काठमाडौं । बैंक, वित्तीय संस्थाबाट दशैंअघि बाहिरिएको निक्षेप पुन: प्रणालीमै फर्किन थालेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाको कुल निक्षेप आइतवारसम्म ५९ खर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तमा बैंकहरूको कुल निक्षेप ५९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि कात्तिक ९ गतेसम्ममा घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको निक्षेप दशैंपछि लगातार बढिरहेको छ । दशैंपछि मात्र बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
दशैंंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको थियो । असोज १६ गते बजारमा ६ खर्ब २० अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकोमा कात्तिक ९ गतेसम्ममा बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको थियो ।
पछिल्लो समय विप्रेषण आप्रवाह उच्च भएसँगै बैंकमा निक्षेप बढिरहेको छ । यसै गरी बैंकको कर्जा लगानीमा पनि सुधार देखिन थालेको छ ।
कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ ।
आइतवारसम्ममा बैंक, वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । शनिवारको तुलनामा आइतवार २ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको हो ।
असोज अन्तिममा बैंकहरूको कुल कर्जा प्रवाह ५० खर्ब रुपैयाँ पुगेको थियो । कात्तिक ९ गतेसम्ममा घटेर ४९ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएकोमा पुन: बढ्न थालेको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै आन्तरिक अवस्थामा पनि सुधारको संकेत देखिएको बताउँछन् । यसले गर्दा बैंकमा निक्षेप र कर्जाको विस्तार गतवर्षको तुलनामा सुधार देखिएको उनको भनाइ छ । ‘पछिल्लो समय निक्षेप र कर्जाको विस्तार केही बढेको छ,’ उनले भने, ‘यसबाट आन्तरिक आर्थिक गतिविधि सुधार हुन थालेको संकेत मिलेको छ ।’
चालू आर्थिक वर्षको कात्तिक २० गतेसम्ममा वाणिज्य बैंकमा मात्र १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप बढ्दा ९२ अर्ब रुपैयाँले कर्जा विस्तार भएको बैंकर्स संघले बताएको छ । जब कि गत आर्थिक वर्षको यसै अवधिमा ८४ अर्ब निक्षेप बढ्दा ४७ अर्ब रुपैयाँले कर्जा विस्तार भएको थियो ।
कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । आइतवार बैंकहरूको औसत सीडी रेसियो ८१ दशमलव ५३ प्रतिशत कायम भएको छ । असोज मसान्तमा यो ८१ दशमलव ७४ प्रतिशत कायम थियो । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्ने प्रावधानअनुसार करीब ५ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह क्षमता उनीहरूसँग रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकमा निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घट्न थालेको छ । कात्तिक १० मा ४ दशमलव ५८ प्रतिशत कायम भएको अन्तरबैंक ब्याजदर आइतवार ३ दशमलव २२ प्रतिशतमा झरेको छ ।