स्वस्थानी व्रतकथा नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको छ । पौराणिक कथा स्वस्थानीमा तत्कालीन समयको ग्रामीण सामाजिक परिपाटीको प्रत्यक्षीभूत उठान गरिएको छ । समाजमा रहेका सामाजिक उत्पीडनलाई कथाका माध्यमबाट मुखरित गरिएको छ । यतिखेर स्वस्थानी समयसापेक्ष नरहेको आवाज पनि उठ्न थालेको छ । तर, स्वस्थानी कथाले केही दशकअघिसम्म समाजमा साक्षरता अभिवृद्धि गर्न ज्यादै नै ठूलो भूमिका खेलेको थियो । समाजमा स्वस्थानी पढ्न सक्ने व्यक्ति भनेर मानक नै कायम गरिन्थ्यो । कतै–कतै ग्रामीण परिवेशमा आज पनि यो मापदण्डको पुनरावृत्ति सुन्न सकिन्छ । विशेषगरी साँवा अक्षर चिन्ने महिलाले स्वस्थानी व्रत अवधिमा व्रतकथा पढ्ने हुनाले सजिलैसँग चिट्ठीपत्र पढ्न र लेख्न सक्ने, सामान्य पाठ पढ्ने र नाम लेख्न सक्ने हुन्थे । तर, सञ्चारका साधन र पाठ्यसामग्रीको विविधताले पनि अहिले परम्परागत साक्षरताको अध्याय समाप्त भइसकेको छ ।
यसैगरी, स्वस्थानी व्रतकथामा वर्णित पौषशुक्ल पूर्णिमामा हातगोडाका नङहरू काटी, एकचित्त भई, शुद्धसँग व्रत विधिको पालना गर्दै.... आदि जस्ता नियमले सरसफाइलाई विशेष जोड दिएको छ । माघ महिनामा ठण्डा जलले नुहाएर व्रत बस्ने, मध्याह्नमा नदीकिनारमा शिवशक्ति पूजनले शास्त्रीय मान्यताको हठयोग र सिर्जनको पूजालाई सङ्केत गर्छ । प्रकृति र पुरुष एक–अर्काका पूरक हुन् भन्ने रहस्यलाई पनि स्वस्थानी कथाले सौम्य चित्रण गरेको छ । समाजमा रहेका उच्छृृङ्खल क्रियाकलापलाई नियन्त्रित गर्दै एकाग्रता र विधिको पालना गरेर आफ्नो सत्मा बस्दा असम्भव कुरा पनि पूरा हुने वर्णन छ । स्वस्थानमा बसेर वातावरण र शरीरलाई सफा राखेर संयम चित्तमा बसेर परम तत्वको चिन्तन गर्दा मान्छेमा सकारात्मक ऊर्जाको विकास हुन्छ र समाज पनि सकारात्मक दिशातर्फ उन्मुख हुन्छ ।