काठमाडौं । बलात्कारको आरोपमा विभिन्न पुरुषलाई फसाएर रकम अशुल गर्दै आएका दुई महिला प्रहरीको फन्दामा परेका छन् । सुर्खेतका ती दुई महिलाले पटक पटक विभिन्न पुरुषलाई बलात्कारको आरोपमा फसाउने र रकम अशुल गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल रहेका छन् ।
बलात्कारको झुठो जाहेरी दिँदा सुर्खेत जिल्ला अदालतले केही दिनअघि साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको हो । काठमाडौंको सुन्धारामा एक ब्यक्तिलाई होटलमा बोलाएर बलात्कारको आरोपमा फसाएर रकम अशुल गर्न थालेपछि उनीहरु पक्राउ परेका थिए ।
प्रहरीका अनुसार ललिताले कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएर कोठामा पुगेपछि आफैँले अश्लिल गतिविधी गरेकी थिइन् भने त्यसको भिडियो कल्पनालाई खिच्न लगाएकी थिइन् । ललिताले सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरेर ती व्यक्तिलाई बोलाएको प्रहरीले जनाएको छ ।
उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडियो खिँचिएको महाशाखाले जनाएको छ । सो भिडियो भाइरल बनाइदिने भन्दै उनीहरुले पटक–पटक गरेर तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरेका थिए । त्यसपछि आफूलाई अनावश्यक ब्ल्याकमेलिङ गरेको भन्दै ती व्यक्ति उजुरी लिएर प्रहरीकहाँ गएका थिए ।
अपराध महाशाखाका अनुसार लालसरी शाही र कल्पना हमालले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकाका विरुद्ध ५ असोजमा जाहेरी दिएका थिए। यही मुद्दामा अदालतले लालसरीलाई साढे तीनवर्ष कैदको सजाय सुनाएको हो।
यस्तै लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २२ मंसिर २०७४ मा रिहा भएको महाशाखाले जनाएको छ।
बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुवैलाई पक्राउ गरेको हो।