काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पुस २० गते पारित गरेको नगद लाभांश वितरण गर्न शुरू गरेको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । पुस २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गर्न थालिएको जानकारी दिँदै कम्पनीले आफ्नो खातामा लाभांश जम्मा भए/नभएको यकिन गर्न सदस्यहरूलाई भनेको छ ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो शेयर अद्यावधिक नगराएका तथा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र शेयर एवं बैंक खाता अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।
पुस ५ गतेभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा सुविधा उपभोग गरेका सदस्यहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त गरेपछि मात्र बैंक खातामा जम्मा गरिने जानकारीसमेत कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।