रम भइसकेका छन् । गत कात्तिक २९ गते छनोटमा परेका ३० ओटा स्टार्ट अप उद्यमीलाई ‘मार्केटिङ र ब्रान्डिङ’का बारेमा नेपाल उद्योग वाणिज्य महासंघमा विशेष प्रशिक्षण दिइएको थियो । त्यसअघि कात्तिक १२ गते देशभरका स्टार्ट अपहरूलाई लक्षित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम अनलाइनमार्फत गरिएको थियो । देशभरीबाट यसमा १५ सयभन्दा बढी सहभागी थिए । आज सम्पन्न हुने ‘न्यूबिज स्टार्ट अप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजकमा कुमारी बैंक लिमिटेड र सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एशोसिएट पार्टनर’ मा नेपाल उद्योग वाणिज्य महासंघ स्टार्ट अप इन्नोभेशन कमिटी, एनवार्ईएफ तथा डिसहोम फाइबरनेट रहेका छन् । यस्तै अवार्ड कार्यक्रमलाई सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र व्यञ्जनले सहयोग गरेका छन् । कार्यक्रमको इन्फ्रा पार्टनर मन्सिरी ट्रेडिङ र टेक्निकल पार्टर मेङ्गो टेक छन् । न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । गतवर्षदेखि उसले महिला उद्यमीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम थालेको छ भने २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेजहरु तथा उत्कृष्ट कम्पनीहरूलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ । यो पनि हेर्नुस् : ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम : उद्यमीलाई विशेष प्रशिक्षण ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’: अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमका सहभागीहरूको प्रतिक्रिया ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम (फोटो फिचर)