काठमाडौं। आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा ‘एशियाज मस्ट एडमायर्ड मार्केटिङ लिडर’को सम्मान प्रदान गरिएको छ । गत बिहीवार प्यान प्यासिफिक सिंगापुरमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो । वल्र्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो ।
मार्केटिङका विभिन्न रणनीति लागू गर्दै विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डलाई नेपालमा स्थापित गराउन शाक्यको सक्रियताको संस्थाले प्रशंसा गरेको छ । सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ‘ब्राण्ड सूत्र’ले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ । एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्रान्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् । अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिए । उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।