काठमाडौं । नेपालमै पहिलो पटक अम्रिसोबाट कागज बनाइएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा गैरसरकारी संस्था विघ्नहर्ता नेपालले अम्रिसोबाट कागज बनाउने सफल परीक्षण गरिएको हो ।
संस्थाकी सहसंयोजक रजिया बानुले नेपालमा पहिलो पटक अम्रिसोबाट कागज बनाएको दाबी गरिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका एक कर्मचारीले पनि नेपालमा अहिलेसम्म अम्रिसोबाट कागज बनेको आफूले जानकारी नपाएको बताए ।
संस्थाकी सहसंयोजक बानुले कागज बनाउन २० प्रतिशत बाबियो, ४० प्रतिशत लोक्ता र ४० प्रतिशत अम्रिसोको प्रयोग गर्ने गरेको बताइन् । साथै उनले अम्रिसोबाट बन्ने कागज गुणस्तरीय हुने दाबी गरिन् । ‘कागजको गुणस्तर मेसिनमा पनि भर पर्छ । राम्रो मेसिन भए यसबाट अल्लोभन्दा राम्रो कागज बनाउन सकिन्छ,’ उनले भनिन् ।
यसबाट बन्ने कागज बहुउपयोगीसमेत भएको उनको दाबी छ । ‘यो कागज सरकारी कार्यालयदेखि क्राफ्ट बनाउनसम्म प्रयोग गर्न सकिन्छ । यस्तै, पेपर ब्याग बनाउन पनि उपयुक्त हुन्छ,’ उनले भनिन् ।
उनले मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित चेपाङ बस्तीलाई उक्त कागज बनाउने मेसिन हस्तान्तरण गर्ने योजना सुनाइन् । त्यसका साथै कागजको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्ने योजनामा छन् ।
‘अब हाम्रो प्राथमिकता चेपाङ समुदायलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने छ,’ उनले भनिन्, ‘अम्रिसोबाट कुचोे, डाँठबाट कागज र डाँठबाट निस्किएको फोहोरबाट बायोमास बनाएर ‘सर्कुलर इकोनोमी’बाट चेपाङ समुदायलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने योजना छ ।’