काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड सञ्चालनमा ल्याउने भएको छ । क्यापिटलले एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ । क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।
सो फण्डको इकाईका लागि माघ २ देखि आवेदन दिन सकिनेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ।
एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सम्पूर्ण इकाईका लागि आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तिमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । १२ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।