काठमाडौँ उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी राजनीतिक दलका भेला र मेला महोत्सव गर्न रोक लगाइएको छ ।उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म सभा सम्मेलन र राजनीतिक भेला गर्न नदिने निर्णय गरेको हो । यदि यस्ता कार्यक्रम गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने छ । सीडीओहरुको बैठकले माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय पनि गरेको छ । बैठकले जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउने तालिका तत्काल बनाउन पनि आदेश दिने निर्णय गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।