असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकासिएको छ । सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन । अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन् ।