गौशाला–२६ कुनै ठेगाना होइन, एक किशोरीको नाम हो । यस्ती किशोरी जसले न्याय माग्दा सामाजिक तिरस्कार भोग्न बाध्य भएकी छन् । सन्तान हुर्काइरहेका बाबुआमा, आफ्ना दिदीबहिनीलाई औधी माया गर्ने दाजुभाइ तथा कथित भद्रभलादमीले उनको सातो लिन खोजिरहेका छन्– पुरुषसँग किन बाहिर गयौ ? होटलमा किन बस्यौ ? मानौं, कुनै पुरुषको मित्रवत् अनुरोधमा घुम्न निस्कनु वा होटलमा पुग्नु भनेको आफ्नो शरीरमाथि रजाइँ गर्न दिनु हो ।