कोरोना संक्रमण बढेसँगै दाङका विद्यालय बन्द

पुस २४, दाङ । कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन् ।  सो क्षेत्रमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै पुस २५ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालय बन्द रहने तुलसीपुर उपमहानगरपालिकाले निर्णय गरेको हो । तुलसीपुर उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रवार विज्ञप्ति जारी गर्दै फैलिदो कोरोना संक्रमणको चेन ब्रेकका लागि पुस २५ गतेदेखि माघ ३ गतेसम्म यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक रुपमा पठनपाठन रोक्न आग्रह गरेको छ ।  साथै, भौतिक रुपमा भइरहेका आन्तरिक परीक्षा समेत रोक्न आग्रह गरिएको छ । माघ ४ गतेदेखि अवस्था हेरेर विद्यालय खोलिने विज्ञप्तिमा उल्लेख छ । केही दिनदेखि तुलसीपुर क्षेत्रका विद्यालयहरुमा शिक्षक र विद्यार्थीमाथि कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।  पाँच दिनको अवधिमा सो क्षेत्रमा शिक्षक र विद्यार्थी गरी ८४ जनामा कोरोना पुष्टि भएको छ । ओमिक्रोन परीक्षणका लागि २० स्वाव काठमाडौं पठाइयो तुलसीपुर क्षेत्रका केही विद्यालयमा कोरोना संक्रमण बढेपछि ओमिक्रोन भए नभएको जाँच गर्न २० जनाको स्वाब काठमाडौं पठाइएको छ ।  नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडांै पठाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेसँगै कास्कीमा ‘स्मार्ट लकडाउन’

कास्की (अस) । गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिवारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ । यसअघि मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै कास्की जिल्लाभर स्मार्ट लकडाउन घोषणा गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिवारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रजिअ आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिन कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने निर्णय गरेको बताए । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिक लगायत भेला, महोत्सव, मेला, सभा, सम्मेलन गर्न रोक लगाइएको छ । सार्वजनिक सवारीसाधनमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिडविरुद्धको खोप लगाएको कार्ड वा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ । जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अनुमति दिएको छ । औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानून बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ । प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा÷गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ । साथै सेवा प्रदायकहरूले खुला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ । कास्की प्रशासनले जारी गरिएको आदेशको पालना भए÷नभएको अनुगमन गरी उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ ।

कोरोना संक्रमण बढेसँगै नेपालगञ्ज उपमहानगरका विद्यालय एक साता बन्द

उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।