काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारमा आधुनिक सरसुविधाका साधनमा साइकलको प्रयोगको अवस्था कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ३५ दशमलव २४ प्रतिशतसँग साइकल रहेको पाइन्छ ।
उक्त सुविधाको प्रयोग गर्नेमा नगरपालिका र गाउँपालिकामा खासै विषमता देखिएको छैन । नगरपालिकामा साइकल भएका घरपरिवारको हिस्सा ३८ दशमलव ४२ प्रतिशत छ भने गाउँपालिकामा यो हिस्सा २८ दशमलव ७३ प्रतिशत रहेको छ ।
हिमालमा साइकल भएका घरपरिवारको हिस्सा शून्य दशमलव ९९ प्रतिशत रहेको छ भने पहाड र तराईमा क्रमशः ७ दशमलव ४२ प्रतिशत र ६४ दशमलव २६ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा साइकल भएका घरपरिवारको हिस्सा १ दशमलव ८० प्रतिशत छ भने सबैभन्दा बढी हिस्सा मधेश प्रदेशमा ६७ दशमलव ४१ प्रतिशत छ ।