९ दिनको अवधिमा वाणिज्य बैंकहरुको १५ अर्ब निक्षेप घटेको छ । कार्तिक १८ गतेदेखि कार्तिक २६ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप १५ अर्बले घटेको हो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार कार्तिक १७ गते बैंकहरुको निक्षेप ४२ खर्ब ३८ अर्ब रहेकोमा कार्तिक २६ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप १५ अर्बले घटेर ४२ खर्ब २३ अर्बमा सिमित भएको छ । जस मध्ये विदेशी मुद्राको निक्षेप ३ अर्बले घटेको छ । यस अवधिमा बैंकहरुले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्। कार्तिक १७ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब २५ अर्ब रहेकोमा कार्तिक २६ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब २८ अर्ब पुगेको छ । निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर दोहोरो अंकको डिजिट कायम गरेका थिए । तर राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र बढाउँन निर्देशन दिएपछि अहिले ब्याजदर एकल अंकमा आएको छ। यद्यपि मङ्सिरबाट भने केहि बैंकको ब्याजदर दोहोरो अंकमा पुग्न सक्ने देखिएको छ। कार्तिकको तुलनामा १० प्रतिशत मात्रले ब्याज बढाउँदा पनि केहि बैंकको ब्याज दोहोरो अंकमा पुग्ने देखिएको हो । यद्यपि राष्ट्र बैंकले ब्याजदर निर्धारण विधि बारे नयाँ निर्देशन दिन सक्ने चर्चा पनि बजारमा चलेको छ ।