आँखुखोला जलविद्युत् कम्पनीले कमायो १० लाखभन्दा बढी नाफा

साउन २६, काठमाडौं ।  आँखुखोला जलविद्युत् कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १० लाख ५२ हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनी रू. ३ करोड १० लाख नोक्सानीमा थियो ।  गत आवमा ह्रासकट्टी खर्च घटेका कारण कम्पनीको नाफामा सुधार आएको हो । अघिल्लो आवमा कम्पनीको ह्रासकट्टी खर्च रू. ८ करोड २० लाखबाट घटेर गत आवमा रू. २ करोड ८५ लाखमा सीमित भएको हो । सोही कारण अघिल्लो आवमा नोक्सानीमा रहेको कम्पनी नाफामा आएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी भने १४ प्रतिशतले कमि आएको छ ।अघिल्लो आवमा विद्युत् विक्री बापत रू. २२ करोड ६२ लाख ७० हजार आम्दानी गरेको उक्त कम्पनीको आम्दानी गत आवमा घटेर रू.१९ करोड ३५ लाख ७८ हजारमा सीमित भएको छ ।  चुक्तापूँजी रू.८० करोड रहेको उक्त कम्पनीको जगेडा कोष भने रू. २६ करोड २२ लाख ९८ हजार ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा र प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव २१ पैसा रहेको छ ।   

सम्बन्धित सामग्री

आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ ।

आँखुखोला जलविद्युतको नाफा १६८ % ले बढ्यो

वैशाख १७, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १६८ दशमलव ५७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. १ करोड १३ लाखभन्दा बढी थियो ।  गत वर्ष रू. १४ करोड ७८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढी आम्दानी गरेको हो । आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा यस वर्ष १४ दशमलव ८० प्रतिशत बढेसँगै नाफामा बृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ भने जगेडा कोष रकम रू. २३ करोड २९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । ऋणात्मक रकम भने गत वर्षभन्दा यस वर्ष ६ दशमलव २८ प्रतिशत कम भएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य ८ रहेको छ । कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नु होला

दोस्रो त्रैमासमा आँखुखोला जलविद्युतले कमायो ३ करोड ७७ लाखभन्दा बढी नाफा

माघ ९, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७७ लाख ७५ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड १ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १२ करोड १६ लाख २८ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड ६५ लाख ७६ हजार पुगेको हो ।  त्यसैगरी, कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशलमव ८० रहेको छ ।

१५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

भदौ १, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार १५ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन गार्खाज फाइनान्स,फष्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,दिब्यश्वरी हाइड्रोपावर,अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी,जोशी हाइड्रोपावर,पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर, माउण्टेन इनर्जी नेपाल,रू रू जलविद्युत् परियोजना, सीईडीबी हाइड्रोपावर,जीवन विकास लघुवित्त,रिडी हाइड्रोपावर,खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । यो दिन दिनभरीको शेयर कारोबार अवधिमा बजार केहि तलमाथि गर्दै स्थिर रहेर बन्द भएको छ । सामान्य अंकले वृद्धि हुँदा यो दिन विकास बैंक,जलविद्युत् समूह र वित्त समूहका लगानीकर्ताले आकर्षक नाफा कमाएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ५ दशमलव १७ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक ३ दशमलव १६ प्रतिशत  र वित्त समूहको परिसूचक ४ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो ।                                                                 स्रोत : नेपाल स्टक एक्सेचञ्ज (नेप्से)

४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, क- कसको शेयरमूल्य घट्यो ?

जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी चार ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।  ती कम्पनीमध्ये सबैभन्दा बढी राधी विद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको हो । योदिन कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५६ प्रतिशतले कमि आएको छ । योदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४७ मा झरेको हो । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको १४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै शेयरमूल्य प्रतिकित्ता  रू. १ हजार ३०० भन्दा माथि पुगेको थियो ।  त्यसैगरी दोस्रोमा दिब्यशवरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ९१ प्रतिशत,नारायणी डेभलपमेण्ट बैंकको ५ दशमलव ९७ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ५ दशमलव ४९ प्रतिशतले कमि आएको छ । दिब्यश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२२९,नारायणी डेभलपमेण्ट बैंकको रू.७२४  र आँखुखोला जलविद्युत् कम्पनीको रू. २४१ पुगेको छ ।  केहि दिनदेखि हाइड्रोपावर समूह र बैंक समुहको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो  ।   बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न लागेसँगै हाइड्रोपावर समूहका कम्पनीहरुमा गिरावट आएको हो । आइतवार केहि विकास बैंकहरुको शेयरमूल्यमा पनि गिरावट आएको छ । नारायणी विकास बैंकको शेयरमूल्य पनि विगत लामो समयदेखि वृद्धि हुँदै आएको छ । उक्त कम्पनीको शेयरमा लगानीकर्ताहरुले योदिन नाफा बुक गरेको देखिएको छ । पछिल्लो समयदेखि लगानीकर्ताहरुले समूहगत लगानी गर्न थालेका छन् । योदिन हाइड्रोपावर समूह,विकास बैंक समूह र वित्त समूहका कम्पनीहरुको शेयर मूल्यमा उच्च दरमा वृद्धि भएसँगै आइतवारदेखि लगानीकर्ताहरु फेरि बैंकिङ समूहमा लागेका छन् । सोही कारण अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा वृद्धि भएको छ । आइतवार बजार बढेसँगै नेप्सेले नयाँ रेकर्ड बे्रक गरेको छ ।