कुमारी धनवृद्धि योजना र कुमार इक्वीटी फण्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ मङ्सिर महीनाको तुलनामा पुुस महीनामा बढेको छ । कुमारी इक्वीटीको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव २५ रहेकोमा पुस महीनामा बढेर रू. ११ दशमलव १० पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव १५ रहेकोमा पुस महीनामा बढेर रू. १० दशमलव ६८ पुगेको छ ।  त्यस्तै कुमारी धनवृद्धि योजनाको नाफा मङ्सिरको तुलनामा पुस महीनामा ४ दशमलव १५ गुणा वृद्धि भएको छ । फण्डले मङ्सिर मसान्तसम्म रू. २ करोड ६ लाख नाफा कमाएकोमा पुस मसान्तसम्म बढेर रू. ८ करोड ६० लाख पुगेको छ । पुस महीनामा यस फण्डको आम्दानी वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म फण्डले कुल रू. ३ करोड आम्दानी गरेकोमा पुस मसान्तसम्ममा बढेर रू. ९ करोड ७३ लाख पुगेको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले पनि पुस मसान्तसम्ममा रू. ७ करोड ६७ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तसम्म यस फण्डले रू. ८६ लाख ३२ हजार नोक्सानी व्यहोरेको थियो । यस फण्डले पुस मसान्तसम्ममा रू. ८ करोड ६६ लाख आम्दानी गर्न सफल भएकोले नाफा सुधारिएको हो । मङ्सिर मसान्तसम्ममा फण्डको आम्दानी रू. ६ लाख १३ हजार ऋणात्मक थियो ।  पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको छ । म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारको घटबढसँगै फण्डको नाफा÷नोक्सानलगायत न्याभमा असर परेको देखिन्छ ।