कात्तिक ७, काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतवार समायोजनपछि पनि माछापुच्छ्रे बैंक र सानिमा बैंकको शेयरमूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार दुबै कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको थियो । नेप्सेले माछापुच्छ्रे बैंकको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ३६४ दशमलव ९० को आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३२२ दशमलव शून्य ७ तोकेको हो ।
त्यस्तै सानिमा बैंकको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४८८ दशमलव ८० को आधारमा नेप्सेले बैंकको प्रस्तावित १७ प्रतिशत बोनस पछिको मूल्य रू. ४१७ दशमलव ७८ तोकेको छ ।
समायोजनपछि प्रतिकित्ता रू. ४१८ मा खुला भएको सानिमा बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १५ दशमलव ७८ ले घटेर अन्तिम मूल्य रू. ४०२ कायम भएको हो । माछापुच्छ्रे बैंकको शेयरमूल्य भने प्रतिकित्ता रू. ३ दशमलव शून्य ७ ले घटेर अन्तिम मूल्य रू. ३१९ कायम भएको छ । प्रतिकित्ता रू. ३१५ दशमलव ७० देखि खुला भएको उक्त कम्पनीको शेयरमूल्य न्यूनतम रू. ३०४ देखि अधिकतम रू. ३२० सम्म पुगेको थियो ।
यी दुबै कम्पनीले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कात्तिक ७ गते आइतवार बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा दुबै कम्पनीको कात्तिक ४ गतेसम्म शेयर कायम गरेका लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
सानिमा बैंकले कात्तिक १४ गते १७औं वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ ।
माछापुच्छ्रे बैंकले कात्तिक २६ गतेका लागि तय गरेको २३ औं वार्षिक साधारण सभा मार्फत १३ दशमलव ३० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।