काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घर परिवारको आधुनिक सरसुविधाका साधनमा मोटरसाइकल/स्कुटरको प्रयोगको अवस्था कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये २७ दशमलव २७ प्रतिशतसँग मोटरसाइकल/स्कुटर रहेको पाइन्छ ।
उक्त सुविधाको प्रयोग गर्नेमा नगरपालिका र गाउँपालिकामा ठूलो विषमता देखिएको छ । नगरपालिकामा मोटरसाइकल/स्कुटर भएका घरपरिवारको हिस्सा ३२ दशमलव ६५ प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा १६ दशमलव २४ प्रतिशत रहेको छ ।
हिमालमा मोटरसाइकल/स्कुटर भएका घरपरिवारको हिस्सा ५ दशमलव ४६ प्रतिशत रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमश: २३ दशमलव ८४ प्रतिशत र ३३ दशमलव शून्य १ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा मोटरसाइकल/स्कुटर भएका घरपरिवारको हिस्सा ६ दशमलव ६९ प्रतिशत छ भने सबैभन्दा बढी हिस्सा बागमती प्रदेशमा ३५ दशमलव ७६ प्रतिशत रहेको छ ।