कास्की (अस) । गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिवारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ । यसअघि मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै कास्की जिल्लाभर स्मार्ट लकडाउन घोषणा गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिवारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रजिअ आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिन कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने निर्णय गरेको बताए । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिक लगायत भेला, महोत्सव, मेला, सभा, सम्मेलन गर्न रोक लगाइएको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिडविरुद्धको खोप लगाएको कार्ड वा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ । जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अनुमति दिएको छ । औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानून बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ । प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा÷गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ । साथै सेवा प्रदायकहरूले खुला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ । कास्की प्रशासनले जारी गरिएको आदेशको पालना भए÷नभएको अनुगमन गरी उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ ।