जापानी नागरिक हारुहितो नोजु नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने अति कम विदेशीमध्ये पर्छन् । नेपाली भाषा विशेषज्ञका रूपमा उनी जापानमा अनुवाद र प्राध्यापन गर्छन् । उनी नेपाली भाषामा मात्र होइन, व्याकरणमा समेत दख्खल राख्छन् । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रह जापानीमा अनुवाद गरेका उनका केही कथा नेपाली पाठ्यपुस्तकमा पनि समावेश छन् । ‘त्रिवेणी’ गीति एल्बममा संगीत दिएका उनले ‘सन्ध्या सारस’ टेलिफ्लिमको निर्देशन गरेका थिए । नेपाली भाषा लेखाइमा बढ्दो विवादबारे समेत अद्यावधिक रहेका नोजुसँग यिनै सेरोफेरोमा अखण्ड भण्डारीले गरेको कुराकानी–नेपाली भाषा सिक्ने प्रेरणा तपाईंलाई कहिले, कहाँबाट, कसरी मिल्यो ?पैंतीस वर्षअघि नेपाली र जापानी भाषामा कोही पनि अनुवादक थिएनन् । त्यस्तो अवस्थामा पेसागत रूपमा उच्चस्तरीय दोभाषे उत्पादन गर्न एक जना नेपाल पठाउने तय भयो । जापानको तेन्री विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेर विद्यार्थी आदान–प्रदानअन्तर्गत विश्वभाषा क्याम्पसमा पठायो । त्यो अवसर मैले पाएँ ।त्यो कार्यक्रमअन्तर्गत कति अवधिको शिक्षा लिनुभयो ? सुरुमा दुई वर्षको थियो । क, ख, गबाटै सुरु गरियो । त्यतिका भरमा उच्चस्तरीय अनुवाद त हुनै सक्दैन । भाषामा शब्दभण्डार मात्रै बढाएर हुँदैन । भाषाको संस्कृति र जनजीवनसँग पनि घनिष्ठ सम्बन्ध हुन्छ । भिन्न कुरालाई भित्रैबाट अनुभव गरेर सिक्न सकिएन भने सार्थक सिकाइ हुँदैन ।अनि, कसरी यत्तिको जान्ने हुनुभयो ? दुई वर्ष पढेर जापान गएँ । करिब ४ वर्षपछि अझ उच्च शिक्षा हासिल गर्ने चाहनाले फेरि आएँ ।अझ उच्च शिक्षा लिने अठोट कसरी पलायो ? विश्वभाषा क्याम्पसमा दुई वर्ष पढेको आधारमा राम्रो काम गर्न सकिएन । अनुवादकको व्यावसायिक काम गर्ने अठोट त्यसले पूरा भएन । अनि, पहिला छात्रवृत्ति दिने संस्थालाई अनुरोध गरें, उत्तीर्ण भएँ र फेरि आएँ ।त्यसपछि ? ‘विदेशीका लागि विशेष स्नातक तह’ भन्ने त्रिभुवन विश्वविद्यालयमा दुई वर्षे पाठ्यक्रम थियो, त्यो पढें । पढ्दापढ्दै छयालीस सालको आन्दोलन भयो । दुई वर्षपछि स्नातकोत्तर तहको भर्ना पनि खुल्यो । त्रिविमा डिन र नेपाली विभागका अध्यक्ष परिवर्तन भए । नयाँ अध्यक्षले तिमी पढ्न चाहन्छौं भने जाँच देऊ, उत्तीर्ण भयौ भने भर्ना लिउँला भन्नुभयो । त्यसपछि मैले जाँच दिएर अरू नेपाली साथीसँगसँगै स्नातकोत्तर तहमा पढ्ने अवसर पाएँ ।स्वअध्ययन कुन विधिबाट, कसरी पढ्नुभयो ? पत्रपत्रिका, किताब पढें । टीभी हेरें । अझै सिक्ने क्रम जारी छ । अहिले त इन्टरनेटबाट पनि धेरै जानकारी पाइन्छ । यही वर्ष नेपालका न्यायाधीशहरू जापानमा जानुभएको थियो । त्यहाँका कानुनका विशेषज्ञले यहाँका कानुनका विशेषज्ञलाई दिएको तालिम अनुवाद गर्नुपर्ने भयो । धेरै प्राविधिकि शब्द खोजेर सिकें । सकेको मेहनत गरें । भाषा सिक्ने यसरी नै हो ।नेपाली र जापानी भाषालाई तुलना गर्दा सिक्न कुन जटिल होला ?गहनतासाथ अध्ययन गर्न दुवै भाषा उत्तिकै गाह्रा छन् । नेपाली भाषा त धेरै गाह्रो छ नि । बाटामा हिँड्ने नेपालीलाई तपाईंलाई कति प्रतिशत नेपाली आउँछ भनेर सोध्नुहोस्, ‘पर्फेक्ट’ भन्छन् । तर, कुनै पनि भाषामा कोही पनि पूर्ण हुँदैनन् । नेपालीको कुरा छाड्नुहोस्, म आफूलाई जापानीमा ‘पर्फेक्ट’ भन्दिनँ । सिक्दैछु भन्छु । भाषा सिकाइको अन्त्य हुँदैन ।राज्य र नागरिकले गर्ने भाषाको इज्जतका हिसाबले चाहिँ दुई देशमा केही फरक छ ? हो, यसमा केही फरक छ । जापानमा जापानी र विदेशी भाषान्तर गर्ने परम्परा संस्कृतिकै रूपमा छ । नेपालमा त्यसको मतलब छैन । जस्तो– विदेशी कार्यक्रम अंग्रेजीमा भयो, मिडियाले त्यसैमा दिन्छन् । अंग्रेजी बुझ्नेका लागि त्यो ठीकै छ, नबुझ्नेका लागि त्यसको केही अर्थ छैन । जापानमा अंग्रेजी वा अन्य विदेशी भाषाका सामग्री दिनु पर्यो भने जापानीमा अनिवार्य सबटाइटल गरिन्छ । विदेशी भाषा जानेको होस् वा नजानेको आफ्नो भाषा जानेको छ भने संसारका कुरा बुझ्न पाउनुपर्छ । जापानमा त्यो मौका पाउँछ । नेपालमा पाउँदैन ।नेपालमा मिडियाले राष्ट्रिय भाषालाई महत्त्व नदिएको भन्न खोज्नुभएको हो ? नेपालमा अंग्रेजी जान्नेले संसारका कुरा बुझ्छन्, थाहा पाउँछन् । नबुझ्नेहरू बञ्चित हुन्छन् । मलाई कस्तो अनौठो लाग्छ भने, ठीकै छ विदेशीका लागि कार्यक्रम बनाएको हो भने विदेशी भाषामा दिनुहोस् । नेपालीका लागि हो भने कम्तीमा नेपालीमा सबटाइटिल गरिदिनुहोस् ।यसलाई अझ प्रस्ट पारिदिनुहोस् न । नेपालका प्राय: टेलिभिजनका कार्यक्रम सञ्चालकले जबर्जस्ती अंग्रेजी बोल्छन् । फोनमा कुरा गर्ने कार्यक्रम छ भने फोन गर्नेलाई पनि अंग्रेजीमा बोल्न बाध्य गराउँछन् । अप्ठ्यारो–अप्ठ्यारो मानेर नसकी–नसकी बोल्छन् । नेपालीमा बग्रेल्ती अंग्रेजी शब्द मिसाउँछन् । लु भन्नुहोस् त– कसका लागि हो यो कार्यक्रम ? कुनै जानकारीमूलक कार्यक्रम हुन्छ, अंग्रेजीमा बोल्छन् । मीठा–मीठा परिकार पकाउने तरिका सिकाउँछन्, तर अंग्रेजीमा । कसलाई सिकाउन खोजिएको हो ? नेपालका धेरैजसो गृहिणी अंग्रेजी बुझ्दैनन् । नेपालीलाई नेपालीमै यो जानकारी दिइनुपर्ने होइन ? बाहिरका गतिविधि र संस्कृति जानेकाले त टीभी नहेरे पनि हुन्छ । तिनको सबैतिर पहुँच हुन्छ । जानकारी नभएकालाई दिए पो सार्थक ।कुनै पनि देशको समृद्धिमा भाषाको कुनै साइनो हुन्छ ?अवश्य हुन्छ । जापानको विकासको मुख्य जड नै भाषा हो । त्यहाँ जापानी भाषामा उच्च शिक्षासम्म अध्ययन गर्न सकिन्छ । धनी होस्, गरिब होस्, सबैले पढ्न सक्छ । नेपालमा त अंग्रेजी गतिलो भएन भने उच्च शिक्षा हासिल गर्नै सक्दैन । पहिला अरूको भाषा सिकेर मात्र अरू कुरा जान्ने मौका पाउँछ । सिधै पढ्न नदिएर यस्तो घुमाउरो बाटो किन चाहियो ? सिधै पढ्न पायो भने पो सबै जना माथि उठ्न सक्छन् । नेपालमा अंग्रेजी जान्ने झन्–झन् धनी हुने, नजान्ने झन्–झन् तल पर्ने भइरहेको छ । अन्तर बढिरहेको छ । हो कि होइन ?मन पर्ने नेपाली शब्द थुप्रै छन् भन्नुभयो, केही बताइदिनुस् न । ‘बाध्यता’ बाहेक सबै शब्द ।भाषामा भेदभाव पनि देख्नुहुन्छ ? अंग्रेजी बोल्न जान्ने उच्चस्तरीय, नजान्ने निम्नस्तरीय ठानिन्छ नेपालमा । यो भेदभाव होइन र ?नेपाली भाषा पढाइको उपयोगिता केमा गर्नुहुन्छ ?मेरो आयस्रोत नै नेपाली भाषा हो । कार्यक्रम, भ्रमण आदिमा भाषा अनुवाद गर्छु । पुस्तक अनुवाद गर्छु । जापानीलाई नेपाली भाषाको अध्यापन पनि गर्छु । घरमै ट्युसनजस्तो पनि पढाउँछु । टोकियो युनिभर्सिटीमा ३५ भाषाको अध्यापन हुन्छ । तीमध्ये हालसालैबाट नेपालीमा मेरो कक्षा सुरु गरिएको छ । त्यसमा भर्ना आह्वान गरेको तीन दिनमै विद्यार्थी कोटा पूरा भएको थियो ।नेपाली भाषामा हिज्जेसँग सम्बन्धित विवाद बढिरहेको छ, कत्तिको अद्यावधिक हुनुहुन्छ ? कम्प्युटरमा सजिलो होस् भनी संयुक्त अक्षर पनि बिगारेर छुट्टाछुट्टै लेख्न थालियो । त्यो मलाई वाहियात लाग्छ । हो, भाषा परिवर्तनशील छ । मध्यकालीन नेपाली भाषा र अहिलेको नेपाली भाषा धेरै फरक छ । तर, बोलीचालीको भाषा जति छिटो परिवर्तन हुन्छ, लेख्य त्यति छिटो हुँदैन । परम्परा जानीजानी बिगार्नुको औचित्य छैन । परिवर्तन आफैं भएको राम्रो, परिवर्तन गराउनुचाहिँ व्यावहारिक हुँदैन । संयुक्त अक्षर छुट्याएको हेर्दा पनि त राम्रो देखिँदैन नि । अर्कातिर ‘विद्यार्थी’ लाई ‘विद्यार्थी’ बनाए । यसमा त बिगारे । अझ मोबाइलमा टाइप गर्न अप्ठ्यारो परेर ‘विधार्थी’ बनाइदिए । मैले आफ्नै कानले सुनेको– बोलीमा पनि ‘विधार्थी’, ‘अधक्ष’ भन्छन् । प्रविधिका नाममा भाषा बिगार्नु बदमासी हो ।भाषासँग जोडिएको तपाईंले अनुभूत गर्नुभएको कुनै रोचक घटना छ ?लिपि लेख्ने क्रममा मलाई कस्तो नरमाइलो लागेको घटना छ । सत्ताइस–अठ्ठाइस वर्षअघि नेपालमा भर्खर–भर्खर कम्प्युटर आएको थियो । अहिलेको विन्डोजभन्दा पहिला म्याकिन्टोस थियो । त्यससँगै लेजर प्रिन्टर थियो, जुन महँगो थियो । नेपालमा १० लाख रुपैयाँसम्म पथ्र्यो । त्यसको टोनर पनि अति महँगो थियो । त्यसैले टाइप गरेको सामग्री सुरुमा लेजर प्रिन्टरमा प्रिन्ट गर्दैन थिए, डट प्रिन्टरमा गर्थे । डट प्रिन्टरले ‘हरू’ को दीर्घ ‘रू’ ह्रस्व बनाइदिँदो रहेछ । कागजमा प्रुफ पढेर दीर्घ बनाइदियो । टाइप गर्नेले नबुझ्ने । फेरिदिन्थ्यो । अनि, ह्रस्व बन्दो रहेछ । अन्त्यमा लेजर प्रिन्टरले ह्रस्व निकाल्थ्यो, जुन गल्ती हुन्थ्यो । पहिलाका किताबमा हेर्नुहोस्, ‘हरू’ को ‘रू’ ह्रस्व पाउनुहुन्छ । कारण त्यही थियो ।आगन्तुक शब्द प्रयोगमा पनि नेपालमा विचलन आयो । ‘शहीद’ कि ‘सहिद’ जस्ता बहस भए । तपाईं कुन पक्षमा हुनुहुन्छ ? – समयसँगै शैली परिवर्तन हुन सक्छ । आगन्तुक र सत्भव शब्दलाई सकेसम्म सजिलो गर्ने परम्परा नै व्यावहारिक छ जस्तो लाग्छ । संस्कृत शब्द जस्ताको तस्तै लेख्ने, बाहिरबाट आएका, अपभ्रंश भएका शब्दहरूलाई सजिलो बनाउन सकिन्छ । निर्णय त नेपाली भाषा विशेषज्ञहरूले गर्ने हो । तर, आगन्तुक भएकाले ‘सहिद’ लेख्दा फरक नपर्नुपर्ने हो । त्यति मात्र होइन, संस्कृतमा ‘श’, ‘स’, ‘ष’ को उच्चारणै फरक थियो । अहिले त्यसअनुसार उच्चारण कसले गर्छ ?तपाईंले गुरुप्रसाद मैनालीको ‘नासो’ को जापानी भाषामा अनुवाद गर्नुभएको छ, अरू कुनै साहित्यिक कृतिको पनि गर्दै हुनुहुन्छ कि ?– जापानीले अचेल पुस्तक पढ्न छाडेका छन्, पत्रपत्रिका त परै जाओस् । विदेशीका हकमा प्रसिद्ध लेखकका नामी ग्रन्थचाहिँ पढ्छन् । एसियाली मुलुकका एकदम कम पढ्छन् । यसो भनौं न– नेपाली साहित्यमा हुरुक्क हुने कृति छैन भने पनि हुन्छ । त्यसैले किताब बिक्री हुँदैन, प्रकाशक पनि डराउँछन् । त्यही भएर थप कृतिमा रुचि जागेन ।तपाईंलाई एकदम मन परेका नेपाली कृति कुन–कुन हुन् ?हालसालकोमध्ये ‘प्रोफेसर शर्माको डायरी’ मन परेको छ । गम्भीर विषयवस्तुलाई सरल ढंगले उठाइएको यो कविता विधाको कथा हो । जापानमा नेपालका विभिन्न विषयमा अनुसन्धान गर्नेको शोधकर्ताहरूको समूह छ । उहाँहरूलाई पनि महिना–दुई महिनामा नेपाली भाषा अध्यापन गर्छु । त्यस क्रममा उल्था गर्दै म विभिन्न कृति सुनाउँछु । त्यसमा ‘प्रोफेसर शर्माको डायरी’ पनि समावेश गरिसकेको छु । अस्ति भर्खर विश्वेश्वरप्रसाद कोइरालाको ‘श्वेतभैरवी’, जुन जेलमा बस्दा लेखिएका कथा हुन्, पढाएँ । सबैले रुचाए । मलाई गुरुप्रसाद मैनाली, रमेश विकलका कृति पनि मन पर्छन् ।नेपाली भाषा–साहित्य क्षेत्रमा तपाईंलाई थप के गर्ने चाहना छ ?कुनै पनि भाषा अध्ययन गर्न शब्दकोश अत्यावश्यक छ । नेपाल र जापानमा कतिपय व्यक्तिले शब्दकोश नै नबोकी भाषा सिक्न खोजेको देख्छु । त्यो व्यर्थ प्रयास हो । हुन त शब्दकोश नै सर्वोपरि होइन । तर, पनि मुख्य साधन हो । जापानमा नेपाली–जापानी भाषाको राम्रो शब्दकोश छैन । शब्दकोश शब्दको सूची मात्र होइन, भाषाको ‘इन्साइक्लोपेडिया’ समेत हुनुपर्छ । त्यसैले म मर्नुअघि एउटा राम्रो शब्दकोश बनाउने धोको छ ।नेपालीबाट जापानी शब्दकोश ? हो, नेपालीबाट जापानी । र, सकें भने जापानीबाट नेपाली पनि । ।