माघ ९, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७७ लाख ७५ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड १ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १२ करोड १६ लाख २८ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड ६५ लाख ७६ हजार पुगेको हो ।
त्यसैगरी, कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशलमव ८० रहेको छ ।