वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा

काठमाडौं। गत वैशाखमै ब्रोकर लाइसेन्सको लागि आशयपत्र पाएका २५ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ । बोर्डले दुई चरणमा गरी १८ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । उसले पहिलो चरणमा जेठ ८ गते ७ र दोस्रो चरणमा जेठ २२ गते ११ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको थियो ।  आशयपत्र पाएर पनि ब्रोकर लाइसेन्स पाउन बाँकी २५ कम्पनीमध्ये दुई कम्पनी ६० करोड रुपैयाँ पूँजी भएको पूर्ण कार्य गर्ने दोस्रो तहको सेवा प्रदान गर्ने सनी सेक्युरिटिज कम्पनी लिमिटेड र हिमालयन सेक्युरिटिज लिमिटेड हुन् । बाँकी २४ कम्पनी २० करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको पहिलो तहको सीमित कार्य गर्ने ब्रोकर हुन् । ६० करोड रुपैयाँ पूँजी तोकिएको पूर्ण कार्य गर्ने दोस्रो तह अन्तर्गतको कम्पनीले शेयर खरीदविक्रीसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिनेछ । लाइसेन्स पाउन बाँकी कतिपय कम्पनीको पूर्वाधार निरीक्षण सम्पन्न भइरहेको र कतिपयको जारी रहेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिएका छन् । कम्पनीहरूले पूर्वाधार तयार गरेको बोर्डलाई जानकारी गराएपछि बोर्डले स्थलगत निरीक्षण गर्ने व्यवस्था रहेको भनाइ देवकोटाको छ । बोर्डले ३० दिनभित्र ती कम्पनीको पूर्वाधार निरीक्षण गरी पर्याप्त व्यवस्था देखिए लाइसेन्स वितरण गर्ने भएकाले यो प्रक्रिया पूरा गरिसकेका केही कम्पनी लाइसेन्स पाउने अन्तिम चरणमा रहेको समेत उनले बताए । देवकोटाका अनुसार यसै साताभित्र बस्ने बोर्डको बैठकले ती कम्पनीको लाइसेन्स टुंगो लगाउनेछ ।  बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि गत असोज २ देखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि करीब ६ महीना बोर्ड अदालती प्रक्रियामा अलमलियो । बोर्डले संख्या नतोकी ब्रोकर, एक स्टक एक्सचेन्ज र दुई कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि एकै दिन आवेदन माग गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको दुई रिट सर्वोच्चले खारेज गरेपछि बोर्डले रोकिएको प्रक्रिया अघि बढाएको थियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया भने मन्त्रिपरिषद्को निर्देशनमा रोकिएको छ । कमोडिटी एक्सचेन्जको लाइसेन्सचाहिँ वितरण गर्ने तयारी भइरहेको बोर्डको भनाइ छ ।  बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका ७ ब्रोकर कम्पनीले भने नेप्सेको सदस्यता र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को राफसाफ सदस्यतासमेत पाइसकेका छन् । यी कम्पनीले असारभित्रै कारोबार शुरू गर्ने तयारीस्वरूप परीक्षण कारोबार गरिरहेका छन् । बोर्डबाट लाइसेन्स पाएका थप ११ कम्पनीले पनि नेप्से सदस्यताको आशयपत्र पाइसकेका छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य कम्पनी छन् । पूँजीका हिसाबमा बलिया नयाँ ब्रोकर कम्पनीहरू जति छिटो बजारमा प्रवेश गरे उति नै धितोपत्र बजारमा नयाँ आयाम थपिने अपेक्षा सरोकारवालाको छ ।

सम्बन्धित सामग्री

थप ७ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता, ३ ओटा अझै पर्खाइमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गरेका ११ कम्पनीहरूमध्ये १० कम्पनीलाई आशयपत्र प्रदान गरेको नेप्सेले तीमध्ये ७ कम्पनीलाई आज सदस्यता प्रदान गरेको हो । नेप्सेले १० कम्पनीलाई असार १५ गते आशयपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।  बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गर्ने ११ कम्पनीमध्ये के.वि.एल सेक्यूरिटिज लिमिटेडले भने पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताको लागि आवेदन दिएको छैन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले दिएको जानकारी अनुसार सदस्यता पाउने थप कम्पनीहरूमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज र कलश स्टक मार्केट छन् । यी कम्पनीहरूसँगै आशयपत्र प्राप्त गरेका नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिज भने सदस्यताको पखाईमै छन् । प्रमुख कार्यकारी अधिकृत कार्कीका अनुसार यी कम्पनीहरूले आवश्यक काजगात पूरा गर्न बाँकी छ ।   नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर छ भने मेगा स्टक मार्केट ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी छ । माछापुच्छ्रे सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्ता पूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी छ । नेप्सेको सदस्यता पाउने थप सात कम्पनी पनि पहिलो तहको सीमित कार्य गर्ने कम्पनीहरू छन् । यसअघि ६७ नम्बरसम्म ब्रोकर सदस्यता वितरण गरिसकेको नेप्सेले ६८ नम्बरमा एटिल स्टक हाउस लिमिटेड, ६९ नम्बरमा इन्डेक्स सेक्युरिटिज, ७० नम्बरमा इन्फिनिटी सेक्युरिटिज लिमिटेड, ७१ नम्बरमा शुभकामना सेक्युरिटिज, ७२ नम्बरमा हातेमालो फाइनान्सियल सर्भिसेस, ७३ नम्बरमा मनि वर्ल्ड शेयर एक्सचेन्च र ७४ नम्बरको कलस स्टक मार्केटलाई सदस्यता प्रदान गरेको छ ।  यसअघि पनि नेप्सेले पहिलो तहको सीमित कार्य गर्ने ७ कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । ती कम्पनीहरूले भने असारदेखि नै धितोपत्र बजारमा प्रवेश गरी कारोबार शुरू गरिसकेका छन् । हालसम्म नेपाल धितोपत्र बोर्डले तीन चरणमा २९ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डको लाइसेन्सप्राप्त गरेका सबै कम्पनीहरूले नेप्सेको समेत सदस्यता लिनुपर्ने हुन्छ । नेप्सेको सदस्यता प्राप्त गरेपछि यी कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीहरूले आवश्यक सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अबरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र प्रदान गर्नेछ । राफसाफका लागि समेत नयाँ ब्रोकर कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पनि सदस्यता लिनुपर्ने व्यवस्था छ ।