माघ १०, काठमाडौं । कुमारी इक्वीटी फण्डको धितोपत्र तथा अन्य शिर्षकमा गरेको लगानी मूल्य मंसिर महीनाको तुलनामा पुस महीनामा बढेको छ ।
कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित उक्त योजनाको पुस मसान्तसम्म धितोपत्रमा गरेको लगानीको बजार मूल्य रू. ५७ करोड ५२ लाख १५ हजार रहेको छ ।
यो मूल्य मंसिर मसान्तसम्म रू. ४० करोड ४१ लाख १ हजार थियो । योजनाले सोमवार सार्वजनिक गरेको पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार पुस मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसहित रू. ७२ करोड २९ लाख ३ हजार रहेको छ ।
योजनाको धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको छ । यस अवधिसम्म योजनाले रू. १५ करोड बैंक मुद्दती निक्षेपमा लगानी गरेको छ ।
योजनाको नाफा पनि यो महीना बढेको छ । मंसिर मसान्तसम्म रू. ३१ लाख ४३ हजार नाफा गरेको उक्त योजनाले पुस मसान्तसम्म रू. ८ करोड १२ लाख ९८ हजार नाफा गरेको हो । मंसिर महीनामा रू. १ करोड १६ लाखभन्दा बढी रहेको योजनाको जम्मा आम्दानी पुस महीनामा रू. ९ करोड १४ लाखभन्दा बढी छ ।
आम्दानी गत महीनाको भन्दा यो महीना बढेकाले नाफामा वृद्धि देखिएको हो ।
मंसिर महीनामा रू. १० दशमलव २४ रहेको योजनाको प्रतिइकाई खुद मूल्य पुस महिनामा रू. ११ दशमलव शून्य २ पुगेको छ । उक्त योजनाले १० करोड इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उद्धेश्यसहित सञ्चालनमा रहेको यो बन्दमुखी प्रकृतिको योजना हो ।
१० वर्षे अवधिको उक्त योजना २०७७ साल चैत ५ गतेदेखि सञ्चालनमा रहेको छ । २०८७ साल चैत ४ गतेसम्म योजना सञ्चालनमा रहनेछ । योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।