माघ १४, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले यस वर्षको कर समेत ७ दशमलव ५ नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले माघ ५ गतेदेखि नै उक्त नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुरु गरेको हो । कम्पनीको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथाशिघ्र गराउने समेत कम्पनीले भनेको छ ।
कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । यसवर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै कम्पनीले जम्मा गर्नेछ । कम्पनीको रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रयोजनका लागि भने पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् ।
यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्था छ । आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।