कोभिड–१९ ले सिर्जना गरेको जनस्वास्थ्य सङ्कटमा जन स्वास्थ्यकर्मीको प्रभावकारिता आलोच्य बन्यो । हुन पनि तिनले यस अवस्थामा नागरिकलाई सुसूचित पार्न, प्रवद्र्धनात्मक सेवाको तयारी र त्यसको कार्यान्वयनमा आशातीत योगदान दिन सकेनन् । जनस्वास्थ्यका कतिपय सरकारी तथा गैरसरकारी क्षेत्रका संरचनाले पनि हात बाँधेर बसे । बन्दाबन्दीको घोषणा गर्नुको अभिप्राय रोग नफैलियोस् भन्ने थियो । यस अवसरलाई धेरैले घरमा बस्ने बिदाका रूपमा लिए । कैयौँ पेशाकर्मी सामाजिक सञ्जालमा सक्रियता देखाउनबाहेक व्यक्ति वा समुदायसम्म पुग्ने, अवस्थाको विश्लेषण गर्ने, सम्भाव्य सङ्क्रमित वा प्रभावितलाई आवश्यकता र औचित्यका आधारमा सुसूचित पार्ने, सेवा वा उपचारमा सहजीकरण गर्ने, सङ्क्रमितप्रति व्याप्त विभेद हटाउने, नीति नियम बनाउन र त्यसको कार्यान्वयनमा उल्लेख्य योगदान दिन चुके । यस्तो अवस्था आएको राज्यले जनस्वास्थ्य क्षेत्रलाई कम आँकेको वा जनस्वास्थ्यकर्मीको नेतृत्व क्षमता र दूरदर्शिताको कमी भएकाले हुन सक्छ ।
वर्तमान समय जनस्वास्थ्यका दृष्टिकोणले चुनौतीपूर्ण छ । मानिसको आहार, विहार र विचारमा निकै परिवर्तन आएको छ । धनीका समस्या र गरिबका स्वास्थ्यका समस्या साँघुरो हँुदै छन् । त्यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखापर्न थालेको छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार हालसम्म मानिसमा करिब एक हजार चार १५ थरीका रोग पहिचान भइसकेका छन् । आगामी दिनमा रोग बढ्दै जानेछन् । आममानिसलाई सुसूचित पार्न सकेमा भविष्यमा आउन सक्ने ठूलो क्षतिबाट भावी पुस्तालाई सुरक्षित पार्न सकिन्थ्यो । यसको नेतृत्व जनस्वास्थ्यकर्मीले नै गर्नुपर्छ ।