माघ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कम्पनीको रू. ८२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
शेयरमूल्य प्रतिकित्ता रू. ५९३ कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षण परेको देखिन्छ ।
कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजी ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीको बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ ।
१० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ५० लाखभन्दा बढी पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो ।
नियामक निकाय विद्युत् नियमन आयोग र धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।