बैंकिङ कसुरमा कानूनी प्रावधान

बैंकिङ क्षेत्र सर्वसाधारणको विश्वासमा सञ्चालित एउटा व्यवसाय हो । सर्वसाधारणको विश्वास बैंकप्रति कमी आएमा त्यस्ता बैंक तथा वित्तीय संस्थाहरू धराशयी वा विघटन हुन पुग्छ । बैंकिङ संस्थाहरूको मुख्य उद्देश्य सर्वसाधारण जनतासँग रहेको रकम संकलन गरी बचत वा निक्षेपको जिम्मा लिने र सर्वसाधारण तथा व्यवसायीलाई ऋण वा कर्जा सापट दिई ब्याज आर्जन गर्ने हो । यसरी बैंकिङ संस्थाहरूमा नगद जम्मा गर्नका लागि सर्वसाधारणको विश्वासमा निर्भर रहको हुन्छ । बैंकिङ प्रणाली सर्वसाधरणको विश्वास वा भरोसाका एउटा आधार स्तम्भ समेत हो । नेपालमा सगंठित रूपमा बैंकिङ संस्थाहरूको स्थापना १९९४ (विस) मा नेपाल बैंक लिमिटेडको स्थापनापश्चात् भएको हो । विसं १९९४ मा नेपाल बैंक कानून, १९९४ बमोजिम नेपाल बैंक लिमिटेडको स्थापना भयो । नेपाल राष्ट्र बैंकको स्थापना नहुँदासम्म (२०१३ बैशाख १४) नेपाल बैंक लिमिटेडले केन्द्रिय बैंकका रूपमा कार्य गरेको पाइन्छ । तत्पश्चात् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र निजीक्षेत्रको संग्लनता सँगसँगै स्वदेशी तथा विदेशी लगानीमा बैंक तथा वित्तीय संस्थाहरू संस्थापना हुने क्रम बढ्न थाल्यो । २०४६ सालपछि मात्र निजीक्षेत्र र विदेशी लगानीमा बैंक तथा वित्तीय संस्थाहरूको स्थापना भएका छन् । शुरू शुरूमा बैंकिङ कारोबार गर्दा पासबुकमार्फत मौज्दातको विवरण राखी हेर्ने गरिन्थ्यो भने आजभोलि घरमा बसी सूचनाप्रविधिको माध्यमबाट खाता खोल्ने, रकम हस्तान्तरण गर्नेलगायत सेवासुविधा प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम बैंक तथा वित्तीय संस्थाको काम कारबाही नियमित र व्यवस्थित गर्न आवश्यक निर्देशन दिन सक्ने अधिकार रहेको छ । बैंक तथा वित्तीय संस्थाको संस्थापना सँगसँगै बैंकिङ अपराधको घटनाहरू बढिरहेका छन् । बैंकिङ कसुर एउटा स्वेत अपराध हो । बैंकिङ कसुर बढ्दै गएमा त्यसलै कुनै एउटा बैंक वा वित्तीय सस्थालाई मात्र असर नगरी देशको बैंकिङ प्रणाली तथा अर्थतन्त्रलाई प्रभाव पार्छ । बैंक तथा वित्तीय संस्थाहरूसँग सम्बद्ध फौजदारी अपराधलाई निरुत्साहित गर्न जरुरी छ । नेपालमा हाल बैंकिङ कसुरको घटनाहरू घट्दै गएका छन् । स्वदेशी तथा विदेशी नागरिकता संग्लन भई आधुनिक प्रविधिको प्रयोगद्वारा बैंकिङ कसुरहरू हुने गरेका छन् । सामान्य अर्थमा परिभाषित गर्दा बैंकिङ संस्थासँग सम्बद्ध फौजदारी अपराधलाई बैंकिङ कसुर भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा बैंकिङ संस्थासँग सम्बद्ध अपराधलाई विभिन्न ऐनहरूले समेत नियन्त्रण गर्न खोजेको पाइन्छ । बैंकिङ कसुरको परिभाषाको सन्दर्भमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २ (ख) मा गरिएको छ । यसअनुसार ‘बैंकिङ कसुर’ भन्नाले परिच्छेद–२ बमोजिमको कसुर सम्झनुपर्छ भनी परिभाषित गरिएको छ । परिच्छेद २ मा दफा ३ देखि दफा १४ (ख) सम्म १४ शीर्षकमा बैंकिङ कसुर हुने व्यवस्था गरिएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ ले बैंकिङ कसुर हुने गरी समावेश गरेका संस्थाहरूमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त कम्पनी र ढुकुटीको कारोबार सञ्चालन गर्ने संस्थालाई समेत समेटेको छ । कसुरको परिभाषा गर्ने सम्बन्धमा नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, २०१० को दफा २ (थ) मा ‘कसुर यो शब्दले प्रचलित कानून बमोजिम गरेमा वा नगरेमा सजाय हुने कार्य सम्झनुपर्छ’ भनी परिभाषित गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २ (ग) मा कसुरको परिभाषा गरिएको छ जसअनुसार ‘कसुर भन्नाले यस ऐन वा कानूनबमोजिम सजाय हुने काम सम्झनुपर्छ ।’ परिभाषित गरिएको छ । सरकारी मुद्दा सम्बन्धित ऐन, २०४९ को अनुसूची १ मा लेखिएको कुनै अपराध भएको वा भइरहेको वा कुन लागेको छ भन्ने कुरा थाहा पाएको व्यक्तिले तत्सम्बन्धी अपराधबारे आफूसँग भएको वा आफूले देखे जानेसम्मको सबुत प्रमाण खुलाई यथाशीघ्र सो कुराको लिखित दरखास्त वा मौखिक सूचना नजिकको प्रहरी कार्यालयमा दिनुपर्ने’ भनी उल्लेख गरेको छ । बैंक वा नेपाल सरकारले पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्थाको नगदी वा जिन्सीसम्बन्धी बैंक वा संस्थाको कर्मचारीसँग मिलोमतो गरी वा नगरी अन्य कुनै व्यक्तिले मसोट वा हिनामिना गरेको मुद्दा, बैंक वा नेपाल सरकारको पूर्ण आंशिक स्वामित्वमा भएको संगठित संस्थामा किर्र्ते कागजात पेश गरी ठगी गरेको किर्र्ते तथा ठगी मुद्दालगायत विषय समावेश गरेको पाइन्छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १८ अनुसार उक्त ऐनअन्तर्गत सजाय हुने मुद्दा सरकारी मुद्दा नेपाल सरकारवादी हुन्छ र त्यस्तो मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा समावेश भएको मानिनेछ भनी उल्लेख गरिएको छ । बैंकिङ कसुरको परिभाषालाई बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ लाई मात्र संकुचित नगरी बैंक वा बैंकिङ संस्थाजस्तै हुलाक बचत बैंक, वित्तीय मध्यस्थता गर्ने संस्थालगायत सरकारी मुद्दासम्बन्धी ऐन,२०४९ को अनुसूची १ मा समावेश भएका उल्लिखित विषयलाई समेत समावेश गर्नुपर्छ । बैंकिङ कसुरमा जसरी परम्परागत रूपमा नक्कली कागजात वा सम्पत्ति राखी ठगी गर्ने क्रम सँगसँगै आधुनिक प्रविधिको दुरुपयोग गरी हुने गरेका छन् । नेपालमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मिति २०६४/१०/२३ गतेबाट लागू भएको छ । उक्त ऐनले बैंकिङ कसुर नियन्त्रण गर्ने कार्य गरेको छ । अन्य कानूनहरूले समेत बैंकिङ कसुर (अपराध) नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ । बैंकिङ कसुर तथा सजाय ऐनका अलावा विनिमय अधिकार पत्र ऐन, २०३४ भ्रष्टाचार निवारण ऐन, २०५६ लगायत ऐनहरूद्वारा त्यस्तो अपराधलाई निरुत्साही गर्ने कार्य भइरहेका छन् । हामीकहाँ कानून बनाइसकेपछि त्यस्तो कानूनको प्रचलनका सम्बन्धमा विवाद उत्पन्न भएमा त्यस्तो विवादमा न्यायालयबाट व्याख्या भई दिशा निर्देशन गराउनुपर्नेमा, यस्तो प्रवृत्तिको सट्टा छिटोछिटो कानून संशोधन गर्ने परिपाटीको विकास भएको छ । लेखक बैंकिङ कसुरसम्बन्धी विद्यावारिधि गरेका अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

बढ्दो बैंकिङ कसुर किन भइरहेको छ यस्तो ?

काठमाडौं । पछिल्लो समय बैंकिङ कसुरका घटना ह्वात्तै बढेको पाइएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अनुसार गत असार १२ देखि कात्तिक मसान्तसम्म प्रहरीले २ हजार ६५१ बैंकिङ कसुरका फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ ।  यस्तो तथ्यांकले बैंकिङ कसुरमा न्याय प्राप्तिका लागि दैनिक सरदर २० भन्दा बढी उजुरी पर्ने गरेको देखिन्छ । असार १२ देखि कात्तिकसम्म सार्वजनिक बिदा धेरै परेकाले अब पनि यस्तो मुद्दाको संख्या झनै वृद्धि हुने सम्भावना रहेको कर्मचारी बताउँछन् । देशभरिकै संख्या जोड्ने हो भने त बैंकिङ कसुर कहालीलाग्दो रूपमा रहेको उनीहरूको भनाइ छ ।  बैंकिङ कसुर ८/१० वर्षअघि नै देखिन थाले पनि आर्थिक वर्ष २०७९/८० देखि बढ्न थालेको र पछिल्लो समयमा थेगिनसक्नु भएको सम्बद्ध अधिकारी बताउँछन् ।  असार १२ गतेपछि मात्र जिल्ला सरकारी वकिलको कार्यालयले पनि बैंकिङ कसुरका मुद्दाको अनुसन्धान र अभियोजन गर्न मिल्ने व्यवस्था सरकारले गरेको हो । त्यसअघि उक्त कसुरको निरूपणको लागि केही उच्च अदालतमा वाणिज्य इजलाश तोकिएका थिए ।  काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका एक कर्मचारीका अनुसार बैंकिङ कसुरका उजुरी निकै बढेपछि कर्मचारीलाई काम गर्न भ्याइनभ्याई भइरहेको छ । ‘प्रहरीलाई रायसहितको प्रतिवेदन बुझाउने फाइलहरू सरकारी वकिलको कार्यालयमा चाङ लागेका छन् तर कर्मचारीको संख्या निकै थोरै छ,’ ती कर्मचारीले भने, ‘यस्तो अवस्थाबारे सबैले थाहा पाएर समस्याको निकास निकाल्नुपर्ने आवश्यकता देखिएको छ ।’  काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा असार १२ गतेयता कामको भार बढे पनि कर्मचारी भने बढ्न नसकेको उनले गुनासो गरे । ‘असार १२ पछि ३०–४० प्रतिशत काम बैंकिङ कसुरका मुद्दाका लागि गर्नु परिरहेको छ,’ उनले भने, ‘तर कार्यालयमा सरकारी वकिलको संख्या भने असारअघि जति थियो, अहिले पनि उत्ति (३५ जना) नै छ ।’  बैंकिङ कसुरका उजुरी दर्ता भएपछि प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदनका लागि पठाउने गर्छ । सरकारी वकिलको कार्यालयको रायको आधारमा प्रहरीले मुद्दा चलाउने गर्छ ।  धेरैजसो उजुरी चेक अनादरका  सरकारी वकिल कार्यालयमा आउनेमध्ये धेरैजसो चेक अनादरका समस्या रहेको कर्मचारी बताउँछन् । काठमाडौं प्रहरी परिसरमा चालू आर्थिक वर्षको ४ महीनामा करीब ३ अर्ब रुपैयाँ बराबरका चेक अनादरका उजुरी दर्ता भएका छन् । यो अवधिमा चेक अनादरको अभियोगमा प्रहरीले ६१२ जनालाई पक्राउ गरेको छ । यसमा १६४ जना महिला रहेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष चेक अनादरको अभियोगमा २ हजार ३४० जना पक्राउ परेका थिए । गतवर्ष ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७७९ रुपैयाँ बराबरको चेक अनादर भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।  ‘क्राइम ट्रेन्ड एनालाइसिस’को आवश्यकता महसूस गएको आर्थिक वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्र ७ हजारभन्दा बढी बैंकिङ कसुरका उजुरी दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा ३ हजार २७५ चेक अनादरका मुद्दा दर्ता भएका थिए । सो वर्ष २ अर्ब ६० करोड ५४ लाख ४९ हजार ८५४ हजार रुपैयाँ बराबरको चेक अनादरमा प्रहरीले ८५० पुरुष र २२३ महिलालाई पक्राउ गरेको थियो । प्रहरीले रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अध्ययन गरेर मात्र अदालतमा मुद्दा लाग्ने वा नलाग्ने निर्णय गर्छ ।  चेक अनादरका घटना बढेपछि सरकारले दोषीलाई सजाय बढाउने व्यवस्थासहितको ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा पेश गरेको छ । उक्त विधेयक अहिले प्रतिनिधिसभामा विचाराधीन छ । केही समययता बैंकिङ कसुरका अपराध बढ्दा त्यसले गम्भीर चिन्ता बढाएको उल्लेख गर्दै सरोकारवाला निकायले किन यस्तो भइरहेको छ भन्नेबारे गहिरो अनुसन्धान गर्नुपर्ने सुझाव दिएका छन् । ‘एकले अर्कोलाई ठगी गर्दा रमाउने प्रवृत्तिको विकास भएकाले हो वा आर्थिक समस्या बढेकाले ?’ काठमाडौं प्रहरी परिसरका एक अधिकृतले भने, ‘समाजमा गण्यमान्य कहलिएका व्यक्ति पनि बैंकिङ कसुरको अपराधमा दोषी ठहरिएका छन् । यस्तो किन भइरहेको छ भन्नका लागि गहिरो अध्ययन, अनुसन्धान चाहिन्छ ।’  प्रहरीको अध्ययनमा विभिन्न प्रलोभनका कारण यस्तो अपराध बढी देखिएको उनको भनाइ छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका कर्मचारीहरू बैंकिङ कसुरका घटना वृद्धि हुनुले वित्तीय अनुशासनको कमजोरी देखिए पनि ‘क्राइम ट्रेन्ड एनालाइसिस’ गर्न आवश्यक रहेको बताउँछन् । के हो बैंकिङ कसुर ? बैंकिङ तथा वित्तीय प्रणाली उपर हुने अपराध बैंकिङ कसुर हो । बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहित संरक्षण, बैंक तथा वित्तीय संस्थाको गुणस्तरीय सेवा सुनिश्चित गर्न र वित्तीय स्थायित्व कायम राख्न अपरिहार्य हुने भएकाले बैंकिङ कसुरलाई अपराधको रूपमा लिने विश्वव्यापी मान्यता र अभ्यास छ ।  के हो चेक अनादर ? बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको ६ महीनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ । दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान बैंकिङ कसुर ऐन २०६४ मा छ ।

शाखारहित बैंकिङ धमाधम घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाको शाखा नपुगेका स्थानमा वित्तीय पहुँच पुर्‍याउन शुरू गरिएको शाखारहित (ब्रान्चलेस) बैंकिङ सेवा केन्द्रको संख्या घट्न थालेको छ । गाउँगाउँमा बैंकका शाखा खुल्न थालेपछि शाखारहित बैंकिङ बन्द हुन थालेका हुन् ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारमा १ हजार ३ सय १९ ओटा शाखारहित बैंकिङ सेवाकेन्द्रले ३ लाख २० हजारभन्दा बढीलाई सेवा दिएका छन् । सेवाकेन्द्र संख्या अघिल्लो वर्ष असारको तुलनामा कम हो । २०७९ असारमा १ हजार ५ सय ४८ त्यस्ता केन्द्रमार्फत २ लाख ८३ हजारभन्दा बढी ग्राहकले सेवा लिएका थिए । गतवर्षको तुलनामा शाखारहित बैंकिङमा सेवाग्राहीको संख्या बढे पनि सेवाकेन्द्र संख्या भने घटेको देखिन्छ ।  राष्ट्र बैंकले २०६६ जेठमा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि २०६८ सालमा यो सेवा शुरू भएको थियो । एक दशकसम्म शाखारहित बैंकिङ विस्तार भए पनि २०७८ असारयता घट्न थालेको हो । २०७२ सालको महाभूकम्पपछि दातृ निकायले पनि शाखारहित बैंकिङ सेवा विस्तारका लागि सहयोग गरेका थिए । तत्कालीन समयमा बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले भूकम्प प्रभावित १४ जिल्ला तथा सुदूर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार गर्न सहयोग गरेको थियो । उक्त सहयोग बन्द भएपछि शाखारहित बैंकिङ सेवाकेन्द्रहरू बन्द हुन थालेका हुन् ।  पछिल्लो समय राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा बन्द गर्न कडाइ गरेको छ । उसले ६ महीनादेखि सञ्चालनमा नरहेको र अन्य बैंकको शाखा विस्तार भई वित्तीय पहुँच विस्तार भएको अवस्थामा मात्र शाखारहित बैंकिङ सेवाकेन्द्र बन्द गर्न पाइने व्यवस्था गरेको हो । यो बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ ।  पछिल्लो समयमा बैंक, वित्तीय संस्थाको शाखा विस्तारले शाखारहित बैंकिङ घटेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहालले बताए । विद्युतीय कारोबारको विस्तारले पनि शाखारहित बैंकिङको महत्त्व घटाएको उनको भनाइ छ ।  बैंकको शाखा नभएका स्थानमा सरल तथा सहजरूपमा वित्तीय पहुँच पुर्‍याउन राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएको थियो । यो सेवाअन्तर्गत शाखा नपुगेका स्थानमा बैंकले स्थानीय व्यापारी वा सेवाग्राहीसँग सम्झौता गरेर प्रतिनिधि तोक्छ । उक्त प्रतिनिधिले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, विप्रेषण भुक्तानी र ससानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनमा बैंक, वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने प्रावधान छ ।

चेक बाउन्समा मिलापत्र गर्न सकिने प्रावधान आउँदै

काठमाडौं- सरकारले चेक बाउन्सका मुद्दामा मिलापत्र गर्न सक्ने गरी कानुन संशोधन गर्ने भएको छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्दै चेक काउन्सको मुद्दालाई मिलापत्र मार्फत् टुंग्याउन सक्ने गरी मंगलबारको मन्त्रिपरिषदको बैठकले संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो। खातामा पैसा नभइ चेक काटिदिँदा लेनदेनको विषय फौजदारीमा परिणत भइ प्रहरी र सरकारी […]

कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा छुट

कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि होटलसँग भएको सो सहकार्यमार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका शाखामा छुटको प्रावधान गरेको हो । यस सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिङ प्रयोगकर्ताले हशोटलका विभिन्न सेवा उपयोग गरेबापत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंक र वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध लालबन्दीका व्यवसायीको प्रदर्शन

सर्लाही : बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको भन्दै लालबन्दीका उद्योगी र व्यापारी/व्यवसायी आन्दोलित भएका छन्। चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध लालबन्दीका उद्योगी व्यापारी बुधबार (आज) शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्।लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरूले ‘कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर’, ‘चालू रहेको ओभरड्राफ्ट लोन यथावत राख’, ‘जिन्सी निर्यात बढाऊ’, ‘नगद निर्यात बन्द गर&rsqu

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६ औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ । सत्र वर्षअघि रु दुई करोड पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प

मौद्रिक नीतिका प्रावधान सुधार्न निजीक्षेत्रको माग

वीरगञ्ज । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिएका नीतिले उद्योग व्यापार क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निजीक्षेत्रले बताएको छ । राष्ट्र बैंकले आयातमा गरेको कडाइ, अन्तर–बैंकिङ ब्याजदर वृद्धि, कोरोना प्रभावित उद्यम व्यापारका लागि दिइएको पुनर्कर्जामा गरिएको पुनरवलोकन लगायतका व्यवस्था उद्यम व्यापारमैत्री नभएको उद्यमी व्यापारीहरूले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीले गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका उच्च अधिकारीहरूसँगको भेटमा विद्यमान बैंकिङ समस्या र नीतिगत जटिलताका सम्बन्धमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत अन्तर–बैंक ब्याजदरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत बनाउँदा र पुनर्कर्जाको दर ५ प्रतिशतबाट ७ प्रतिशत निर्धारण गर्दा उद्योग व्यापारमा समस्या थपिने उद्यमीहरूले बताएका छन् । ‘यो दरलाई ५ प्रतिशतमै सीमित राख्नु पर्दछ । यसो गर्न सकिएको खण्डमा उद्योग, व्यापार, आयातनिर्यात र व्यवसाय थप गतिशील हुनेछ । अन्यथा कोरोनाबाट थलिएको उद्योग व्यापार झन् संकटतर्फ जाने अवस्था देखिएको छ,’ गुप्ताको भनाइ छ । कोरोना महामारीको असरबाट तंग्रिने प्रयासमै रहेका बेला दोहोरो अंकमा पुगेको ब्याजदरका कारण उद्योग व्यापार समस्याग्रस्त हुने गुनासो उनीहरूको छ । केही समयअघिसम्म एक डिजिटमा रहेको ब्याजदर अहिले अधिकांश बैंकले १२/१४ प्रतिशतसम्म पुर्‍याइसकेको गुप्ताले बताए । व्यवसायको कारोबारको २० प्रतिशत मात्र चालू ऋण उपलब्ध गराउने व्यवस्था अव्यावहारिक रहेको उद्यमीले बताएका छन् । यो प्रावधान हटाउनुपर्ने माग उनीहरूले गरेका छन् । उधारो विक्रीसम्बन्धी कानून ल्याउन पनि निजीक्षेत्रले माग गरेको छ । गभर्नर अधिकारीले निजीक्षेत्रका मागप्रति आफू सकारात्मक रहेको बताएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले जानकारी दिए । मौद्रिक नीतिका अव्यावहारिक कठिनाइलाई समयसापेक्ष परिमार्जन गर्दै जाने आश्वासन पनि अधिकारीले दिएका छन् । तरलता अभाव र विदेशी मुद्राको सञ्चितिमा देखिएको नकारात्मक असर कम गर्न सरकारले लिएको आयात नियन्त्रणको नीतिले व्यापार व्यवसाय झन् संकटमा परेको व्यवसायीको भनाइ छ । सरकारले स्वदेशी उत्पादन अधिवृद्धिको नाममा भारतबाट हुने उधारो आयातलाई रोक लगाएको र यसले व्यापारको लागत बढेर तरलता अभावको समस्या झन् चर्किने संघका उपाध्यक्ष हरि गौतमले बताए । ‘कोभिडबाट प्रभावित उद्योगलाई वाणिज्य बैंकमार्फत उपलब्ध गराउने सहुलियतलाई अर्ध वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकको स्वविवेकमा छाडिदिएकाले बैंकहरूले त्यस्तो सुविधा आफूखुशी दिने/नदिने गरिरहेका छन् । कोभिडका कारण हाल पनि धेरै उद्योगहरू प्रभावित नै रहेकाले त्यस्ता उद्योगहरूलाई राहत प्रदान गर्न राहतका प्याकेज कायमै राख्नु पर्दछ,’ गौतमले भने । पुनर्कर्जामा भएको लगानी तान्ने तयारी गरेकोप्रति निजीक्षेत्रले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । पुनर्कर्जामा १८ अर्ब रुपैयाँ लगानी भएकोमा यो रकममा कडाइ गर्दा तरलताको अभाव झन् चर्किने उनीहरूले बताएका छन् । पुनर्कर्जालाई निरन्तरता दिन पनि आग्रह गरिएको छ । बैंकले ऋण प्रवाह गर्दा तेस्रो पक्षबाट धितो राख्न सकिने व्यवस्थामा सुधारको आवश्यकता औंल्याइएको छ । कम्पनीका सञ्चालकसम्मलाई तेस्रो पक्ष मानिएकोमा सञ्चालकका परिवारलाई समेत समावेश गरिनुपर्ने सुझाव उद्यमीहरूको छ । विदेशी मुद्राको सञ्चिति र तरलता अभाव समाधानका लागि विप्रेषणलाई औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहनको नीति लिनुपर्ने सुझाव उनीहरूको छ । अनौपचारिक मार्गबाट भित्रिने विप्रेषण अनुत्पादक क्षेत्रमा लगानी भइरहेकोले औपचारिक मार्गबाट भिœयाउन प्रोत्साहनका योजना ल्याउनुपर्ने र विप्रेषणमा लाग्ने दस्तुर सरकारले बेहोर्नुपर्ने बताइएको छ ।

अन्य क्षेत्रलाई टेवा दिँदै बैंकिङ

काठमाडौं । १० वर्षे लामो माओवादी सशस्त्र द्वन्द्व सामना गरेको नेपाली अर्थतन्त्रले राजनीति लिकमा आए पनि सहज वातावरण अझै पाउन सकेन । भूकम्प, नाकाबन्दी, बाढीपहिरो र अहिले कोरोना महामारीले अर्थतन्त्रको विस्तारमा असर पुगिरहेको छ । विविध कारणले प्रभावित हुँदै नेपाली अर्थतन्त्र पुनरुत्थान हुन नपाउँदै नयाँ–नयाँ व्यवधान बेहोर्न विवश छ । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशतले ऋणात्मक रह्यो । गत आवमा ४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ । तर, समग्र अर्थतन्त्रको पुनरुउत्थान हुन अझै बाँकी रहेको अर्थविद्हरू बताउँछन् । अर्थतन्त्रको पुनरुत्थानका लागि बैंकिङ क्षेत्र मुख्य आधार हो । यद्यपि, कोरोना महामारीका कारण अहिले स्वयं बैंकिङ क्षेत्र पनि प्रभावित छ । तैपनि बैंकिङ क्षेत्रले अर्थतन्त्रको पुनरुत्थानमा सहयोग गर्नैपर्ने बाध्यता छ । नेपालमा सबैभन्दा बढी पुँजी परिचालन गर्ने क्षेत्र बैंकिङ नै हो । ठूला आकारका संस्था पनि यही छन् । अहिले एउटै वाणिज्य बैंकको कुल सम्पत्ति ४ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । व्यवसाय, उद्योग स्थापनालगायत परियोजनाका लागि कर्जा प्रवाह गर्ने संस्था बैंक नै हुन् । आर्थिक विकासका लागि उद्योग, व्यवसाय तथा विभिन्न आयोजना स्थापना हुन आवश्यक छ । त्यसका लागि पुँजी आवश्यक हुन्छ, जुन बैंक तथा वित्तीय संस्थाबाटै जोहो गर्न सकिन्छ । कोरोना महामारी सुरु भएयता बैंकिङ क्षेत्रले बढी राहतका कार्यक्रम ल्याएको देखिन्छ । महामारीको अवस्थामा अर्थतन्त्रलाई बचाइराख्न बैंकिङ क्षेत्रको भूमिका र दायरा ठूलो छ । अहिले पनि बैंकिङ क्षेत्रले ब्याज दरमा छुट दिनेदेखि ऋणको सावाँब्याज भुक्तानी म्याद थप गर्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, कोरोना प्रभावित क्षेत्रमा पुनर्कर्जालगायत सुविधा दिँदै आएका छन् । कोरोना महामारी सुरु भएपछि राष्ट्र बैंकले ल्याएका दुई आर्थिक वर्षका मौद्रिक नीति अर्थतन्त्र पुनरुउत्थानमै केन्द्रित रहेका छन् । अतः अब बैंकिङ क्षेत्रलाई फरक ढंगले अगाडि बढाउनुपर्ने देखिन्छ । यसका लागि नीतिगत व्यवस्थामा थप लचकता हुनुपर्ने देखिन्छ । आर्थिक विकासका लागि वित्तीय सहज पहँुच उच्च हुनु आवश्यक छ । अझै पनि केही स्थानीय निकायमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ७५३ मध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । धादिङको रुविभ्याली, जाजरकोटको जुनिचाँदे र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ । बढीजसो बैंकहरू सुगम क्षेत्रमै केन्द्रित छन् । कर्णाली, सुदूरपश्चिमका विकट क्षेत्रमा उनीहरूको उपस्थिति न्यून छ । यद्यपि, प्रविधिको समय सबै क्षेत्र तथा स्थानीय तहमा बैंक पुग्नैपर्छ भन्ने हुँदैन । नेपालको बैंकिङ क्षेत्रमा त्यसअनुसारको प्रविधि पहुँच भए पनि यसको विस्तार भने अझै न्यून छ । सबै नागरिक त्यस्ता प्रविधि प्रयोग गर्न योग्य छैनन् । त्यसकारण बैंकहरूको भौतिक उपस्थिति नै बढी प्रभावकारी हुने देखिन्छ । अधिकांश नागरिकलाई बैंक शाखासम्म पुग्ने अझै घन्टौं हिँड्नुपर्ने अवस्था छ । बागलुङको गलकोट नगरपालिकामा प्रभु, ग्लोबल आईएमईलगायत बैंकका शाखा छन् । नगरपालिकाको वडा नम्बर ३ स्थित हटिया बजारमा बैंक तथा वित्तीय संस्थाका शाखा छन् । तर, उक्त नगरपालिकाभित्रका दुदिलाभाटीलगायत विकट स्थानका नागरिकलाई वाणिज्य बैंकका कुनै पनि शाखासम्म पुग्न हिँडेरै ३ घन्टासम्म लाग्ने गर्छ । यो एउटा उदाहरण मात्र हो, अधिकांश स्थानीय तहको अवस्था यस्तै छ । तसर्थ, वित्तीय सेवालाई सरल बनाउन यस्ता विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाका २० शाखाले औसतमा १ लाख नागरिकलाई बैंकिङ सेवा दिन सक्ने क्षमता छ । एउटा बैंकको शाखाले ५ हजार २६८ जनालाई बैंकिङ सेवा दिन सक्ने क्षमता छ । प्रदेशगत रूपमा यसमा असमानता देखिन्छ । कर्णाली प्रदेशमा १ लाख नागरिकलाई बैंकिङ सेवा दिन ११ वटा शाखा रहेको देखिन्छ । त्यहाँ बैंकको एक शाखाले ९ हजार ४८ जनालाई बैंकिङ सेवा दिनुपर्ने बाध्यता रहेको राष्ट्र बैंकको तथ्यांकले बोलेको छ । बागमती, गण्डकीजस्ता सुगम प्रदेशमा भने औसतभन्दा बढी शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिइरहेका छन् । यी प्रदेशमा ३० शाखाले १ लाख नागरिकलाई बैंकिङ सेवा दिन सक्ने देखिन्छ । बागमतीमा १ शाखाले ३ हजार ३३७ जना र गण्डकीमा एक शाखाले ३ हजार ३०५ जनालाई बैंकिङ सेवा दिन सक्ने क्षमता भएको देखाएको छ । वित्तीय पहुँच पनि ६७ दशमलव ३४ प्रतिशत नागरिकमा मात्र पुगेको देखिन्छ । कुल निक्षेप खाता संख्या जनसंख्याभन्दा बढी छ । ०७७ जेठसम्म ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएको छ, जुन नेपालको जनसंख्याभन्दा बढी हो । तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत नागरिकमा वित्तीय पहुँच विस्तार भएको देखिएको हो । गत असारसम्म कुल ३ करोड ७७ लाख ७० हजार निक्षेप खाता खोलिएको छ । यद्यपि यसमा वित्तीय पहुँच सम्बन्धमा गणना गरिएको छैन । कर्जा विस्तारमा पनि उस्तै झमेला छ । बैंकहरूको मुख्य काम नै कर्जा विस्तार हो । कर्जाको दायरा जति फराकिलो भयो, उद्यमशीलताको विकास पनि उति नै हुने हो । नेपालमा अझै कर्जाको दायरा बढ्न सकेको छैन । अहिले कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न कर्जाको दायरा बढाउन आवश्यक छ । जनसंख्याभन्दा बढी निक्षेप खाता खोलिएको अवस्थामा कर्जा खाता भने जम्मा १७ लाख २ हजार १९५ रहेको तथ्यांक छ । कर्जा प्रवाहलाई पनि सहज बनाउनुपर्ने देखिन्छ । ग्राहकले जति सहज बैंकमा पैसा जम्मा गर्न सक्छन्, त्यति सहज कर्जा भने पाउन सक्दैनन् । तसर्थ, कर्जा प्रवाह प्रक्रियालाई सहज बनाउनुपर्ने देखिन्छ । कर्जा दिँदाका सर्तको विषयमा पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ । बैंकले पत्याएका व्यक्तिले बिनाधितो कर्जा पाए पनि सर्वसाधारणले यसरी कर्जा पाउन असम्भवजस्तै छ । कसैसँग केही व्यवसाय गर्ने योजना भए पनि धितो नहुँदा कर्जाबाट वञ्चित हुनुपर्ने अवस्था छ । उद्यमशीलताको विकासका लागि बैंकहरूले कर्जा दिने अभ्यासलाई परिवर्तन गर्न जरुरी छ । विकसित देशहरूमा बिनाधितो कर्जा प्रवाह हुने गरेको पाइन्छ । कतिपय मुलुकमा पानी, बिजुलीको बिल भुक्तानी गरेको आधारमा ग्राहकको क्रेडिट स्कोर गणना गरेर कर्जा दिइन्छ । विशेषगरी अमेरिकामा यस्तो अभ्यास छ । तर, नेपालमा यस्तो व्यवस्था मिलाउने परिकल्पना पनि गरिएको छैन । नेपालमा परियोजना धितो राखेर कर्जा दिने व्यवस्था छ । उद्यमशीलताको विकासका लागि यो प्रावधान उचित भए पनि कार्यान्वयनमा अझै गएको छैन । पूर्वबैंकर अनलराज भट्टराई बिनाधितो कर्जा प्रवाह गर्न नहुने बताउँछन् । परियोजना धितो कर्जालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ । उद्यमशीलताको विकास गर्न परियोजना धितो कर्जा नै उपयुक्त विकल्प हो । तर, परियोजना व्यावसायिक रूपमा सफल हुँदैन भन्ठानेर बैंकहरू यस्तो कर्जा प्रवाह गर्न डराएको देखिन्छ । बैंकहरूले बढी संख्यामा यस्तो कर्जा प्रवाह गरे भने त्यस्तो समस्या आउँदैन । कर्जा परिचालनका लागि स्रोत हुन आवश्यक छ, त्यो पनि दीर्घकालीन । अब बैंकहरूले दीर्घकालीन स्रोत जुटाउन जोड दिनुपर्ने देखिन्छ । अझै पनि बैंकहरू अल्पकालीन स्रोतमै निर्भर छन् । त्यसको असरले ब्याजदरमा अस्थिरता आइरहेको छ । बैंकहरूले वर्षौंसम्मका लागि कर्जा प्रवाह गरे पनि निक्षेप सामान्यतया १/२ वर्षको हुने गर्छ । अधिकांश निक्षेप सीमित महिना तथा दिनका लागि हुन्छन् । यसरी बैंकहरू अल्पकालीन स्रोतमा निर्भर हुँदा समस्या आउन सक्छ । कुनै समय ब्याजदर बढाएर भए पनि बजारबाट निक्षेप तान्नुपर्ने अवस्था आउन सक्छ । फलस्वरूप ब्याजदरमा पनि समस्या आउँछ । बैंकहरूले ऋणपत्रजस्ता दीर्घकालीन स्रोत खोज्नुपर्ने देखिन्छ । कोभिडले बैंकहरू आफैं समस्याग्रस्त भएको अवस्थामा पुनरुत्थानमा सहयोग गर्न सक्छन् या सक्दैनन् भन्ने पनि बहसको विषय हो । बैंकहरू अर्थतन्त्र पुनरुत्थानका लागि आफूहरू तयार रहेको बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा भूमिका खेल्न बैंकिङ क्षेत्र तयार रहेको सुनाउँछन् । ‘बैंकिङ क्षेत्रले अहिले पनि कोरोना प्रभावितलाई विभिन्न सहयोग गर्दै आएको छ । अब पुनरुत्थान गर्ने मामलामा पनि बैंकहरू तयार छन्,’ उनले भने ।