मौद्रिक नीतिका प्रावधान सुधार्न निजीक्षेत्रको माग

वीरगञ्ज । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिएका नीतिले उद्योग व्यापार क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निजीक्षेत्रले बताएको छ । राष्ट्र बैंकले आयातमा गरेको कडाइ, अन्तर–बैंकिङ ब्याजदर वृद्धि, कोरोना प्रभावित उद्यम व्यापारका लागि दिइएको पुनर्कर्जामा गरिएको पुनरवलोकन लगायतका व्यवस्था उद्यम व्यापारमैत्री नभएको उद्यमी व्यापारीहरूले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीले गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका उच्च अधिकारीहरूसँगको भेटमा विद्यमान बैंकिङ समस्या र नीतिगत जटिलताका सम्बन्धमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत अन्तर–बैंक ब्याजदरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत बनाउँदा र पुनर्कर्जाको दर ५ प्रतिशतबाट ७ प्रतिशत निर्धारण गर्दा उद्योग व्यापारमा समस्या थपिने उद्यमीहरूले बताएका छन् । ‘यो दरलाई ५ प्रतिशतमै सीमित राख्नु पर्दछ । यसो गर्न सकिएको खण्डमा उद्योग, व्यापार, आयातनिर्यात र व्यवसाय थप गतिशील हुनेछ । अन्यथा कोरोनाबाट थलिएको उद्योग व्यापार झन् संकटतर्फ जाने अवस्था देखिएको छ,’ गुप्ताको भनाइ छ । कोरोना महामारीको असरबाट तंग्रिने प्रयासमै रहेका बेला दोहोरो अंकमा पुगेको ब्याजदरका कारण उद्योग व्यापार समस्याग्रस्त हुने गुनासो उनीहरूको छ । केही समयअघिसम्म एक डिजिटमा रहेको ब्याजदर अहिले अधिकांश बैंकले १२/१४ प्रतिशतसम्म पुर्‍याइसकेको गुप्ताले बताए । व्यवसायको कारोबारको २० प्रतिशत मात्र चालू ऋण उपलब्ध गराउने व्यवस्था अव्यावहारिक रहेको उद्यमीले बताएका छन् । यो प्रावधान हटाउनुपर्ने माग उनीहरूले गरेका छन् । उधारो विक्रीसम्बन्धी कानून ल्याउन पनि निजीक्षेत्रले माग गरेको छ । गभर्नर अधिकारीले निजीक्षेत्रका मागप्रति आफू सकारात्मक रहेको बताएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले जानकारी दिए । मौद्रिक नीतिका अव्यावहारिक कठिनाइलाई समयसापेक्ष परिमार्जन गर्दै जाने आश्वासन पनि अधिकारीले दिएका छन् । तरलता अभाव र विदेशी मुद्राको सञ्चितिमा देखिएको नकारात्मक असर कम गर्न सरकारले लिएको आयात नियन्त्रणको नीतिले व्यापार व्यवसाय झन् संकटमा परेको व्यवसायीको भनाइ छ । सरकारले स्वदेशी उत्पादन अधिवृद्धिको नाममा भारतबाट हुने उधारो आयातलाई रोक लगाएको र यसले व्यापारको लागत बढेर तरलता अभावको समस्या झन् चर्किने संघका उपाध्यक्ष हरि गौतमले बताए । ‘कोभिडबाट प्रभावित उद्योगलाई वाणिज्य बैंकमार्फत उपलब्ध गराउने सहुलियतलाई अर्ध वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकको स्वविवेकमा छाडिदिएकाले बैंकहरूले त्यस्तो सुविधा आफूखुशी दिने/नदिने गरिरहेका छन् । कोभिडका कारण हाल पनि धेरै उद्योगहरू प्रभावित नै रहेकाले त्यस्ता उद्योगहरूलाई राहत प्रदान गर्न राहतका प्याकेज कायमै राख्नु पर्दछ,’ गौतमले भने । पुनर्कर्जामा भएको लगानी तान्ने तयारी गरेकोप्रति निजीक्षेत्रले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । पुनर्कर्जामा १८ अर्ब रुपैयाँ लगानी भएकोमा यो रकममा कडाइ गर्दा तरलताको अभाव झन् चर्किने उनीहरूले बताएका छन् । पुनर्कर्जालाई निरन्तरता दिन पनि आग्रह गरिएको छ । बैंकले ऋण प्रवाह गर्दा तेस्रो पक्षबाट धितो राख्न सकिने व्यवस्थामा सुधारको आवश्यकता औंल्याइएको छ । कम्पनीका सञ्चालकसम्मलाई तेस्रो पक्ष मानिएकोमा सञ्चालकका परिवारलाई समेत समावेश गरिनुपर्ने सुझाव उद्यमीहरूको छ । विदेशी मुद्राको सञ्चिति र तरलता अभाव समाधानका लागि विप्रेषणलाई औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहनको नीति लिनुपर्ने सुझाव उनीहरूको छ । अनौपचारिक मार्गबाट भित्रिने विप्रेषण अनुत्पादक क्षेत्रमा लगानी भइरहेकोले औपचारिक मार्गबाट भिœयाउन प्रोत्साहनका योजना ल्याउनुपर्ने र विप्रेषणमा लाग्ने दस्तुर सरकारले बेहोर्नुपर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

गभर्नरलाई काम गर्न दिनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई काम गर्न दिन सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिकारीले सर्वोच्चमा दर्ता गरेको रिट निवेदनमा मंगलवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले सरकारको निर्णय कार्यान्वयन नगर्न तथा गभर्नरलाई काम गर्न दिन अल्पकालीन आदेश दिएको हो । आदेशमा ‘चैत २४ गते सरकारले गरेको निर्णय र २५ गते अर्थ मन्त्रालयले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्नू र पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनिएको छ । सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफल गर्न वैशाख १३ गतेको पेशी तोकेको छ । उक्त समयसम्म गभर्नरमाथि शुरू भएको छानविन र निलम्बन कार्यान्वयन नगर्न अदालतले आदेश दिएको हो । ‘निवेदनमा उठाइएका विषय नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र अर्थतन्त्रको स्थायित्वसँग गाँसिएको देखिँदा यस विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा दुवै पक्षलाई झिकाई छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएकाले उक्त प्रयोजनका लागि वैशाख १३ गतेको पेशी तोकी दुवै पक्षलाई जानकारी दिनू’ आदेशमा उल्लेख गरिएको छ । अदालतको आदेशसँगै गभर्नर अधिकारीमाथिको छानविन रोकिएको छ । सर्वोच्चको आदेशबाट निलम्बन स्वत: फुकुवा भएपछि अदालतबाट अर्को आदेश नहुँदासम्म गभर्नरले काम गर्न पाउनेछन् । दुवै पक्षसँगको छलफलपछि अदालतले अन्तरिम आदेश दिने/नदिने विषयमा निर्णय गर्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । गभर्नरको पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत १३ जना वकिलले बहस गरेका थिए । सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारीले आइतवार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । उनले सरकारले विनाआधार छानविन शुरू गरेको भन्दै अन्तरिम आदेशसहित सरकारको निर्णय खारेज गर्न रिट निवेदनमा माग गरेका छन् । मन्त्रिपरिषद्को बैठकले गत चैत २४ गते गभर्नरमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य रहेको समिति गठन गरेसँगै अधिकारी स्वत: निलम्बनमा परेका हुन् । गभर्नरमाथि सरकारलाई असहयोग गरेको, महत्त्वपूर्ण आर्थिक सूचना सञ्चारमाध्यमबाट सार्वजनिक गरेको र देशको आर्थिक अवस्था सुधार्न काम नगरेको लगायत आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर ऐनले तोकेअनुसार सञ्चालक हुन अयोग्य भएमा, बैंकको उद्देश्यअनुसार काम गर्ने क्षमता नभएमा, बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने कार्य गरेमा, बेइमानी वा बदनियत गरेको देखिएमा, खराब आचरणका कारण पेशा वा व्यवसाय गर्न अयोग्य ठहर्‍याई प्रमाणपत्र खोसिए वा व्यवसाय गर्न रोक लगाइएमा र लगातार तीनपटकभन्दा बढी सञ्चालक समिति बैठकमा अनुपस्थित भएको खण्डमा जाँचबुझ समितिको सिफारिशका आधारमा गभर्नरलाई पदमुक्त गर्न सकिने प्रावधान छ । तर, सरकारले पर्याप्त आधारविना नै गभर्नरलाई पदमुक्त गर्न छानविन अघि बढाएको भन्दै आलोचना भइरहेको छ । यसअघि पनि गभर्नरहरू कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराई विभिन्न आरोपमा निलम्बनमा परेका थिए । उनीहरू सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका थिए । आजबाटै काममा : गभर्नर यसैबीच, गभर्नर अधिकारीले बुधवार (आज) देखि राष्ट्र बैंकको नियमित काममा फर्किने प्रतिक्रिया दिएका छन् । ‘मैले जे माग गरेर रिट निवेदन दायर गरेको थिएँ, सम्मानित अदालतले सोही अनुसार आदेश दिएको छ,’ गभर्नर अधिकारीले भने, ‘भोलिबाटै नियमित काममा फर्किन्छु ।’