हालसालै आएको विभिन्न समाचारअनुसार १ अप्रिल, सन् २०२३ देखि लागू हुने गरी नेपाल भ्रमणमा आउने कुनै पनि विदेशी पर्यटकहरू आफूखुशी पदयात्रा अर्थात् ट्रेकिङ गर्न जान पाउनेछैनन् । कम्तीमा विदेशी पदयात्रीका साथमा एक जना ट्रेकिङ गाइड अनिवार्य रूपमा रहनेछन् । अलि खर्चिलो र पैसा खर्च गर्नमा ‘मक्खिचुस’ नभएका पदयात्रीहरूले भने आफ्नो साथमा भरिया पनि लैजान सक्नेछन् । यस्तो व्यवस्थाले नेपाली पर्यटन क्षेत्रमा रोजगारी बढ्ने पक्का छ । खास गरी ट्रेकिङ गाइडको तालीम लिएर पनि भारी बोक्नसमेत नपाउने स्थितिमा रहेका ट्रेकिङ गाइड साथीहरूको मुहारमा पक्कै चमक आउनेछ ।
गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको १ पैसा पनि लगानी परेको छैन ।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै फ्री इन्डिभिज्युअल ट्रेकर (एफआईटी) का रूपमा ४६ हजारभन्दा बढी पर्यटक नेपालका विभिन्न स्थानमा आफूखुशी एक्लै पदयात्रा गर्न निक्लिएका थिए । सन् २०१९ को अन्त्यतिर चीनबाट शुरू भएको कोरोना महामारीपछि सन् २०२० र २०२१ मा यस्तो संख्या लगभग शून्य नै रहेको थियो । तर, २ वर्षको शून्यतापछि पुन: बढ्दै गएको विदेशी पर्यटकको आगमन दरसँगै यस्ता पर्यटकको संख्या पनि बढ्न थालेको छ । सन् २०१९ मा नेपालमा एफआईटीका रूपमा गएका विदेशी पदयात्रीका तुलनामा सन् २०२२ मा लगभग ५७ प्रतिशतले घटेर १९ हजार चानचुन यस्ता विदेशी पर्यटक नेपाल आएको एनटीबीको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपाली पदयात्रा क्षेत्रका गाइडहरूलाई सेवासुविधा पनि उपलब्ध छैन । ९० प्रतिशतभन्दा बढी गाइड ज्याला मजदूरजस्ता छन् । यति मात्र नभएर भइपरी आउने आकस्मिक उद्धारमा पनि नेपालका ट्रेकिङ गाइडहरू चुक्ने गरेका छन् ।
एक उदाहरण लगभग २ वर्षअघिको कोरोना महामारी (कोभिड–१९) काललाई सम्झौं । जब नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दै थियो, नेपालको पूर्वी क्षेत्रको ताप्लेजुुङको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु, सोलुखुम्बु जिल्लाको लुक्ला, नाम्चे, दोलखा जिल्लाको गौरीशंकर, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ त्यस्तै नुवाकोट–धादिङ–रसुवा जिल्लाभित्र पर्ने गणेश हिमाल क्षेत्र, गोरखाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार–फु, थोराङपास, मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ क्षेत्र, मुक्तिनाथ, जोमसोम, धवलागिरि, डोल्पा जिल्लाको पनि अझ माथिल्लो डोल्पाको शे गुम्बा, धो, तराप, तिनजे/तिल्जे, हुम्ला जिल्लाको सिमकोट, लिमी, दार्चुला जिल्लाको व्यास आदि सुदूरपश्चिमसम्मका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक भ्रमण गर्दै थिए । उनीहरूका साथमा गाइड र भरियाहरू पनि रहेका थिए । त्यो बेला सरकारले ‘लकडाउन’को नीति अपनायो । सरकारको उक्त निर्णयले हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटक फर्कनलाई असर पर्यो । अझ विदेशी पर्यटकका साथमा रहेका गाइड र भरियाहरूलाई त झन् धेरै असर पर्यो । किनभने, ती क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटकलाई नेपाल सरकार र सम्बद्ध देशले जसोतसो उद्घार गरे । विदेशी पर्यटकका साथमा रहेका नेपाली गाइड र भरियाहरूलाई भने तत्कालका लागि के–कसो गर्ने भनेर कुनै प्रभावकारी निर्णय भएन । फलत: त्यो बेला प्राय: सबै नेपाली गाइड र भरियाहरूको उद्धारमा ढिलाइ भयो । कतिपय नेपाली गाइड र भरियाहरू आआफैले व्यवस्था गरेर पनि आफ्नो गन्तव्यस्थलतर्फ फर्के । तर, लगभग ३१ हजार विदेशी पर्यटकलाई भने नेपालको विभिन्न क्षेत्रबाट उद्धार गरी उनीहरूको देश फिर्ता गरिएको थियो । नेपाली गाइड र भरियाहरूलाई चाहिँ बेवारिसे अवस्थामा छाडियो ।
त्यसो त विदेशी पर्यटकलाई गाइड गर्ने गाइडहरूले आफ्नो मातृभाषा र राष्ट्रभाषाबाहेक कम्तीमा १ वा २ देखि ३, ४ ओटा अन्य (विदेशी भाषा) भाषासमेत जानेको हुन्छ भने जुनसुकै देशका गाइडहरूले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकहरूलाई आफ्नो देशको समग्र स्थिति, आफ्नो देशको इतिहास, आफ्नो देशको ऐतिहासिक पृष्ठभूमि, आफ्नो देशको विभिन्न कालखण्डका शासक वा तिनका वंशहरू, आफ्नो देशको वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका अमूर्त सम्पदा, प्राकृतिक सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडबाड, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिमताल, हिमनदी, वातावरण, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, झारपात, लेउ आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम उँचो राख्ने गर्छन् । यसरी हेर्दा नेपालमा घुम्न आएका विदेशी पर्यटकलाई आफ्नो देशको सही र तथ्यपरक जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरू हुन्छन् । भनाइ नै छ, ‘गाइडहरूले कहिल्यै पनि गलत सूचना दिनु हुँदैन, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ।’ हो, त्यही कारण पनि कुनै पनि गाइडले विदेशी पर्यटकलाई आफ्नो देशका बारेमा सही र सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने प्रथम दायित्व हुनुपर्छ । त्यसैले विश्वका सबै देशका सरकारले पर्यटक गाइडहरूलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रूपमा मान्यता दिएको छ ।
गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै (ट्रेकिङ र टुर गाइड दुवै तालीममा) तालिम गर्दा ताका गाइड तालिम गर्न/लिन चाहने व्यक्तिले राजस्व तिरेको हुन्छ भने उनीहरू गाइड गर्न गएपिच्छे आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय करसमेत तिरेको हुन्छ । यसरी राज्यको एक पैसाविना उल्टै राज्यलाई फाइदा गराउने गाइडहरू खास गरी ट्रेकिङ गाइडहरूको महत्व नै नबुझेको देखिन्छ । यस्तोमा अहिले विनागाइड पदयात्रा जान नपाउने नीति ल्याइएको छ । यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्न सकिन्न किनकि यस्तै खाले थुप्रै प्रावधानहरू लागू भएका छैनन् । यो नीति लागू भएमा पर्यटन गाइडहरूले रोजगारी पाउने भने निश्चित छ ।
लेखक पर्यटनकर्मी हुन् ।