काठमाडौं (अस) । सनराइज बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरे ।
सहमतिअनुसार बैंकले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । वित्तीय साक्षरता अभावमा असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुँच पुर्याउन, डिजिटल कारोबारबारे अभ्यस्त बनाउन वित्तीय साक्षरता कार्यक्रम गर्न लागिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राणाले बताइन् ।