काठमाडौं । क्याम्पिङ ट्रेकका लागि लमजुङको दोर्दी गाउँपालिकाले विभिन्न ट्रेकिङ रुटको विकास गरेको छ ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै दोर्दीको नौथरसेराबाट शुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरा ८ दिनको ट्रेक र नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेशिशहर ११ दिनको ट्रेकिङ रुट सार्वजनिक गरेको छ ।
लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि हाम्रै दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चडने सम्भावनाको खोजी भइरहेको छ । लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ ।
।
मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोडनका लागि अहिले काम भइरहेको छ ।
इलमपोखरी–लिपे–दाम्राङ छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँडन पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ ।
यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकहरूलाई सहज होस् भन्ने हिसाबले पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकास गरिरहेको छ ।
पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्छन् ।
मानव वस्ती नरहेका कारण यी रुटहरूमा मोटरबाटोको विस्तार हुने अवस्था छैन । जसकारण ट्रेकिङको अर्गानिक स्वाद लिनका लागि त्यसकारण पनि यो रुट निकै नै शान्त एवम् आनन्ददायी हुने अपेक्षा गरिएको छ । छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको यस क्षेत्रमा पर्यटकहरूलाई स्वागत गर्न गाउँपालिकाका स्थानीय, जनप्रतिनिधि र भेडिगोठहरू पर्यटकहरूको प्रतिक्षामा छन् ।
यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छन् । इलमपोखरी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वको यस क्षेत्रको अवलोकन गरी धार्मिक पर्यटन तथा ट्रेकिङको मज्जा लिन पनि यो रुटमा ट्रेकिङ गर्नुपर्ने दोर्दी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।