विश्व नवप्रवर्तन सूचकाङ्कको १२६ देशको सूचीमा नेपाल १०८औँ स्थानमा परेको छ । यसले हाम्रो सिर्जनशीलता र नवप्रवर्तनको अवस्था झल्काउँछ । यसको पछाडि हाम्रो शिक्षा प्रणाली मुख्य जिम्मेवार छ । हाम्रो शिक्षा नीतिले योग्य जनशक्ति बनाउन नसकेको यो एउटा प्रमाण हो । आज विकसित भनेर चिनिएका देश राम्रो शिक्षा प्रणालीका कारण यो स्थितिमा पुगेका हुन् ।
ज्ञान, विज्ञान र प्रविधिका माध्यमले दक्ष जनशक्ति उत्पादन हुन्छ । दक्ष जनशक्ति उत्पादनको माध्यम शिक्षा नै हो । हाम्रो शिक्षा प्रणाली समय सान्दर्भिक बन्न सकेको छैन । यसले खाली सूचना र तथ्य सङ्कलन गर्ने रोबोट बनाइरहेको छ । हाम्रो शिक्षा व्यवस्थाअनुसार एउटा विद्यार्थीको ऊर्जावान् २५ वर्ष पढाइमै बितेको हुन्छ । यो समय खासै उत्पादनशील देखिँदैन । नेल्सन मण्डेलाको भनाइ छ, ‘शिक्षा यस्तो शक्तिशाली यन्त्र हो, जसको प्रयोगले भोलिको संसार बदलिएको हुन्छ ।’ शिक्षाले व्यक्ति, समाज र राष्ट्रलाई बदल्न सक्छ । शिक्षालाई ‘मेमोरी कार्ड’मा सीमित राख्नु हँुदैन । शिक्षाले मान्छेमा निहित सिर्जनशीलता बृहत् र व्यापक बनाउनमा सहयोग गर्नुपर्छ ।