काठमाडौं । चालू आर्थिक वर्षको ७ महीनामा वाणिज्य बैंकहरूमा करीब २ खर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ । गत आर्थिक वर्षभर तरलता अभावको समस्या भोगेका बैंकहरूमा चालू वर्ष भने सुधार देखिएको हो ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार २०७९ असारमा वाणिज्य बैंकहरूसँग कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तमा ४७ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको पहिलो महीना साउनमा निक्षेप घटे पनि त्यसपछि भने लगातार वृद्धि भएको देखिएको छ ।
गत आर्थिक वर्षभरमा वाणिज्य बैंकहरूमा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप वृद्धि भएकोमा ७ महीनामा १ खर्ब १० अर्ब रुपैयाँ मात्र बढेको थियो ।
यस वर्ष निक्षेप वृद्धि भए पनि बैंकहरूले कर्जा प्रवाह भने बढाउन सकेका छैनन् । चालू आर्थिक वर्षको ७ महीनामा वाणिज्य बैंकहरूले १ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ अन्त्यमा बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् ।
गत वर्षभरिमा ४ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरूले ७ महीनामा ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्षको पुसयता भने बैंकहरूले कर्जा प्रवाह घटाउन थालेका हुन् ।
पछिल्लो समय बैंकहरूको निक्षेपमा सुधार देखिए पनि कर्जा प्रवाहमा सुधार आउन सकेको छैन । पछिल्लो समय बैंकहरूमा कर्जाको माग नरहेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘अर्थतन्त्रमा देखिएको सुधारसँगै बैंकमा निक्षेप पनि वृद्धि भएको छ,’ उनले भने, ‘तर, यतिबेला बैंकमा कर्जाको माग न्यून छ ।’
अहिले तरलताको अवस्था केही सहज देखिए पनि बैंकहरू पर्ख र हेरको अवस्थामा रहेको अध्यक्ष केसीले बताए । अर्थतन्त्रका सूचक केही सकारात्मक हुँदा सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाएको र यसबाट आयातमा दबाब पर्ने भन्दै मौद्रिक नीतिले समेत नीतिगत दरहरू यथावत राखेको उनको भनाइ छ ।
पछिल्लो समय बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेको र त्यसले विस्तारै कर्जा पनि सस्तो हुने अध्यक्ष केसीको दाबी छ । ‘निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्दै जान्छ,’ उनले भने, ‘तर, व्यवसायीले भनेजस्तो कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन सम्भव देखिँदैन ।’