विराटनगर र न्यूयोर्क महानगरबीच भगिनी सम्बन्ध

विराटनगर। विराटनगर महानगरपालिका र अमेरिकाको न्यूयोर्क महानगरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ । त्यसका लागि दुवै महानगरका मेयरबीच न्यूयोर्कमा छलफल भएको छ । भगिनीसम्बन्ध स्थापित भएपछि दुवै महानगरबीच सहयोग आदानप्रदान हुने बताइएको छ । अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र न्यूयोर्कका मेयर एडम्सबीच शुक्रवार भएको भेटवार्तामा दुवै नगरबीच भगिनीसम्बन्ध स्थापित गर्न छलफल भएको थियो । मेयर कोइरालाले न्यूयोर्कका मेयर एडम्सलाई उपहार स्वरूप नेपाली दौरासुरुवाल र ढाका टोपी प्रदान गरेका थिए । मेयर कोइरालाले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तो दिँदै नेपाल भाषा, कला, संस्कृतिमा सम्पन्न रहेको जानकारी गराएका थिए । मेयर कोइरालाले अमेरिकी नागरिक साहसिक खेलमा रमाउने भएकाले नेपाल साहसिक पर्यटनका लागि उपयुक्त रहेकोे बताएका थिए । प्रदेशको एकमात्रै महानगरपालिका विराटनगरबाट सगरमाथा सहितका हिमाल नजिक पर्ने भएकाले विराटनगरबाटै माउण्टेन फ्लाइटको पहल पनि भइरहेको मेयर कोइरालाले जानकारी दिएका थिए । एडम्सले छिट्टै नेपाल आउन चाहेको इच्छा व्यक्त गरेका थिए । विगतमा पनि नेपाल आएको र आफूलाई मन पर्ने देशमध्ये नेपाल एक भएको मेयर एडम्सले बताए ।

सम्बन्धित सामग्री

भगिनी सम्बन्धमा गाँसिए महासंघ र ग्रेटर न्युयोर्क चेम्बर

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौतामा हस्ताक्षर भएको छ । भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान–प्रदानलाई प्रोत्साहन गर्ने, संघका सदस्यबीच सहज वातावरण, आर्थिक तथा व्यापारिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालनमा सहयोग गर्ने उल्लेख छ । आर्थिक नीति नियम, प्रकाशन, पत्रपत्रिका एवं व्यापारिक गतिविधि आदान–प्रदान, मेला, गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रम आयोजना, सदस्यबीच प्राविधिक विशेषज्ञतालगायत बुँदामा सहमति भएको छ । उद्योग वाणिज्य महासंघ उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्बर अफ कमर्स न्युयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको उक्त सम्झौतामा  ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्स, न्युयोर्क, अमेरिकन बिजनेस अफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे  । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्स, न्युयोर्क अमेरिकाले सेम्टेम्बर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा महासंघ उपाध्यक्ष  राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी थिए ।