काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि विक्री खुला गरेको एनआईसी एशिया ग्रोथ फण्ड -२ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । फण्डको इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिभन्दा अगाडि पूर्ण आवेदन परेमा पूर्वसूचना दिई कुनै पनि दिन निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो ।
निष्कासन गरिएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गरेको हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । र, न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।