सचेतना जगाउने कार्यक्रमको अभाव
बन्दुकमा प्रयोग हुने गोली बुटीका रूपमा बालबालिकाले घाँटी र वयस्कले पाखुरामा झुन्डाएको धेरैले देखेको हुनुपर्छ । इनामेल र अन्य रङका बट्टा अथवा बाल्टिनमा खानेपानी वा अन्य खाद्यवस्तु राख्ने चलन त देशव्यापी रूपमै छ । तर, दशकौंदेखि चल्दै आएको यो अभ्यास कति घातक हुन सक्छ भन्नेमा धेरै नेपाली जानकार छैनन् । किनभने हामीमध्ये धेरैलाई रङहरूमा लेड (सिसा)को मात्रा हुने तथ्य र त्यसका हानिकारक पक्षबारे ज्ञान छैन ।
विषाक्त धातु लेड सयौं वर्षदेखि मानव जीवनको अभिन्न अंगका रूपमा छ । प्लम्बिङ, पेन्ट (रङ), पेट्रोल, ब्याट्री, उद्योगलगायत क्षेत्रमा यसको प्रयोग व्यापक रूपमा भयो । यसबाट मानव स्वास्थ्यमा हानिकारक असर पर्ने तथ्य भने निकै पछि मात्र वैज्ञानिकहरूले पत्ता लगाए । चिकित्सकहरू लेडलाई ‘मौन महामारी’ भन्छन् । मौन महामारी त्यस्तो अवस्था हो जहाँ कुनै जानकारीविनै रोग भुसको आगो जस्तै भित्रभित्रै फैलिन्छ । यसको लक्षण तत्काल नदेखिने हुँदा रोग लागेको र फैलिइरहेको चाल पाइँदैन । हाम्रो शरीरमा प्रवेश गरेको लेड मलमूत्रबाट बाहिर निस्कँदैन । यसको जोखिम वयस्कको तुलनामा बालबालिकामा बढी हुने अध्ययनहरूले देखाएका छन् । लेडले हाम्रो केन्द्रीय स्नायुप्रणाली र दिमागलाई नष्ट गराउन सक्ने वैज्ञानिकहरूको भनाइ छ । अमेरिकाको एजेन्सी फर टक्सिक सबस्ट्यान्स एन्ड डिजेज रजिस्ट्रीले रगतमा प्रति डेसिलिटर १० माइक्रोग्रामभन्दा बढी लेडको तह हुनुलाई असुरक्षित भनेको छ ।
कति जोखिमपूर्ण ?
लेड असाध्यै बलियो स्नायुविष हो । लेडले मानिसको स्नायुप्रणालीमा हानि पुर्याउँछ । फलस्वरूप स्मरणशक्ति कमजोर हुने, सामान्य कुराको पनि ज्ञान नहुनेलगायत अन्य व्यावहारगत समस्या निम्त्याउँछ । लेडले मानव शरीरको हेमोग्लोबिन उत्पादन प्रक्रियालाई अवरुद्ध गर्ने हुँदा यसले रक्तअल्पता र थकानको समस्या पनि ल्याउँछ । शिशुले लेड निलेको खण्डमा उसमा कान नसुन्ने, ढिलो बोल्नेजस्ता समस्या देखिन्छन् । लेडबाट प्रभावित बालबालिकाले आक्रामकता देखाउने, उनीहरूमा एकाग्रताको समस्या आउने र कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न नसक्ने अध्ययनहरूले देखाएका छन् । असामाजिक व्यवहार प्रदर्शनमा पनि लेडको भूमिका रहने विश्व स्वास्थ्य संगठनको भनाइ छ । गर्भस्थ शिशुका लागि त लेडसँगको सामान्य सम्पर्क पनि निकै हानिकारक हुन्छ । यसबाहेक उच्च रक्तचाप, टाउको दुख्ने, शारीरिक र मानसिक विकासमा ढिलाइ, बान्ता, पेट दुखाइ, मांसपेशी र जोर्नी दुखाइ, मानसिक र प्रजनन स्वास्थ्यमा समस्या लेडले निम्त्याउने खराबी हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार लेडजन्य विषाक्तताबाट संसारमा वार्षिक १० लाख मानिसको ज्यान जाने गरेको छ । गत सेप्टेम्बर १२ मा द लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित ‘ग्लोबल हेल्थ बर्डेन एन्ड कस्ट अफ लेड एक्सपोजर इन चिल्ड्रेन एन्ड एडल्टस : अ हेल्थ इम्प्याक्ट एन्ड इकोनोमिक मोडलिङ एनालाइसिस’ नामको अध्ययनले त लेडजन्य विषाक्तताको अत्यन्तै डरलाग्दो तस्वीर प्रस्तुत गरेको छ । उक्त अध्ययनले लेडयुक्त इन्धनको प्रयोग परित्याग गरेपछि मानिसको रगतमा लेडको मात्रा निकै घटे पनि यसको स्वास्थ्य जोखिम अझै व्यापक रहेको देखाएको छ । उक्त अध्ययनले संसारमा वार्षिक ५० लाख मृत्युको कारण लेड विषाक्ततालाई मानेको छ । वायुप्रदूषणमा पनि यसको योगदान उस्तै छ । २५ वर्ष हाराहारी उमेरका व्यक्तिको कार्डियोभास्कुलर (ह्दयवाहिनी) समस्याजन्य मृत्युमा पनि लेडको भूमिका रहेको उक्त अध्ययनले देखाएको छ ।
हामी कति जोखिममा ?
नेपाल सरकारले २०७१ पुस ७ गतेको नेपाल राजपत्रमा प्रकाशित एक सूचनामा रङमा मान्य लेडको मात्रा तोकेको छ, जसअनुसार रङमा लेडको मात्रा ९० पाटर््स पर मिलियन (पीपीएम) भन्दा बढी हुनु हुँदैन । अमेरिकी सरकारले तोकेको मापदण्ड पनि ९० पीपीएम नै हो । सरकारको उक्त कदमसँगै त्यसयता स्वदेशमा उत्पादन भएका अथवा आयात भएका अधिकांश रङमा लेडको मात्रा तोकिएको मापदण्डअनुसार भएको पाइएको छ ।
सेन्टर फर पब्लिक हेल्थ एन्ड इन्भायरोन्मेन्टल डेभलपमेन्टले सन् २०१० मा नेपाली बजारमा पाइने २४ ओटा रङको नमूनामा अध्ययन गर्दा ३ दशमलव ९८ पीपीएमदेखि ७३९६६.४ पीपीएमसम्म लेड भेटेको थियो । २४ ओटा नमूनाको औसत लेड कन्सन्ट्रेशन ६५७४ दशमलव ७१ पीपीएम थियो । यो सरकारले २०७१ मा तोकेको मापदण्ड ९० पीपीएमको तुलनामा ७३ गुणा बढी हो ।
द लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनले संसारमा वार्षिक ५० लाख मृत्युको कारण लेड (सिसा) विषाक्ततालाई मानेको छ । वायुप्रदूषणमा पनि यसको योगदान उस्तै छ । २५ वर्ष हाराहारी उमेरका व्यक्तिको कार्डियोभास्कुलर (हृदयवाहिनी) समस्याजन्य मृत्युमा पनि लेडको भूमिका रहेको अध्ययनले देखाएको छ ।
सन् २०१७ मा आइपुग्दा अधिकांश रङमा लेडको मात्रा सरकारले तोकेको मापदण्डअनुसार रहेको पाइएको छ । सोही संस्थाको अध्ययनले सन् २०१७ मा करीब ६० प्रतिशत रङमा लेडको मात्रा मापदण्डअनुसार रहेको देखाएको छ ।
सन् २०२१ मा २१ ओटा आयातित एरोसोल स्प्रे पेन्टको नमूना परीक्षण गर्दा १४ ले सरकारी मापदण्ड पूरा गरेको र बाँकी ७ ले नगरेको पाइएको छ । मापदण्ड पूरा नगरेकामध्ये दुईओटामा अति हानिकारकका रूपमा उच्च लेड थियो । स्वदेशी उद्योगबाट उत्पादित स्प्रे रङमा पनि मापदण्डभन्दा बढी लेडको मात्रा पाइएको थियो । सरकारले मापदण्ड तोकेपछि अधिकांश रङमा लेडको मात्रा मान्य तहमा ओर्लिए पनि रङहरूसँगको संसर्ग पूर्णतया सुरक्षित नरहेको संकेत गर्छ । मापदण्ड तोक्नुअघि प्रयोग भएका रङमा त लेडको जोखिम अत्यधिक नै छ ।
त्यसै गरी आयातित वस्तु, ब्याट्री, पुराना घरको प्लम्बिङ सिस्टम, बुटीका रूपमा प्रयोग भएका गोली, राजमार्ग, औद्योगिक क्षेत्र, सुटिङ रेन्ज वरपरका लेडबाट हाम्रो स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरको जोखिम पाइला पाइलामा छ । हामी पुराना घर, भवन, पर्खाल जस्ता संरचना जीर्णोद्धारका क्रममा घातक लेडको सम्पर्कमा पुग्न सक्छौं । पुराना घरको प्लम्बिङ प्रणालीमा पनि लेडयुक्त पाइप प्रयोग भएको हुन सक्छ । बालबालिकाका खेलौना, गहना र कस्मेटिक्समा लेडमा आधारित रसायन प्रयोग भएको हुन सक्छ । आयातित सेरामिक्सका भाँडाकुँडामा पनि लेड प्रयोग भएको हुन सक्छ । खुकुलो खाद्य सुरक्षा नियम भएका देशबाट आयातित खाद्य वस्तुमै पनि खतराको तहभन्दा बढी लेडको मात्रा हुन सक्छ ।
रेलको टिकट, आत्महत्यामा प्रयोग भएको डोरीजस्ता वस्तुलाई समेत औषधिका रूपमा प्रयोग गर्ने नेपाली समाजमा कतैकतै सिसाका गोली घोटेर ख्वाउने चलन त छैन ? यो अर्को विचारणीय पक्ष हो । खुला सीमा भएको नेपालमा चोरी पैठारीबाट पनि लेडयुक्त वस्तु प्रवेश भएर सर्वसाधारणसम्म पुग्न सक्छन् ।
यसरी पस्छ शरीरमा लेड
हाम्रो शरीरमा लेडका कण नाक र मुखबाट प्रवेश गर्छ । लेडयुक्त वस्तु जल्दा निस्कने धुँवा वा लेडको कण मिसिएको हावा श्वास लिँदा यो हाम्रो शरीरमा प्रवेश गर्छ । लेडयुक्त पाइपबाट आउने पानी, लेडसमेत प्रयोग गरेर बनाइएका बट्टामा प्याकिङ भएका खाना र लेड छोएको हात राम्ररी नधोई मुखमा हाल्दा यसको कण निलिन्छ ।
भारतको सेन्टर फर साइन्स एन्ड इन्भायरोन्मेन्ट (सीएसई)को अध्ययनले लेडको जोखिममा सजिलै पुगिने देखाएको छ । उक्त अध्ययनले लेड मिसिएको पेन्टले रङ्गाएको भित्ता छुनु, यसको कण मिसिएको धुँवा निल्नु वा लेडयुक्त रङ लगाएको ठाउँमा हिँड्नु पनि जोखिमपूर्ण हुने देखाएको छ ।
कसरी जोगिने ?
लेडको जोखिमबाट बच्ने प्रभावकारी उपायमध्ये सचेतना एक हो । लेडका नकारात्मक पक्षबारे सर्वसाधारणलाई जानकारी दिन सके उनीहरू स्वत: यसबाट टाढा रहन सक्छन् । स्वस्थ जीवनको महत्त्व पनि जनसाधारणले बुझ्नुपर्छ । तर, आम सर्वसाधारणलाई सचेत गराउने काम सोचेजस्तो सजिलो हुँदैन । वर्षायाममा जंगली च्याउ खाँदा परिवारै सखाप भएको, जाडोमा झ्यालढोका बन्द गरेको कोठामा मकल बालेर सुत्दा अक्सिजनको कमीले कोठाभित्रका सबैको ज्यान गएको समाचार हामी बारम्बार सुन्छौं । यस्ता दु:खदायी समाचार एफएम रेडियोहरूले दूरदराजका कुनाकन्दरासम्म पनि पुर्याइरहेका छन् । तैपनि घटना दोहोरिन छाडेका छैनन् । यस अर्थमा लेडको जोखिमबारे सचेत गराउने काम सजिलो पक्कै छैन । तसर्थ उपलब्ध आमसञ्चारका सबै साधनका साथै सडक नाटक, भित्तेलेखन, गाउँगाउँमा गीत सुनाउँदै हिँड्ने गन्धर्व, विद्यालयका शिक्षकलगायत बीमा अभिकर्तासम्मलाई प्रयोग गरेर तल्लो तहसम्म लेडको नकारात्मक पाटोको जानकारी गराउनुपर्छ । अझै पनि मापदण्डभन्दा बढी मात्रामा लेड भएको रङ र अन्य वस्तु आयात र बेचबिखन भइरहेको तथ्यले प्रभावकारी अनुगमन र नियमनको आवश्यकता औंल्याएको छ ।
आम सर्वसाधारणले जीवनको मूल्य बुझ्नुपर्छ । मूल्यवान् जीवनलाई अर्थहीन बनाउन सानो लापरबाही नै पर्याप्त हुन्छ । यस अर्थमा लेडले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ भने त्यसबाट टाढा किन नरहने ? एकपल्ट स्मरणशक्ति हराएको, दीर्घरोगी भएर परिवारका लागि बोझ बनेको, पूर्णरूपमा शारीरिक र मानसिक विकास हुन नसकेका सन्तान पाल्नुपरेको अवस्थाको कल्पना गरौं त, कति दु:खदायी हुन्छ त्यो क्षण ।
वयस्कको तुलनामा बालबालिकाले लेड निल्ने सम्भावना कैयौं गुणा बढी हुन्छ । जे भेटे पनि मुखमा हाल्ने उनीहरूले लेडयुक्त रङ लगाएको भित्ता, झ्याल–ढोका चाट्ने, रङ कोतरेको हात मुखमा हाल्ने गर्छन् । बच्चाको खेलौनामा पनि लेड हुन सक्छ । यो पृष्ठभूमिमा आफ्ना प्यारा सन्ततिलाई लेडको जोखिमबाट जोगाउन अभिभावक नै सचेत हुनुपर्छ । पुराना घरको पेन्टमा लेड प्रयोग भए/नभएको परीक्षण गराएर सोहीअनुसार व्यवहार गरी जोखिम कम गर्न सकिन्छ । पाइपबाट हुने लेडको जोखिम कम गर्न विज्ञहरूले चिसो र फिल्टर गरेको पानी पिउन सुझाएका छन् । लेडयुक्त सतह वा वस्तु छोएपछि हात धुने गर्नाले पनि जोखिम घटाउन सकिन्छ । आयातित वस्तु प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्छ भने सरकारले मापदण्डभन्दा बढी लेड भएको रङ, खाद्यवस्तु र भाँडाकुँडा आयातमा प्रतिबन्ध नै लगाउनुपर्छ ।
लेडयुक्त ठाउँमा काम गर्दा सुरक्षा प्रोटोकल पालना गरेर जोखिम कम गर्न सकिन्छ । लेडको सम्पर्कमा पुग्ने व्यक्तिलाई यसको जोखिम र बचाउका उपायबारे जानकारी दिनुपर्छ । लेडको संसर्गमा पुगेको आशंका लागेमा विशेषज्ञसँग परामर्श गरेर जोखिम घटाउन सकिन्छ । धेरै लेड मिसिएको रङ लगाएको भित्तामा पुरानो हुँदै गएपछि गोहीको कत्ला जस्तो देखिने गरी चर्किंदै जाने हुँदा यसबाट पनि लेड पहिचान गरी जोगिन सकिन्छ ।