जनकराज पौडेल
वर्षौं जेल बस्यौं भन्यौ
स्वतन्त्रताका लागि
झुट्टा मुद्दा खेप्यौं भन्यौ
गणतन्त्रको निम्ति
भरोसा मान्यौं
जनता साथ दियौं
ज्यानको बाजी लगायौं
अपाङ्ग भयौं
हजारौँ सहिद भए
लाखौँ घरवारविहीन
तर पनि खुसी भयौँ
किनकि देशमा गणतन्त्र आयो
सयौँ वर्षपछि स्वतन्त्रता छायो
पिजडाको चरी मुक्त भयो ।
देश कायापटल बनाउछु भन्यौ
सुख र समृद्धिका सपना बाड्यौ
सत्तामा पुराइदियौँ
तर हामी के पायौँ ?
बरु तिमी आज
शक्तिले तिमीलाई भ्रष्ट बनायो कि ?
तिमीभित्रको कपट छरप्रष्ट भयो कि ?
जेको निम्ति वर्षौं लड्नुपर्या थियो
ती प्राप्त भएपछि
संरक्षणको जिम्मा दिएको थियो
तिमी नै कुल्चिदै गयौ
अपहरण मात्र होइन
घाँटी नै रेट्न पुग्यौ
विश्वास मान्नेहरू
सन्तान आगमनका निम्ति
पूर्णिमाको ब्रस्ने बस्ने गर्दथे
तर भएका सन्तान नामेट गर्दै
ब्रत बसेको देखिएको थिएन
तर यहाँ उल्टो देखिँदै छ
आज तिनीहरू पनि दङ्ग छन् होला
त्यसैले तिम्रो निर्लज्जताको पराकाष्ठा भयो ।
देशको शान्ति भङ्ग गर्दै
विश्व शान्तिको कामना गर्छौ
निर्लज्जताको पनि हद हुन्छ होला
मठमन्दिर धाउँदै हिड्छौ
जनताका अधिकारमा भोटेचाल्चा मारी
स्वतन्त्रता र जनादेशका कुरा गर्छौ
स्वतन्त्रता र जनादेश ध्वस्त पार्ने तिमी
अब फेरि कस्तो जनादेश खोज्या हो ?
अभिभावकत्व बोध गर्न नसक्नेले
कति फुर्ति गर्न सक्या हो ?
निर्लज्जता पनि हैरान छ आज
कति पीडा दिन सक्या हो ?
सब बकबास बन्द गर
निर्लज्जताको पराकाष्ठा भयो ।