अहिले नेपालमा बिदा मनाउन ट्रेकिङ जानेको संख्या बढ्दो छ । महिनाको एकपटक ट्रेकिङ जाने परम्परा विकास हुँदै छ । यसरी ट्रेकिङ जानेमा आन्तरिक तथा बाह्य पर्यटकहरू हुन्छन् । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ ।...
सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर पदयात्रा सूचना व्यवस्थापन प्रणाली प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९ लागू गरेको छ । यी रूटमा जानुअघि पदयात्रीले अधिकतम २ हजार शुल्क तिरेर अनुमतिपत्र लिनुपर्नेछ । पर्यटक हराउँदा खोज्न यसले सहयोग गर्नेछ भने सरकारले प्राप्त गर्ने राजस्व पनि बढ्नेछ । साथै, यो व्यवस्थाले पर्यटकलाई आर्थिक भार थपिनेछ भने आफूखुशी पदयात्राको बाटोमा हिँड्ने उनीहरूको स्वतन्त्रता खोसिनेछ । एउटा निश्चित मार्ग भएर पदयात्रा गराउँदा त्यसले पदयात्रीको खोजी र उद्धार गर्नुपर्ने अवस्थामा भने निकै सहयोग पुर्याउने देखिन्छ ।
यसरी टिम्स कार्डबाट संकलित रकममध्ये ३० प्रतिशत नेपाल पर्यटन बोर्ड, २० प्रतिशत ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान), ३० प्रतिशत बोर्ड र टानको संयुक्त खातामा रहने तथा बाँकी १० प्रतिशत मजदूर कोषमा जाने व्यवस्था विगतमा राखिएको थियो । तर, टिम्स कार्डको हिसाब नराखिएको, बोर्डले टानलाई उसको अंशको रकम नदिएको, कतिपय गाउँपालिकाहरूले टिम्सलाई मान्यता नदिई आफ्नो क्षेत्रमा आफै पैसा उठाएको जस्ता समस्या विगतमा आएका थिए । त्यसैले केही नयाँ प्रावधानसहित यो मापदण्ड लागू भएको छ । नयाँ व्यवस्थासँगै सबै पदयात्रीहरूले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा लिनुपर्छ । यो नयाँ व्यवस्थाले कुनै पदयात्री कतै दुर्घटनामा परे सहयोग गर्न सहज हुनेछ । त्यस्तै मुलुकमा रहेका हजारौं गाइडमध्ये केहीले रोजगारी पाउनेछन् ।
टिम्स कार्ड लागू भएपछि पदयात्रीले तिर्ने रकमका बारेमा विगतमा विवाद भएको थियो । अब त्यो विवादको समाधान कसरी गर्ने भन्ने कुरा स्पष्ट देखिँदैन । गाइड लिएर जाने नियम पालना नभएको अवस्थामा रू १२ हजार जरीवाना गर्ने प्रावधान राखिएको छ । पदयात्री माथि आर्थिक भार थपेपछि त्यसवापत उनीहरूले थप सुविधा के पाउँछन् भन्ने पनि महत्त्वपूर्ण हुन्छ । पदयात्रा मार्गका बेथितिलाई सम्बोधन नगर्ने तर शुल्क अनिवार्य गर्ने हो भने पदयात्री पर्यटक अन्य मुलुकतिर मोडिने सम्भावना छ जसतर्फ ध्यान जानुपर्छ ।
काठमाडौं । नेपालमा पदयात्रा तथा ट्रेकिङका लागि आउने पर्यटकहरू अब एक्लै गन्तव्यमा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी) बन्द गर्ने निर्णय गरेसँगै पर्यटकले अब ट्रेकिङमा जाँदा पथप्रदर्शक (गाइड) अनिवार्य रूपमा लैजानुपर्ने भएको हो ।
बोर्डले १ अप्रिल (चैत १८ गते)देखि एफआईटी बन्द गर्दै छ । बोर्डले ‘नेपाल पर्यटन ऐन–२०५३’ र ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०६६’ संशोधन गर्दै गाइड अनिवार्य रूपमा लैजानुपर्ने व्यवस्था गरेको हो । शुक्रवारको यो निर्णयसँगै पदयात्रामा जाने विदेशीले अब ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा जानुपर्ने हुन्छ । साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यस्तो निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए ।
उनका अनुसार पदयात्रामा जाने पर्यटक र गाइड दुवैको बीमासमेत गरिनेछ । अहिले पदयात्रामा जाने पर्यटकले ‘पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)’ कार्ड लिएर एक्लै भ्रमणमा जान गरेका छन् । तर, यसरी जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने समस्या देखिएपछि बोर्डले पदयात्रामा जानेलाई एक्लै जान रोक लगाउने निर्णय गरेको हो । ‘यस विषयमा पहिलेदेखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्ने नै थियो,’ उनले भने ।
टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष खेमबहादुर सुवेदीले बोर्डले राम्रो निर्णय गरेको भन्दै कार्यान्वयनमा जोड दिए । उनले यो निर्णयले रोजगारी बढाउनुका साथै पर्यटकको सुरक्षामा पनि उत्तिकै महत्त्व दिने भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार नेपालमा हाल ट्रेकिङ कम्पनीको संख्या २ हजारभन्दा बढी छ ।
बोर्डको यो निर्णय कार्यान्वयनमा आउँदा नेपालमा ट्रेकिङ गाडडको रोजगारीका साथै आयसमेत बढ्ने उल्लेख गरिएको छ । बोर्डको तथ्यांकअनुसार नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ पर्यटक ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रूपमा आउने गरेका छन् । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे ।
बोर्डका अनुसार अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको शुल्क प्रतिव्यक्ति २ हजार रुपैयाँ हुनेछ । सार्क देशका नागरिकको हकमा यसअघि २०० रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्नेछ । युनिट्राभल्सका अध्यक्ष सुमनप्रसाद पराजुलीले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतीय पर्यटनको सुरक्षा चासोसमेत सम्बोधन हुने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन तथ्यांक–२०२१ अनुसार नेपालमा बिदा मनाउने आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । त्यसपछि साहसिक पर्यटनका लागि अर्थात् ट्रेकिङ र पर्वतारोहणका लागि आउने पर्यटकको संख्या छ । उक्त तथ्यांकअनुसार कोभिडपूर्वको वर्ष सन् २०१९ मा टे«किङका लागि आउने पर्यटकको संख्या कुल १ लाख ९७ हजार ७८६ थियो । सन् २०२१ मा भने यो संख्या १५ हजार ५४९ थियो ।
उद्योग र अर्थतन्त्र एकअर्कामा परिपूरक हुन् । जुन देशको उद्योग फस्टाएको हुन्छ त्यो देशको अर्थतन्त्र पनि बलियो हुन्छ । उद्योगको विकास र विस्तारले रोजगारी वृद्धि गर्छ भने उत्पादनसमेत बढाउँछ । बढ्दो बेरोजगारीको समस्यालाई समाधान गर्न पनि उद्योगको आवश्यकता हुन्छ । उद्योगको विकासले गर्दा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ त्यसैले उद्योग नै अर्थतन्त्रको मेरूदण्ड हो ।
हाम्रो देशमा पनि विभिन्न प्रकारका स्रोत र साधन उपलब्ध छन् । तिनको उपयोग गरी विभिन्न वस्तुको उत्पादन गर्न सकिन्छ । हालसम्म भएका विभिन्न उद्योगलाई वर्गीकरण गरी तिनको महत्त्वलाई स्पष्ट पार्न सकिन्छ । उत्पादनमूलक उद्योगअन्तर्गत कोरा वस्तु वा अर्धप्रशोधित वस्तु वा खेर गइरहेको मालसामानको उपयोग वा प्रशोधन गरी उपयोगी सामानको निर्माण गर्ने व्यवसायहरू पर्छन् । धूपबत्ती उद्योग, चुरोट उद्योग, माटाका भाडा बनाउने उद्योग आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । ऊर्जामूलक उद्योगअन्तर्गत ऊर्जा उत्पादनसँग सम्बद्ध कार्यहरू तथा तिनको सञ्चालन गर्ने तरीकाहरू पर्छन् । बायोग्यास, सौर्यशक्ति, वायुऊर्जासम्बन्धी कार्य, जल उत्पादन आदिलाई यसअन्तर्गत लिइन्छ ।
कृषि तथा वनजन्य उद्योग अन्तर्गत कृषि तथा वन सम्पदामा आधारित उद्योग व्यवसायहरू रहन्छन् । रेसम उत्पादन, फलफूल प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारी प्रशोधन, मह उत्पादन, कफीखेती तथा प्रशोधन, चिया उत्पादन आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । खनिज उद्योग अन्तर्गत खोजी उत्खनन तथा खनिज सम्पदाको प्रशोधन र तिनमा आधारित उद्योग व्यवसायहरू पर्छन् । धातुका भाँडावर्तन उद्योग, खुकुरी, हँसिया उत्पादन आदिलाई लिन सकिन्छ । पर्यटन उद्योगअन्तर्गत पर्यटन व्यवसायलाई सहयोग पुग्ने सबै व्यवसायलाई राखिन्छ । पर्यटन आवास, होटेल, मोटेल, रेस्टुराँ, रिसर्ट, पर्यटन क्षेत्रका यातायात, ट्रेकिङ व्यवसाय, हट एयर बेलुन आदि यसका उदाहरणमा पर्छन् ।
सेवा उद्योग भित्र सेवासम्बन्धी व्यवसायलाई टेवा पुग्ने सबै व्यवसायलाई राखिन्छ । छापाखाना, परामर्श सेवा, निर्माण व्यवसाय, परिवहन, अस्पताल, शिक्षण संस्था, प्रशिक्षण संस्थान आदिलाई यसमा समेटिन्छ । निर्माण उद्योग अन्तर्गत विभिन्न खालका निर्माण कार्य पर्छन् । सडक, पुल, भवन आदिको निर्माण तथा मर्मतसम्बन्धी कार्यलाई यसमा राखिन्छ । आजको हाम्रो वास्तविकतालाई हेर्ने हो भने न्यून उत्पादकत्वको अवस्थामा मात्र उद्योगहरू चलेको अवस्था छ । स्थानीय शीप, क्षमता, कच्चा पदार्थ, पूँजी आदिको अभावजस्ता समस्याले गर्दा उद्योगहरूको उत्पादन ज्यादा न्यून रहेको देखिन्छ ।
कतिपय ग्रामीण उद्योगको त लागत पनि नउठ्ने अवस्था रहेको छ । हाम्रो उद्योगहरूका समस्या भनेको पछौटेपन र परम्परागत प्रविधिको प्रयोग नै हो । यसले गर्दा गुणस्तरीय वस्तुहरूको उत्पादन हुन सक्दैन । बजारको मागअनुसार वस्तुको उत्पादन गर्न नसक्दा उद्योगले थप समस्याको सामना गर्नु परिरहेको छ ।
हाम्रा उद्योगहरूबाट उत्पादित वस्तु स्थानीय बजारकेन्द्रित देखिन्छ । गुणस्तरीय वस्तु उत्पादन गर्दै विश्व बजारमा खपत हुने सामान उत्पादनमा जोड दिनुपर्छ । देशमा रोजगारीको अवसर कम भएको अवस्थामा उद्योगको विकास र विस्तारमा अझ प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।
कृषि बालीको उत्पादन जुनसुकै भागमा हुन सक्ने भएकाले यसमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ । एकल वा मिश्रित रूपमा देशका सबैजसो भागमा उत्पादन गर्न सकिने कृषि बाली घरायसी प्रयोजनका हिसाबले मात्र उत्पादन हुने गरेको देखिन्छ । यसलाई व्यावसायिक रूपले उत्पादन गरी पर्याप्त लाभ लिन सकिन्छ । हाम्रो धरातलीय स्वरूपअनुसारका विभिन्न प्रकारका पशुपन्छी पाले त्यसवाट मासु, दूध, घिउ, चिज, पनिर, ऊन, छाला, हाड आदिबाट विभिन्न उद्योग सञ्चालन गरी प्रशस्त फाइदा लिन सकिन्छ । हावापानीको विविधताअनुसार विभिन्न प्रकारका फलफूल उत्पादन गरी त्यसवाट जुस उद्योग सञ्चालन गर्न सकिन्छ । यदि हामीले नै प्रशस्त मात्रामा उत्पादन गर्न सक्ने हो भने व्यापारघाटा कम गर्न सकिन्छ भने विदेशिने पूँजीको बचत समेत हुन्छ ।
उद्योगको स्थापनाबाट स्थानीय आवश्यकता पूरा गर्न सकिन्छ भने स्थानीय स्रोत र साधनको उपयोग गरी रोजगारीको प्रबन्ध गर्न सकिन्छ । यसबाट आयातमा कमी आउँछ भने व्यापार घाटा पनि कम गर्न सकिन्छ जसले आर्थिक विकासमा समेत टेवा पुग्छ । उद्योगको विकासले गरीबी निवारण गर्न ठूलो सहयोग पुग्छ भने समग्र विकासमा पनि सहयोग हुन्छ । उद्योग नै त्यस्तो महत्त्वपूर्ण क्षेत्र हो जसले धरै मानिसलाई एकैपटक रोजगारी दिलाउँछ । बढ्दो बेरोजगारीलाई कम गर्न उद्योगको विकास र विस्तार गर्नु जरुरी हुन्छ ।
देशमा पहिले उच्च क्षमतामा चलेका र हाल विभिन्न कारणले बन्द उद्योगहरूलाई पुनः सञ्चालन गरी रोजगारी सृजना गर्नुपर्ने देखिन्छ । देश विकासको सूचकमा उद्योगलाई मुख्य मानिन्छ । उद्योगको बहुआयामिक फाइदालाई मनन गरी हरेक उपायहरूको अवलम्बन गर्दै उद्योग स्थापनामा ध्यान दिनुपर्छ । देशमा उद्योग स्थापना गर्न समसामयिक उद्योग नीति निर्माण गर्नुपर्छ । उद्योग मैत्री वातावरणको सृजना गरी पूँजीपति वर्गलाई उद्योगको स्थापनामा आकर्षित गर्न सक्नुपर्छ । लगानीको सुनिश्चितता गर्न बन्दहडताल नगर्ने, अनावश्यक माग राखेर काममा अवरोध सृजना गर्न नदिने नियमको व्यवस्था गर्नुपर्छ । साथै, औद्योगिक ऋणको व्यवस्था, राजनीतिक स्थिरता र प्रभावकारी औद्योगिक नीति पनि आवश्यक हुन्छ । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्दै आगामी दिनमा प्रभावकारी योजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।
लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।
काठमाडौं । देशदेशान्तर घुम्ने विदेशी वा स्वदेशी पर्यटकसँग गाँसिएको पर्यटन व्यवसाय गर्न ठूलो धनराशि लगानी गरेर ट्राभल, ट्रेकिङ एजेन्सी वा ठूला होटलको मालिक हुनैपर्छ भन्ने छैन । पर्यटकीय आकर्षण नजिकैको गाउँ वा पर्यटक घुम्ने सहर–बजारमा आफ्नो निजी निवास छ र केही कोठा वा फ्ल्याट भाडामा दिन उपलब्ध छन् भने त्यसैमा पर्यटकका लागि घरबास (होमस्टे) व्यवस्था गरेर पर्यटन व्यवसायमा पहिलो पाइला सुरु गर्न सकिन्छ ।
नेपाल पर्यटन बोर्ड (एनटीबी), ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ–नेपाल) आदि निकाय र संस्थाले ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीयको आर्थिक सशक्तीकरण गर्न घरबास व्यवसायका लागि सहरलाई भन्दा गाउँलाई प्राथमिकतामा राखे पनि राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमै पनि घरबास व्यवसाय गरी आयआर्जन गर्ने व्यवसायी उल्लेख्य संख्यामा पाइन्छन् ।
पर्यटकको रूपमा घुम्ने क्रममा पर्यटकीय स्तरका सामान्य पाहुनाघर (गेस्टहाउसदेखि) पाँचतारे स्तरका महँगा होटलमा बस्ने परम्परागत चलन भए पनि पछिल्लो समय आफू घुम्न जाने स्थानीयको घरैमा बास बस्ने चलनलाई रुचाउने एकाथरी पर्यटक दिनानुदिन बढ्दो छन् । आफू घुम्ने गन्तव्यमा स्थानीयको घरमै बस्ने र उनीहरूकै भान्सामा पाकेको खानपिन गर्नाले खर्च पनि सस्तो र स्थानीय चालचलन र खाना संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइने ती पर्यटकको बुझाइ हुने गर्छ । नेपालका सबैजसो पर्यटकीय स्थलमा घरबास व्यवसाय फैलिइसकेको छ । लमजुङको घलेगाउँ, धनकुटाको नाम्जेजस्ता ठाउँको घरबासले अन्तर्राष्ट्रिय सम्मान तथा चर्चासमेत पाएको विभिन्न सञ्चारमाध्यममा सुने/पढिसकेका छौं । कोभिड महामारीपूर्व सन् २०१९ को अन्तसम्मको पर्यटन मन्त्रालय, पर्यटन विभागले प्रकाशित गरेको तथ्यांकले देशभर १३३१ घरपरिवार सामूहिक वा एकल किसिमले घरबास व्यवसायमा संलग्न छन् । यिनको एकै पटक पर्यटक धान्न सक्ने क्षमता करिब ५००० बेडको रहेको छ । यसबाट यस क्षेत्रमा आयआर्जन र पर्यटकसँग अन्तरक्रिया गर्दै व्यवसायमा छलाङ मार्ने सम्भावना रहेको आकलन गर्न सकिन्छ ।
घरबास व्यवसाय सुरु गर्न ग्रामीण क्षेत्रमा हो भने छरछिमेक मिलेर समूह बनाई सामूहिक रूपमै दर्ता भएर पर्यटन विभागअन्तर्गत होमस्टे शाखामा आबद्ध भई विधिवत व्यवसाय सञ्चालन गर्न सकिन्छ । नगर क्षेत्रमा भने सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सुरुआत गर्न सकिन्छ । घरबास सञ्चालन गर्न सम्बन्धित घरमा कम्तीमा दुई वटा कोठा भए उपयुक्त हुन्छ । घरलाई सकेसम्म जे–जस्तो छ, त्यस्तैमा परम्परागत पहिचानलाई जोगाएरै सरसफाइमा विशेष ध्यान दिई कोठाभित्रै बाथरुमको व्यवस्था गरी वा एकभन्दा बढी कोठाका लागि एउटै बाथरुमको व्यवस्था गरे पनि हुन्छ । आफूसँग जे–जस्ता सुविधा छन्, तिनलाई किटान गरेर आफ्नो व्यवसाय दर्ता भएको नाममा सकेसम्म मिल्दो वेबसाइट बनाई सोही साइट वा फेसबुक, इन्स्टाग्राम तथा युट्युबजस्ता सामाजिक सञ्जालमार्फत प्रचार गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
घरबासमा उपलब्ध कोठा र सेवा–सुविधा उपभोग गर्न बुकिङका लागि आफ्नै वेबसाइटमा वा एयर बीएन्डबी, बुकिङ डटकम आदि ग्लोबल वेबसाइट पोर्टलसँग आबद्ध भई संसारको जुनसुकै ठाउँबाट बुकिङ गर्न सकिने सजिलो र सुरक्षित माध्यम अपनाउन सकिन्छ ।
घरबास व्यवसायमा पर्यटकका लागि बासको व्यवस्थाका साथै खानपिनको सुविधा महत्वपूर्ण हुन्छ । खानपिनका लागि आधुनिक पर्यटकीय रेस्टुराँजस्तै खानपिन हुनुपर्छ भन्ने छैन । घरबासमा बस्ने पर्यटक सम्बन्धित स्थानमा जे उपलब्ध छन्, त्यसैलाई स्वस्थ र सफा ढंगले तयार पारी खाने सोख भएका नै हुन्छन् । त्यसैले आफ्नै खेतबारी वा बगैंचामा उब्जिएका सागसब्जी, अन्न, आदिको प्रयोग गर्न सकिन्छ । अथवा, स्थानीय पसल वा बजारमा जे पाइन्छ, त्यसैबाटै खानपिन तयार गर्न सकिन्छ । घरमा नियमित खानाको साथमा चिया, कफी, स्थानीय पेय आदिको पनि व्यापार गर्न सकिन्छ । आफ्ना घरमा घरबासका लागि आउने पर्यटकलाई सकेसम्म पाहुनामैत्री वातावरण दिनु उचित हुन्छ । यसो गर्नाले आफूले पनि उनीहरूबाट धेरै कुरा सिक्न सक्ने र पाहुनाको बसाइँ अझ बढी स्मरणीय हुन जान्छ । घरमा इन्टरनेट सुविधा हुनुपर्दछ भने चाखलाग्दा विषयका किताब, पत्रपत्रिका, फोटो, नजिकका पर्यटकीय स्थलबारे जानकारी आदि भए थप आकर्षण हुन जान्छ । लामो समय बस्ने पाहुनाको चाखअनुसार बगंैचा, घरको सामान्य काम, खेतबारी आदिमा पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ । घरबासलाई व्यावसायिक र अझ व्यवस्थित रूपमा कसरी अगाडि बढाउने भन्नेबारे पर्यटन बोर्ड, पर्यटन विभाग, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चजस्ता निकाय र संस्थामा सम्पर्क गरी जानकारी, सहयोग र तालिमसमेत लिन सकिन्छ ।
काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै पर्यटन क्षेत्र प्रभावित भएको छ ।
पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ ।
कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ ।
पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ । होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ ।
महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए ।
पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस
विश्वभरि पर्यटन उद्योगलाई ‘धूवाँरहित उद्योग’को मान्यता दिइएको छ । नेपालको धूवाँरहित उद्योगअन्तर्गत होटेल, मोटेल (नेपाल मोटेल भए÷नभएको पंक्तिकारलाई थाहा भएन), कटेज, रिसोर्ट, मचान, गेस्ट हाउस, लज, घरवास (होमस्टे) आदिलाई लिन सकिन्छ ।
तर, समग्र पर्यटनअन्तर्गतको परिभाषा भने अलि बृहद् छ । जस्तै पदयात्रा, पर्वतारोहण अर्थात्, जलयात्रा, बरफ आरोहण आइस क्लाइम्बिङ, वनजंगल घुम्ने/जंगल सफारी, निकुञ्ज घुम्ने, बन्जी जम्पिङ गर्ने, चरा अवलोकन गर्ने, माछा मर्ने, शिकार खेल्ने, हट एयर बालुनिङ, जिप फ्लायर, चट्टान आरोहण–रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाईकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोपचार अर्थात् मेडिकल टुर, ध्यान–योग अर्थात् योगा पर्यटन, गाउँ अवलोकन भ्रमण आदिलाई समग्र पर्यटनमा समेट्ने गरिन्छ ।
३ वर्षअघि (कोरोना महामारी शुरू हुनुअघि) को तथ्यांकअनुसार नेपालको होटेलले वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको छ ।
होटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, घरवास (होमस्टे) आदिलाई पर्यटनको मेरूदण्डकै रूपमा लिनुपर्ने हुन्छ । किनभने, कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै उसलाई सबैभन्दा पहिले वास बस्ने व्यवस्था हुन जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? कहाँ जाने भन्ने चिन्ता गर्छ । अथवा अर्को शब्दमा भन्नु पर्दा कुनै पनि मान्छेले आफ्नै देशभित्र आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै (आफन्त वा नातागोता कहाँ बाहेक) उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । अर्को महत्त्वपूर्ण कुरो, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर रात बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्रसंघसँग आबद्ध ‘विश्व पर्यटन संगठन (यूएन डब्ल्यूटीओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ । आन्तरिक वा बाह्≈य पर्यटन बारेको परिभाषा हेर्दा भारतीय सीमाक्षेत्रको होटेल वा लजमा बसेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दिउँसो एकैछिन (३–४–५ घण्टा) नेपाल घुमेर वास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? बुद्ध धर्मका प्रवद्र्धक (गौतम बुद्धलाई विश्वभरका अनुयायीहरूले भगवान् मान्ने गरेका छन्) गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने, सोही दिन भारततिरै फर्केर वास बस्न जाने विदेशी पर्यटकलाई पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
नेपालको होटेल उद्योगको कुरो गर्दा ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति÷प्रगति भइरहेको देखिन्छ, कोरोना महामारी शुरू हुनुअघिदेखि नै । लगभग ४ वर्षअघि नै नेपालको होटेल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँ बराबरको लगानी भइसकेको थियो । यस सम्बन्धमा सहयोगी आर्थिक अभियान दैनिकको सह प्रकाशन, ‘बिजिनेश एज’मा सन् २०१७ को मे महीनामा प्रकाशित रिपोर्टअनुसार सन् २०१६ मा मात्रै स्वदेशी तथा विदेशी होटेल (चेन होटेल) होटेल व्यवसायीहरूले नेपालको होटेल उद्योगमा ६ खर्ब (६० बिलियन) नेपाली रुपैयाँ लगानी गरेका थिए । त्यो आधारमा हेर्दा हालसम्म स्वदेशी तथा (विदेशी होटेल चेन) होटेलहरूले नेपालको होटेल उद्योगमा १८/१९ देखि २१/२२ खर्ब नेपाली रुपैयाँ लगानी गरिसकेका होलान् भनी अनुमान गर्न सकिन्छ । ३ वर्षअघि नै कैलाली जिल्लाको धनगढीलगायत विभिन्न स्थानमा होटेल उद्योगमा लगभग ९ अर्ब नेपाली रुपैयाँ लगानी भएको भनी समाचार आएको थियो । अझै पनि नेपालको विभिन्न पर्यटकीय संभावना रहेको पर्यटकीय क्षेत्र र ठाउँमा होटेल खोल्ने क्रम जारी रहेको छ । कोरोना महामारीपछि पर्यटन उद्योग कसो नतङ्ग्रेला ? भनी नेपालको होटेल उद्योगमा विदेशी लगानी (चेन होटलेको रूपमा) पनि भित्री रहेकै देखिन्छ । स्वदेशी लगानीकर्ताहरूले पनि कोरोनापछिको सम्भावनालाई ध्यानमा राखेर होटेलमा लगानी गर्ने क्रम रोकिएको छैन ।
सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लाको माथिल्लो भेगमा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल ‘मुक्तिनाथ’को भ्रमण गरेपछि भारतीय हिन्दू धर्मालम्बीको घुइँचो लाग्न थालेको थियो । तर, कोरोना महामारीका कारण यो क्रम रोकिएको छ । यसरी भारतीय हिन्दू धर्मालम्बीलगायत अन्य देशका पर्यटकको चाप बढ्न थालेपछि मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटेल खुल्ने क्रम बढ्दो रहेको छ । विसं २०७६ साउन अन्त्यतिर एक अनलाइन न्यूज पोर्टलमा छापिएको समाचारमा उल्लिखित तथ्यांकअनुसार सन् २०१५ ताका मुक्तिनाथ क्षेत्र वरिपरि १५ ओटा पर्यटकीयस्तरका होटेल थिए भने हाल त्यहाँ पर्यटकीय होटेलको संख्या २३÷२४ ओटा पुगेको छ ।
सन् १९९३/९४ तिर यो पंक्तिकार ट्रेकिङ भरियाका रूपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईओटा मात्रै साधारण (पर्यटक बस्नलायक) होटेल देखेको थियो । त्यो वेला थोराङपास ट्रेकिङ रूटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रूटहरूमा होटेल वा लज हुन्थेन । होटेल वा लज उपलब्ध नहुने भएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । मुक्तिनाथ दर्शन गर्न आउने धेरै जसो भारतीय र नेपाली हिन्दू तीर्थयात्रीहरू पाटी, पौवा, धर्मशालामा वास बस्थे भने, यूरोप, अमेरिकालगायत देशका पदयात्रीचाहिँ क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे । ३ वर्षअघि (कोरोना महामारी शुरू हुनुअघि) को तथ्यांकअनुसार नेपालको होटेलले वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचमा केही नभए तापनि १९÷२० हजार बेड क्षमता बढेको हुन सक्छ । त्यहीअनुसार विदेशी पर्यटक नेपाल भ्रमणमा आएनन् भने, होटेलमा लगानी गरेका लगानीकर्ताले कहिले नाफा कमाउने हुन् ?, सञ्चालन खर्च उठाउनै कठिनपर्ने देखिन्छ । धेरैजसो लगानीकर्ताले आफ्नै पकेटको पैसाभन्दा पनि बैंक तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् । शहरबजारमा खुलेका ‘होस्टेल’ र ‘होमस्टे’हरू तारे होटेलका लागि प्रतिस्पर्धीका रूपमा रहेका छन् । काठमाडांैलगायत सुविधा सम्पन्न क्षेत्रमा ‘होस्टेल’ र ‘होम स्टे’हरू चलाउन दिनु हुँदैन । भनी ठूला/तारे होटेलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बद्ध निकायले ध्यान दिने र सम्बोधन गर्ने हो कि ? नीति निर्माताहरूले गम्भीर सोच्नुपर्ने देखिन्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।
नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ ।
अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ । पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ ।
विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं ।
पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन ।
नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन ।
पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ ।
विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ ।
अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ ।
पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो ।
पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।
विश्वव्यापी महामारी कोभिड–१९ शुरू भएदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन हो । यसबाट नेपाली पर्यटन पनि अछुतो रहेन नै । पर्यटन ठप्प भएको झन्डै डेढ वर्ष पुग्न लागेको छ । यस बीचमा सरकारले हरेक महीना केही हजार पर्यटक आइरहेको तथ्याङ्क प्रकाशित गरेको पनि छ । नेपालमै परिवार भएका, यहीँ पुर्ख्यौली घर भएका (गैरआवसीय नेपाली), यहाँ अध्ययन वा व्यापार गर्ने विदेशीहरूको संख्या पनि रहेको हुँदा वास्तविक पर्यटकको आगमन नगण्य नै रहेको छ । पर्यटन गतिविधिले अधिकांश समय चलायमान रहने राजधानीको पर्यटकीय केन्द्र ठमेलको शून्यता लम्बिइरहेको परिदृश्यले पनि देशमा पर्यटन पुनः ब्यूँतिन लामै समय लाग्ने संकेत गरिरहेको छ ।
पहिलो चरणको महामारीको असर उल्लेख्य रूपमा घटेको र सरकारले पर्यटकीय गतिविधि खुला गरेको मौका पारी हिमाल आरोहणका लागि उत्साहजनक संख्यामा पर्वतारोही पर्यटकहरू आए । उत्साहजनक यस अर्थमा कि गत हप्ता (अप्रिल ३०) मात्र पर्यटन विभागले प्रकाशित गरेको तथ्याङ्कमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै सबैभन्दा बढी आरोहण अनुमतिपत्र जारी गरिएको देखिएको छ । सगरमाथामा मात्र विदेशी तथा स्वदेशी गरी ४०८ जना आरोहीहरूले आरोहण अनुमति लिएको देखिएको छ । २०१९ को वर्षभरिको भन्दा यो बढी हो । सन् २०१९ मा जम्मा ३९७ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए । गतवर्ष २०२०मा भने सगरमाथामा कुनै आरोहण गतिविधि भएन । सगरमाथासँगै नेपालका ६५०० मीटर माथिका विभिन्न १६ हिमालमा नेपाललगायत विभिन्न मुलुकका ७४२ आरोहीहरू हिमालको चुलीमा सफलताको झण्डा फहराई साहासिक पर्यटकीय गतिविधिको मज्जा लिन मेहनतरत छन् । नेपाल पर्वतारोहण संघबाट अनुमति लिनु पर्ने ६५०० मीटर मुनिका केही हिमचुलीहरूमा थप आरोहीहरू पर्वतारोहणमा गएका छन् ।
पर्यटन निर्वाध सुचारु रहने समयमा पनि यस क्षेत्रले देशको समग्र अर्थतन्त्रमा कति योगदान दिइरहेको छ भन्ने यकिन तथ्याङ्क पाइएको छैन । पर्वतीय पर्यटनको ट्रेकिङ तथा हिमाल आरोहण क्षेत्रले केकति रोजगारी र आर्थिक योगदान राष्ट्रलाई दिएको छ भन्ने तथ्याङ्क पाउन थप मुश्किल छ । महामारीका बीच उत्साहजनक संख्यामा हिमाल आरोहणमा सहभागी भइरहेका पर्यटकहरूले कतिसम्म आर्थिक योगदान दिइरहेको छ भन्ने आकलन गर्ने प्रयास यस लेखमा गरिएको छ ।
नेपाल आउने पर्यटकमध्ये निकै थोरै मात्र पर्वतारोहण गतिविधिमा संलग्न हुन्छन् । सानै संख्यामा आए पनि त्यस्ता पर्यटकले सृजना गर्ने रोजगारीको अवसर र आर्थिक गतिविधि भने उल्लेख्य हुने गरेको छ । चालू वसन्त ऋतुका लागि अनुमति दिनेक्रम अन्तिम चरणमा पुग्दा पर्यटन विभागले ७४२ हिमाल आरोहीबाट झन्डै साढे ७१ करोड राजस्व संकलन गरिसकेको छ । विगतमा सरकारले आरोहीहरूबाट संकलन गर्ने राजस्वभन्दा यो रकम बढी हो । सरकारले प्रति विदेशी आरोही ११ हजार अमेरिकी डलर र नेपालीबाट ७५ हजार रुपैयाँ राजस्व लिने गरेको छ । प्रत्येक आरोहीले पर्वतारोहण सञ्चालक संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघजस्ता संस्थालाई विभिन्न शुल्क करीब १ हजार अमेरिकी डलर थप शुल्क तिर्नुपर्ने हुन्छ ।
सगरमाथा तथा ८ हजार मीटर माथिका हिमाल आरोहणको लागि आरोहण सञ्चालक कम्पनीहरूले असुल्ने आरोहण प्याकेज मूल्यको आधारमा औसत खर्च अनुमान गर्दा एक आरोही पर्यटकले औसत ४५ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । ८ हजारमुनि र ६५०० मीटर माथिका हिमालहरूका लागि पनि उनीहरूले प्रतिआरोहण करीब १० लाख खर्च गर्नुपर्ने हुन्छ । महामारी बीच हिमाल आरोहणमा तल्लीन आरोही पर्यटकको कारण कम्तीमा पनि ४ अर्ब बराबरको आर्थिक कारोबार यस क्षेत्रमा भएको देखिन्छ ।
पर्वतारोहणमा आउने यी पर्यटकले सृजना गर्ने रोजगारीको अवसर उनीहरूको योगदानको अर्को पाटो हो । ८ हजार मीटर माथिका ठूला हिमालहरूमा जाने आरोहीले रोजगारी दिने उच्च हिमाली पथप्रदर्शकको औसत संख्या त्यस क्षेत्रमा संलग्नहरूको भनाइ अनुसार प्रतिआरोही १ दशमलव ५ को अनुपातमा हुन्छ । कसैले दुई भन्दाबढी पथप्रदर्शक प्रयोग गर्ने र कसैले आफै (अलपाइन) आरोहण गर्ने हुँदा त्यस्तो तथ्याङ्क आएको हो । अहिले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मात्र ४०० पर्यटक आरोहीका लागि ६०० बढी नेपाली आरोही पथप्रदर्शकहरू खटिइरहेका छन् । यही अनुपातमा आरोहण गतिविधि चलिरहेका अरू हिमालमा पनि थुप्रै पथप्रदर्शक जनशक्ति संलग्न रहेका छन् । एक आरोहण याममा उनीहरूको औसत रोजगार अवधि ६० दिन र औसत आम्दानी ६ लाख हाराहारी हुने गर्छ । हिमालका आधार शिविर तथा ठूला हिमालको माथिल्लो क्याम्पहरूमा समेत खाना बनाउने अन्य सहयोगी कामदार प्रयोग हुने गर्छ । आधार शिविरसम्म बन्दोबस्तीका सामान पु¥याउने तथा ल्याउने कार्यका लागि हवाई उडान एवं संयौंको संख्यामा भरिया तथा जोप्के (चौरी) आदिको पनि प्रयोग हुने गर्छ । त्यस्तै हिमाल आरोहणमा जाने पर्यटक आरोहण अगाडि आधार शिविरसम्म र पछि त्यहाँबाट नजिकको सडक वा हवाई अड्डासम्म ट्रेकिङ गर्दै आउने जाने गर्नाले बाटोमा पर्ने स्थानीय बस्तीहरूमा समेत आर्थिक लाभ पुग्ने गरी गतिविधिहरू भइरहेको हुन्छ ।
यसबाट हिमाल आरोहणमा आउने पर्यटकले आफ्नो संख्याको तुलनामा आर्थिक योगदान उच्च रहेको हुन्छ । यता महामारीको असरको दैनिक नयाँ नयाँ रेकर्डसहितको चिन्ताजनक समाचार आइरहँदा सगरमाथामा विश्व रेकर्डधारी आरोही कामी रिता शेर्पाले आफ्नै रेकर्ड थप बलियो बनाउँदै अन्य ११ आरोहीका सथा २५ औं पटक विश्वको शिर सगरमाथा गत शुक्रवार साँझ ६ बजे विजय गरेको रोमाञ्चक समाचार सुन्न पाएका छौं । उनको नेतृत्वमा रहेको नेपाली आरोहीहरूले बाटो खोलेसँगै अब केही हप्ता सगरमाथा आरोहणको खबरले नयाँ र उत्साहप्रद सन्देशहरू दिने छ । विषम समयमा समेत यसरी उत्साह भर्न सक्ने र गुणात्मक रूपमा बढी आर्थिक प्रतिफल दिन सक्ने देशको पर्यटनअन्तर्गत पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकायले निरन्तर ध्यान दिनु पनि जरुरी रहेको छ ।
लेखक थ्री ज्यूयल्स एडभेन्चर्सका प्रबन्धक हुन् ।