यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न अनुरोध गरेका छन् । आज शुक्रबार रातीबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने निर्देशन जारी भएपछि यातायात व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका हुन् ।शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवालासँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा आयोजना गरेको छलफलमा व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको भन्दै यसले गाडीमा झन भीड बढ्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्नु नै बुद्धिमानी हुने बताएका छन् । उनले सार्वजनिक सवारीलाई अंकुश लगाउनुको सट्टा निजी सवारी साधनलाई रोक्नुपर्ने सुझाव पनि दिएका छन् ।