माघ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३३ दशमलव शून्य ३ अंकले बढेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ९३१ दशमलव ३४ विन्दुमा पुगेको हो ।यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर ७५ हजार ५८२ पटकमा रू. ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मा खरीदविक्री भएको छ ।
कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ ।
मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५०, तेह्रथुम पावरको रू.६३५ दशमलव ८० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ३१६ दशमलव ५० पुगेको छ । बजार बढेसँगै ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
यो दिन आइसीएफसी फाइनान्सको आइसीएफसी फाइनान्स डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी अर्थात् ४ दशमलव ३९ प्रतिशतले घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू.१ हजार ९० मा झरेको हो । त्यसैगरी दोस्रोमा बोर्टलर्स नेपाल तराईको शेयरमूल्य १ दशमलव ८४ प्रतिशत घटेर प्रतिकित्ता रू.१४ हजार ४०० कायम भएको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री आइएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. २२ करोड २० लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २१७ कायम भएको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपालधितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले १० बराबर ४ को अनुपातमा रू.१०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता शेयर हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी यो दिन दोस्रोमा अपि पावर कम्पनीको रू. १८ करोड ४७ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बजार यो दिन २ हजार ९०० विन्दुमा माथि पुगेर बन्द भएको छ । मंगलवार र बुधवार बजार घटेको थियो ।
घटेको बजारमा पुन : क्रेताहरु आकर्षित हुँदा यो दिन बजार बढेको हो । पछिल्लो समय कोरोना संक्रमणदर तिब्र गतिमा वृद्धि भएको छ । सोही कारण अन्य लगानीका क्षेत्रहरु प्रभावित भएका छन् ।
यसको सकारात्मक प्रभाव भने केहि दिनयता शेयर बजारमा परेको देखिन्छ । त्यसोत आगामी वैशाख महीनामा स्थानिय निकायको निर्वाचन हुने चर्चा चलेको छ । यी सबै कारणले गर्दा समग्र शेयर बजार बुलिस प्रवत्तिमा रहेको देखिन्छ ।
बुधवार घटेको बजार साताको अन्तिम कारोबार दिन बिहीवार फेरि २ हजार ९०० विन्दु माथि आएर अडिएको छ । यसरी हेर्दा बजारले माथितिरकै यात्रा तय गर्न खोजे जस्तो देखिएको बजार विश्लेषकहरुले बताएका छन् ।