रसुवा । पासाङल्हामु मार्गअन्तर्गत रसुवामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिई आफूखुशी आउने, सवारीसाधनमा ब्लुबुक नराख्ने, सवारीचालक अनुमतिपत्र नबोक्ने, हलुका सवारीसाधन चालकको अनुमतिपत्रले ठूला कन्टेनर चलाउने जस्ता गतविधि हुन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अघि बढाएको हो ।
चालू आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० ओटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भइरहेको जिल्ला ट्राफिक कार्यालय रसुवाले बताएको छ । आठ महीनामा सात सय २५ मोटरसाइकल, ६ सय २९ कार जीप, एक सय आठ ओटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए । रासस