ब्रोकर लाइसेन्सको अस्पष्टता

वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने योजना लामो समयदेखि अलपत्र छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई छुट्टै सहायक कम्पनी स्थापना गरी शेयर ब्रोकरको कारोबार गर्न पाउने व्यवस्था गरेको थियो  । वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजार र समग्र लगानीकर्ताको हितमा हुन्छ भने ढिला गर्नुको कुनै अर्थ छैन । साथै, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा थप समस्या आउँछ भने उनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने होइन । सोही नीति अनुसार राष्ट्र बैंकबाट डेढ दर्जन बैंकहरूले अनुमति लिएका छन् । लगत्तै बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि–२०७६’ पनि जारी गर्‍यो जसअनुसार ११ बैंकहरूले सहायक कम्पनी दर्ता गरेर आवेदन दिएका छन् । यति भइसक्दा पनि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने विषय टुंगोमा पुगेको छैन । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले पनि वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिए पहुँच राम्रो हुने बताएका छन् । उनले बैंकहरूको कर्पोरेट गभर्नेन्स सिस्टम राम्रो भएको धारणा राखेका छन् । तैपनि वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिँदा रोजगारी घट्ने र विकास बैंक तथा अन्य वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिनेबारे के गर्ने भन्नेमा उनी अन्योलमा देखिएका छन् । बैंकहरूको आवेदनमा नेप्सेले अध्ययन गरिरहेकै बेला साढे एक वर्षअघि व्यवस्थापिका संसद्अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया स्थगित गर्न निर्देशन दिँदै ‘मुद्रा तथा पूँजी बजार’ को अध्ययनका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको थियो । समितिले एक वर्ष लगाएर अध्ययन गरी इन्साइडर ट्रेडिङ नहुने लगायतका विषयहरू सुनिश्चित गरी बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको थियो । हरेक सिक्काका दुई पाटा हुन्छन् भनेझैं बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा र नदिँदा पनि नाफा/घाटा हुने भइहाल्यो । त्यसैले यस विषयमा शुरूदेखि नै आआफ्ना धारणा रहँदै आएका छन् । यहाँनेर महत्त्वपूर्ण कुरा सरकारी तवरबाट हुने निर्णय बहुसंख्यकको हितमा हुन्छ वा हुँदैन भन्ने हो । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजारको विकास हुन्छ भने त्यस्तो निर्णय गर्नु हुँदैन भन्ने केही छैन । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ हुँदैन भन्ने अवस्था नभएको सत्य हो  किनकि विद्यमान संरचनाले इन्साइडर ट्रेडिङका लागि ठूलै प्वाल छाडेको छ । विकसित मुलुकका बैंकहरूले नाफा र घाटाको प्रक्षेपण वर्षको शुरूमै गर्छन् । कथम्कदाचित् लक्ष्य पूरा हुन नसक्ने भयो भने तत्काल सर्वसाधारणलाई सूचना दिने गरिन्छ । तर, नेपालमा अझै यस्तो अभ्यास हुन सकेको छैन । त्यस्तै आन्तरिक रूपमा अन्य क्षेत्रभन्दा पारदर्शी र संरचनात्मक प्रणालीको विकास भए पनि नेपालका बैंक तथा वित्तीय संस्था विकसित मुलुकका वित्तीय संस्थाहरूको तुलनामा पारदर्शी छैनन् । प्रविधिको उच्चतम लाभ लिन नसकेको अवस्था छ जसले गर्दा वाणिज्य बैंकहरूप्रति आशंका गरिएको होला । अहिलेको मुख्य समस्या लाइसेन्स प्रक्रिया अघि बढाएको लामो समय भइसक्दा पनि त्यस्तो प्रक्रियामा कुनै निर्णय हुन नसक्नु हो । वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजार र समग्र लगानीकर्ताको हितमा हुन्छ भने ढिला गर्नुको कुनै अर्थ छैन । साथै, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा थप समस्या आउँछ भने उनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने होइन । त्यसैले जतिसक्दो चाँडो प्रक्रिया अघि बढेको बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने वा नदिनेबारेको विवाद टुंगिनुपर्छ । निर्णयमा अलमल हुँदा यसले ब्रोकर लाइसेन्स लिन खोज्नेलाई मात्र नभई समग्र पूँजी बजार नै अन्योलमा परेको देखिन्छ । कुनै पनि देशको अर्थतन्त्र सबल हुन जसरी नीति, नियममा स्थायित्व आवश्यक हुन्छ, त्यसरी नै सरकारी तवरबाट हुने निर्णयमा पनि अलमल हुनु हुँदैन । यति मात्र नभई वर्षौंदेखि कमोडिटिज एक्सचेन्जको पनि छिनोफानो हुन सकेको छैन । यसको पनि प्रक्रिया अघि बढेर बीचमै रोकिएको छ । नेपाल विकासको क्रममा अघि बढ्दै गरेकाले पूँजी बजारको विस्तार हुने सम्भावना निकै छ । तर, सरकारी निकायबाट बेलाबेला हुने सानातिना लापरबाहीले यसको विकासमा अवरोध सृजना हुने गरेको छ । विगतका पाठ सिकेर कम्तीमा अब सरकारी निकायले गर्ने निर्णय छिटोछरितो, पारदर्शी र पूँजीबजारको हित गर्ने खालको हुनुपर्छ । यसका लागि सबैभन्दा पहिला कुन काम गर्ने र नगर्ने भन्ने प्रष्ट हुनुपर्छ । अहिले देखिएको अन्योल यही विषयमा प्रष्ट हुन नसक्नुको उपज हो ।

सम्बन्धित सामग्री

नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा

काठमाडौं। २०७९ असोज २ गतेदेखि शुरू भएको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बोर्डले गतवर्ष असोज २ गते नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । असोज ३१ गतेसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ ओटा आवेदन प्राप्त गरेको थियो । यो प्रक्रिया शुरू भएको १ वर्ष बितिसक्दा अझै ६ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्सको अन्तिम प्रतीक्षामा पहिलो तहको सीमित कार्य गर्ने पूँजी भएका ६ कम्पनी छन् । २८ करोड ५० लाख चुक्ता पूँजी भएको सिजी इन्भेस्टमेन्ट सेक्युरिटिज र २० करोड चुक्ता पूँजी भएका म्याग्नेट सेक्युरिटिज, सनराइज सेक्युरिटिज, एप्पल सेक्युरिटिज, प्रभु स्टक मार्केट र ट्रेडमो सेक्युरिटिजले बोर्डबाट आशयपत्र प्राप्त गरेपछि प्राविधिक व्यवस्थापनपछिको अन्तिम लाइसेन्स प्राप्त गर्न बाँकी  रहेको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले सञ्चालक समिति बैठक बस्न नसक्दा बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया अघि नबढेको जानकारी दिए । अब बस्ने बोर्ड सञ्चालक समिति बैठकले प्रक्रिया पूरा गरी निवेदन दिएका कम्पनीहरूको लाइसेन्स स्वीकृत गर्ने हमालको भनाइ छ । ब्रोकर लाइसेन्स वितरणका सम्बन्धमा परेका मुद्दाका कारण वर्ष दिनसम्म पनि प्रक्रिया पूरा हुन नसकेकोमा हमालले दु:ख व्यक्त गरेका छन् । बजारका लागि महत्त्वपूर्ण अंगका रूपमा रहेका ब्रोकरको संख्या बढ्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यो प्रक्रियालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने पक्षमा हमाल छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरीक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ । बाँकी कम्पनीहरूसमेत सोही प्रक्रियाबमोजिम लाइसेन्स पाउने लाइनमा रहेको अध्यक्ष हमालले जानकारी दिएका छन् । ् तथ्यांकमा नयाँ ब्रोकर लाइसेन्स कुल आवेदन : ४६ छनोटमा नपरेका कम्पनी : ३ आशयपत्र पाउने कम्पनी : ४३ हालसम्म लाइसेन्स वितरण : ३७ प्रतीक्षारत कम्पनी : ६ नेप्सेको सदस्यता लिने : २८ कारोबार शुरू गरिसकेका : २६ नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४६ कम्पनीमध्ये ४३ लाई बोर्डले आशयपत्र प्रदान गरेको थियो । आवेदन दिएका ४६ कम्पनीमध्ये तीन कम्पनी छनोटमा परेनन् । सीमित कार्य गर्ने गरी आवेदन दिएको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको र सेञ्चुरी स्टक ब्रोकरले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । त्यस्तै अर्को कम्पनी एनआईसी एशिया सेक्युरिटिज भने आशयपत्र प्राप्त गर्ने अवधिसम्म खारेज भइसकेको बोर्डले जानकारी दिएको छ । बोर्डले विभिन्न चरणमा गरी हालसम्म ३७ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डबाट पहिलो चरणमा ७, दोस्रो चरणमा ११, तेस्रो चरणमा ११, चौथो चरणमा ३ र पाँचौं चरणमा ५ कम्पनीले ब्रोकर लाइसेन्स पाएका हुन् ।  बोर्डबाट लाइसेन्स प्राप्त गरिसकेपछि पनि कम्पनीहरूले धितोपत्र दोस्रो बजार सञ्चालक (नेप्से) को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ । नेप्सेले सदस्यता प्रदान गरेपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्नेछ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले आवश्यक सम्झौता गरी त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले ‘गो लाइभ’को पत्र प्रदान गर्छ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यतासमेत लिनुपर्ने हुन्छ । बोर्डबाट लाइसेन्स प्राप्त गरेका २८ कम्पनीले नेप्सेको सदस्यता लिइसकेका छन् । नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालका अनुसार सदस्यता प्राप्त गरेको २८ कम्पनीमध्ये २६ ओटाले धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू गरिसकेका छन् । सदस्यता लिन बाँकी केही कम्पनीले आवेदन पेश गरिसकेको र आगामी साता ती कम्पनीलाई पनि सदस्यता दिने तयारी रहेको दाहालले जानकारी दिएका छन् ।  नेपाल धितोपत्र बोर्डले ३ वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नपाउने व्यवस्थाबमोजिम पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले हालसम्म एक धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ३३ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स प्रदान गरेको हो ।

वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा

काठमाडौं। गत वैशाखमै ब्रोकर लाइसेन्सको लागि आशयपत्र पाएका २५ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ । बोर्डले दुई चरणमा गरी १८ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । उसले पहिलो चरणमा जेठ ८ गते ७ र दोस्रो चरणमा जेठ २२ गते ११ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको थियो ।  आशयपत्र पाएर पनि ब्रोकर लाइसेन्स पाउन बाँकी २५ कम्पनीमध्ये दुई कम्पनी ६० करोड रुपैयाँ पूँजी भएको पूर्ण कार्य गर्ने दोस्रो तहको सेवा प्रदान गर्ने सनी सेक्युरिटिज कम्पनी लिमिटेड र हिमालयन सेक्युरिटिज लिमिटेड हुन् । बाँकी २४ कम्पनी २० करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको पहिलो तहको सीमित कार्य गर्ने ब्रोकर हुन् । ६० करोड रुपैयाँ पूँजी तोकिएको पूर्ण कार्य गर्ने दोस्रो तह अन्तर्गतको कम्पनीले शेयर खरीदविक्रीसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिनेछ । लाइसेन्स पाउन बाँकी कतिपय कम्पनीको पूर्वाधार निरीक्षण सम्पन्न भइरहेको र कतिपयको जारी रहेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिएका छन् । कम्पनीहरूले पूर्वाधार तयार गरेको बोर्डलाई जानकारी गराएपछि बोर्डले स्थलगत निरीक्षण गर्ने व्यवस्था रहेको भनाइ देवकोटाको छ । बोर्डले ३० दिनभित्र ती कम्पनीको पूर्वाधार निरीक्षण गरी पर्याप्त व्यवस्था देखिए लाइसेन्स वितरण गर्ने भएकाले यो प्रक्रिया पूरा गरिसकेका केही कम्पनी लाइसेन्स पाउने अन्तिम चरणमा रहेको समेत उनले बताए । देवकोटाका अनुसार यसै साताभित्र बस्ने बोर्डको बैठकले ती कम्पनीको लाइसेन्स टुंगो लगाउनेछ ।  बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि गत असोज २ देखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि करीब ६ महीना बोर्ड अदालती प्रक्रियामा अलमलियो । बोर्डले संख्या नतोकी ब्रोकर, एक स्टक एक्सचेन्ज र दुई कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि एकै दिन आवेदन माग गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको दुई रिट सर्वोच्चले खारेज गरेपछि बोर्डले रोकिएको प्रक्रिया अघि बढाएको थियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया भने मन्त्रिपरिषद्को निर्देशनमा रोकिएको छ । कमोडिटी एक्सचेन्जको लाइसेन्सचाहिँ वितरण गर्ने तयारी भइरहेको बोर्डको भनाइ छ ।  बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका ७ ब्रोकर कम्पनीले भने नेप्सेको सदस्यता र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को राफसाफ सदस्यतासमेत पाइसकेका छन् । यी कम्पनीले असारभित्रै कारोबार शुरू गर्ने तयारीस्वरूप परीक्षण कारोबार गरिरहेका छन् । बोर्डबाट लाइसेन्स पाएका थप ११ कम्पनीले पनि नेप्से सदस्यताको आशयपत्र पाइसकेका छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य कम्पनी छन् । पूँजीका हिसाबमा बलिया नयाँ ब्रोकर कम्पनीहरू जति छिटो बजारमा प्रवेश गरे उति नै धितोपत्र बजारमा नयाँ आयाम थपिने अपेक्षा सरोकारवालाको छ ।

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

स्थगित भएको नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन अर्थ समितिले निर्देशन दिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकले धितोपत्र बोर्डलाई लाइसेन्स प्रक्रियामा जिम्मेवार भएर अर्थ मन्त्रालयमार्फत अघि बढाउन निर्देशन दिएको...

सात कम्पनीले पाए  ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।  जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमश: निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले स्पष्ट पारेका छन् ।  सात कम्पनी सबैले चुक्ता पूँजीका आधारमा सीमित कार्य गर्ने अनुमति पाएका हुन् । मंगलवार एक कार्यक्रम गरी बोर्डका अध्यक्ष रमेशकुमार हमालले ती कम्पनीलाई लाइसेन्सको प्रमाणपत्र वितरण गरेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर किनबेचसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।  गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्दा ४६ कम्पनीले दिएका थिए । ४६ मध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीका लागि थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको, एक कम्पनी खारेज भइसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको बोर्डले जानकारी दिएको छ । बोर्डले सीमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको बताएको छ । त्यस्तै सीमित कार्य गर्ने गरी आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज कम्पनी नै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । यस आधारमा बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्था रहेको बताएको छ ।  पूँजीका हिसाबमा बलिया कम्पनीलाई बजारमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाएका कम्पनीहरूले चालू आर्थिक वर्षभित्रै सेवा शुरू गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब नेपाल स्टक एक्सचेन्जसँग सदस्यता लिएर यसै आवभित्र सेवा शुरू गर्ने जानकारी दिए । उनले नेप्सेकै विद्युतीय कारोबार प्रणाली प्रयोग गर्ने भएकाले नेप्सेले छोटो समयमै कारोबार गर्ने वातावरण बनाइदिए जेठभित्रै सेवा शुरू गर्न सकिने बताए । सीमित कार्य गर्ने ब्रोकरको रूपमा लाइसेन्स पाएकाले सोही बमोजिम लगानीकर्तालाई प्रभावकारी एवं गुणस्तरीय सेवा दिने गिरीको भनाइ छ ।

वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई धितोपत्र बोर्डले दियो ब्रोकर लाइसेन्स

काठमाडौं, ४जेठ।नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी(ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ। बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य ३१ संस्थालाई एलओआई प्रदान गरेको हो। बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौ संशोधन गरी नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्ला गरेको थियो। यसको लागि ४६ कम्पनीले आवेदन दिएका थिए।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको कार्य अगाडी नबढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको छ। सर्वोच्चका न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको हो। साथै अदालतले निवेदकको माग बमोजिम आन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले हालको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए ।धितोपत्र बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन दिने म्याद अझै केही दिन बाँकि रहेको छ भने ब्रोकर लाइसेन्सको लागि आवेदन दिने म्याद सकिएको छ। ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन् । स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि भने कार्तिक १५ गतेसम्म आवेदन दिन सकिने छ ।बोर्डले निजी लगानीको स्टकको लाइसेन्स दिनको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जसअनुसार नयाँ खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो ।

ब्रोकर लाइसेन्सको प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी

धितोपत्र (सेयर) लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सको नयाँ आवेदन अबिलम्ब खुल्ला गर्न सरकारसँग माग गरेका छन् । नियामक धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्सको प्रस्ताव स्वीकृत भइसकेर मन्त्रिपरिषद्मा पुगेको तर त्यहाँ त्यतिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । मंगलबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सेयर लगानीकर्ता एकता समितिले ब्रोकर लाइसेन्सको निर्णय गर्न सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभए ५३ ला

बैंकका सहायक कम्पनीलाई शर्तसहित ब्रोकर लाइसेन्स, १ अर्ब पुँजी !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई शर्तसहित ब्रोकर लाइसेन्स दिने तयारी गरेको छ । बोर्डले ब्रोकर लाइसेन्सको नियमावली संशोधनका लागि बनाएको समितिले बैंकका सहायक कम्पनीलाई ब्रोरक लाइसेन्स दिनेगरी मस्यौदा तयार गरेको हो । स्रोतका अनुसार ब्रोकरको कार्य अनुसार न्यूनतम १० करोडदेखि १ अर्बसम्म पुँजी प्रस्ताव गरिएको छ । बोर्डले...