नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

पुस ४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने कम्पनीले सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुुरु गरेको हो ।  कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक  खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदैं जाने बताएको छ ।  हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।