राष्ट्रिय खेलकुद परिषद (राखेप) अहिले कमजोर बनेको छ । अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति हेरफेरको किचलो देउवा सरकारले सुरु गरेपछि राखेपमा तनाव उत्पन्न भएको छ ।अहिलेको सरकारमा युवा तथा खेलकुद मन्त्रालय माओवादीको भागमा छ । महेश्वरजंग गहतराजले यो मन्त्रालय सम्हालेका छन् । तर, अदालतको आदेश समेत न मन्त्रीले मानेका छन्, न उनले नियुक्त गरेका राखेपका सदस्य सचिवलाई मनाउन नै खोजेका छन् ।युवा तथा खेलकुदमन्त्री गहतराजले कार्तिक १ गते राखेपका सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरे । त्यसपछि मंसिर १३ गते रामेछापका माओवादी नेता टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गरे ।उता सिलवाल अदालत गए । सर्वोच्च अदालतले मंसिर २९ गते सिलवाललाई पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दियो । तर, टंकलाल घिसिङले सदस्य सचिव छोडेनन् । रोचक कुरा त के छ भने, अदालतले आदेश दिएको करिब ४ महिना हुँदा पनि अवहेलना हुने गरी अहिले पनि उनी राखेपको कार्यालयमा उपस्थित हुने गरेका छन् ।अदालतले आदेश दिएपछि हाँजिर गर्न गएका सिलवाललाई माओवादीका कार्यकर्ताले त्यतिबेला हाँजिर गर्नै दिएका थिएनन् । अदालतबाट पुनर्बहाली पाएका सिलवाल पनि कार्यालय नजाने कुरा आएन । त्यसकारण राखेपमा अहिले दुई जना सदस्यसचिव कार्यालयमा उपस्थित हुने गरेका छन् ।