आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ । 

सम्बन्धित सामग्री

रसुवागढीको अध्ययन अन्तिम चरणमा

एक सय मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । ‘अहिले सम्भाव्यता अध्ययनको कार्य लगभग सकिएको छ । एकदुई महिनामा यसको मस्यौदा प्रतिवेदन तयार भइसक्छ,’ आयोजना सम्बद्ध विद्युत् प्राधिकरणका प्रबन्धक माधवप्रसाद कोइरालाले भने । यो आयोजना चिलिमे जलविद्युत् कम्पनी अन्तर्गत निर्माण हुन लागेको हो । चिलिमेले २०६५ असार ३० गते यसको अनुमति लिई सम्भाव्यता अध्ययन शुरू गरेको हो । आयोजनाको वातावरण प्रभाव मूल्यांकन अन्तर्गत पर्ने सम्भाव्यता अध्ययन दस्तावेज, सेवा शर्त पनि ३ महिना अघि नै वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको मन्त्रालय स्रोतले बतायो । ती दुवैलाई निकट भविष्यमै अन्तिम रूप दिइने कोइरालाले अभियानलाई बताए । रसुवा जिल्लाको उत्तरी सिमानामा पर्ने मुख्य भोटेकोशीमा आयोजना निर्माण गर्न लागिएको हो । यसको लागत करिब रू. १४ अर्ब हुने अनुमान गरिएको छ । आयोजनाको वित्तीय संरचना लगभग सान्जेन जलविद्युत् आयोजनाकै जस्तो हुने चिलिमे जलविद्युत् कम्पनी उच्च स्रोतले बताएको छ ।    वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

दास्रो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत् ७७ लाखभन्दा बढी खुद नोक्सानीमा

माघ २६, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. ७७ लाभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ ।  हाल १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा कम्पनी रू. २ करोड ७६ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ ।  यस वर्ष कम्पनीको सञ्चालन घाटा बढेको छ भने खुद नोक्सानी रकममा कमी आएको छ । सञ्चालन घाटा बढेपनि कम्पनीको वित्तीय आम्दानी यस वर्ष ३५० दशमलव ५२ प्रतिशत बढी भएकाले खुद नोक्सानी रकम ६२ दशमलव १९ प्रतिशत कम भएको हो । गत वर्ष रू. ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ९९ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।  यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. २८ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा तथा दायित्व रकम गत वर्षभन्दा २४ दशमलव ७४ प्रतिशत वृद्धि भई रू. ६ अर्ब ५५ करोड ६६ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ३२ छ ।

मध्यभोटेकोशी जलविद्युत् आयोजना : निर्माण कार्यमा उत्साहजनक प्रगति

काठमाडौं । विभिन्न प्राकृति प्रकोप, नाकाबन्दी, ठेकदार कम्पनीको कमजोर कार्यसम्पादन, कोरोना महामारीलगायत कारण प्रभावित भएको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ को पुसभित्र नै निर्माण पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको चिलिमे जलविद्युत् कम्पनीले सिन्धुपाल्चोकमा उक्त आयोजना बनाइरहेको छ । उक्त आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायत मुख्य संरचनाको निर्माण वर्षा शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७ दशमलव २ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मीटर ३ महीनाभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले बताएको छ । २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करीब साढे ५ महीना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, गतवर्षको असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरोको र कोभिड–१९ को महामारीका कारण उक्त आयोजनाको निर्माण प्रभावित भएको थियो । प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्शनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनीयरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्पmको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजना स्थलमा ल्याइसकेको छ । गतवर्ष भोटेकोशी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पु¥याएको थियो । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको शुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्ये प्राधिकरणको १० प्रतिशत स्वामित्व रहेको छ । यस्तै, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावरको १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावरको १ प्रतिशत, सिन्धु इन्भेस्टमेन्ट कम्पनीको १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दममलव ५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३ दशमलव ५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ । कम्पनीले हालै आईपीओबाट सर्वसाधारणलाई शेयर विक्री गरेको छ । आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० मा खरीद गर्नेछ । त्यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

जलविद्युत् क्षेत्रका कमजोरी सुधार गर्न तयार छौं  : ईपान

असार ४, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोबारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति प्रकट गरेको छ । इपानले बिहीवार एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।            इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए। बोर्डले यही असार १ गते विभिन्न ५१ ओटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० ओटा जलविद्युत् कम्पनी थिए ।            जलविद्युत् क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

सीईडीबी हाइड्रोपावरको आईपीओ शुक्रवारदेखि

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।

सीईडीबी हाइड्रोपावरको आईपीओ शुक्रवारदेखि

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।