संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटनसम्बन्धी आयोजना सञ्चालनका लागि स्थानहरु छनोट गरेको छ ।
मन्त्रालयले दुई सय गन्तव्य आयोजना सूचीमा इलामका देउमाई नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र, माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माईपोखरी÷जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजना सार्वजनिक गरेको छ ।
देउमाईस्थित आयोजनाका लागि ५० लाख रुपियाँ लागत साझेदारी र मन्त्रालयको ९४ लाख रुपियाँ लागत गरी एक करोड ४४ लाख रुपियाँ अनुमान गरिएको छ । चुलाचुली गाउँपालिकास्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपियाँ गरी पाँच करोडको योजना अनुमान गरिएको छ । माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजनाका लागि दुई करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा मन्त्रालयको चार करोड ५५ लाख रुपियाँ लागत गरी सात करोड रुपियाँको योजना सार्वजनिक गरिएको छ ।