उद्योग र अर्थतन्त्र एकअर्कामा परिपूरक हुन् । जुन देशको उद्योग फस्टाएको हुन्छ त्यो देशको अर्थतन्त्र पनि बलियो हुन्छ । उद्योगको विकास र विस्तारले रोजगारी वृद्धि गर्छ भने उत्पादनसमेत बढाउँछ । बढ्दो बेरोजगारीको समस्यालाई समाधान गर्न पनि उद्योगको आवश्यकता हुन्छ । उद्योगको विकासले गर्दा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ त्यसैले उद्योग नै अर्थतन्त्रको मेरूदण्ड हो ।
हाम्रो देशमा पनि विभिन्न प्रकारका स्रोत र साधन उपलब्ध छन् । तिनको उपयोग गरी विभिन्न वस्तुको उत्पादन गर्न सकिन्छ । हालसम्म भएका विभिन्न उद्योगलाई वर्गीकरण गरी तिनको महत्त्वलाई स्पष्ट पार्न सकिन्छ । उत्पादनमूलक उद्योगअन्तर्गत कोरा वस्तु वा अर्धप्रशोधित वस्तु वा खेर गइरहेको मालसामानको उपयोग वा प्रशोधन गरी उपयोगी सामानको निर्माण गर्ने व्यवसायहरू पर्छन् । धूपबत्ती उद्योग, चुरोट उद्योग, माटाका भाडा बनाउने उद्योग आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । ऊर्जामूलक उद्योगअन्तर्गत ऊर्जा उत्पादनसँग सम्बद्ध कार्यहरू तथा तिनको सञ्चालन गर्ने तरीकाहरू पर्छन् । बायोग्यास, सौर्यशक्ति, वायुऊर्जासम्बन्धी कार्य, जल उत्पादन आदिलाई यसअन्तर्गत लिइन्छ ।
कृषि तथा वनजन्य उद्योग अन्तर्गत कृषि तथा वन सम्पदामा आधारित उद्योग व्यवसायहरू रहन्छन् । रेसम उत्पादन, फलफूल प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारी प्रशोधन, मह उत्पादन, कफीखेती तथा प्रशोधन, चिया उत्पादन आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । खनिज उद्योग अन्तर्गत खोजी उत्खनन तथा खनिज सम्पदाको प्रशोधन र तिनमा आधारित उद्योग व्यवसायहरू पर्छन् । धातुका भाँडावर्तन उद्योग, खुकुरी, हँसिया उत्पादन आदिलाई लिन सकिन्छ । पर्यटन उद्योगअन्तर्गत पर्यटन व्यवसायलाई सहयोग पुग्ने सबै व्यवसायलाई राखिन्छ । पर्यटन आवास, होटेल, मोटेल, रेस्टुराँ, रिसर्ट, पर्यटन क्षेत्रका यातायात, ट्रेकिङ व्यवसाय, हट एयर बेलुन आदि यसका उदाहरणमा पर्छन् ।
सेवा उद्योग भित्र सेवासम्बन्धी व्यवसायलाई टेवा पुग्ने सबै व्यवसायलाई राखिन्छ । छापाखाना, परामर्श सेवा, निर्माण व्यवसाय, परिवहन, अस्पताल, शिक्षण संस्था, प्रशिक्षण संस्थान आदिलाई यसमा समेटिन्छ । निर्माण उद्योग अन्तर्गत विभिन्न खालका निर्माण कार्य पर्छन् । सडक, पुल, भवन आदिको निर्माण तथा मर्मतसम्बन्धी कार्यलाई यसमा राखिन्छ । आजको हाम्रो वास्तविकतालाई हेर्ने हो भने न्यून उत्पादकत्वको अवस्थामा मात्र उद्योगहरू चलेको अवस्था छ । स्थानीय शीप, क्षमता, कच्चा पदार्थ, पूँजी आदिको अभावजस्ता समस्याले गर्दा उद्योगहरूको उत्पादन ज्यादा न्यून रहेको देखिन्छ ।
कतिपय ग्रामीण उद्योगको त लागत पनि नउठ्ने अवस्था रहेको छ । हाम्रो उद्योगहरूका समस्या भनेको पछौटेपन र परम्परागत प्रविधिको प्रयोग नै हो । यसले गर्दा गुणस्तरीय वस्तुहरूको उत्पादन हुन सक्दैन । बजारको मागअनुसार वस्तुको उत्पादन गर्न नसक्दा उद्योगले थप समस्याको सामना गर्नु परिरहेको छ ।
हाम्रा उद्योगहरूबाट उत्पादित वस्तु स्थानीय बजारकेन्द्रित देखिन्छ । गुणस्तरीय वस्तु उत्पादन गर्दै विश्व बजारमा खपत हुने सामान उत्पादनमा जोड दिनुपर्छ । देशमा रोजगारीको अवसर कम भएको अवस्थामा उद्योगको विकास र विस्तारमा अझ प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।
कृषि बालीको उत्पादन जुनसुकै भागमा हुन सक्ने भएकाले यसमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ । एकल वा मिश्रित रूपमा देशका सबैजसो भागमा उत्पादन गर्न सकिने कृषि बाली घरायसी प्रयोजनका हिसाबले मात्र उत्पादन हुने गरेको देखिन्छ । यसलाई व्यावसायिक रूपले उत्पादन गरी पर्याप्त लाभ लिन सकिन्छ । हाम्रो धरातलीय स्वरूपअनुसारका विभिन्न प्रकारका पशुपन्छी पाले त्यसवाट मासु, दूध, घिउ, चिज, पनिर, ऊन, छाला, हाड आदिबाट विभिन्न उद्योग सञ्चालन गरी प्रशस्त फाइदा लिन सकिन्छ । हावापानीको विविधताअनुसार विभिन्न प्रकारका फलफूल उत्पादन गरी त्यसवाट जुस उद्योग सञ्चालन गर्न सकिन्छ । यदि हामीले नै प्रशस्त मात्रामा उत्पादन गर्न सक्ने हो भने व्यापारघाटा कम गर्न सकिन्छ भने विदेशिने पूँजीको बचत समेत हुन्छ ।
उद्योगको स्थापनाबाट स्थानीय आवश्यकता पूरा गर्न सकिन्छ भने स्थानीय स्रोत र साधनको उपयोग गरी रोजगारीको प्रबन्ध गर्न सकिन्छ । यसबाट आयातमा कमी आउँछ भने व्यापार घाटा पनि कम गर्न सकिन्छ जसले आर्थिक विकासमा समेत टेवा पुग्छ । उद्योगको विकासले गरीबी निवारण गर्न ठूलो सहयोग पुग्छ भने समग्र विकासमा पनि सहयोग हुन्छ । उद्योग नै त्यस्तो महत्त्वपूर्ण क्षेत्र हो जसले धरै मानिसलाई एकैपटक रोजगारी दिलाउँछ । बढ्दो बेरोजगारीलाई कम गर्न उद्योगको विकास र विस्तार गर्नु जरुरी हुन्छ ।
देशमा पहिले उच्च क्षमतामा चलेका र हाल विभिन्न कारणले बन्द उद्योगहरूलाई पुनः सञ्चालन गरी रोजगारी सृजना गर्नुपर्ने देखिन्छ । देश विकासको सूचकमा उद्योगलाई मुख्य मानिन्छ । उद्योगको बहुआयामिक फाइदालाई मनन गरी हरेक उपायहरूको अवलम्बन गर्दै उद्योग स्थापनामा ध्यान दिनुपर्छ । देशमा उद्योग स्थापना गर्न समसामयिक उद्योग नीति निर्माण गर्नुपर्छ । उद्योग मैत्री वातावरणको सृजना गरी पूँजीपति वर्गलाई उद्योगको स्थापनामा आकर्षित गर्न सक्नुपर्छ । लगानीको सुनिश्चितता गर्न बन्दहडताल नगर्ने, अनावश्यक माग राखेर काममा अवरोध सृजना गर्न नदिने नियमको व्यवस्था गर्नुपर्छ । साथै, औद्योगिक ऋणको व्यवस्था, राजनीतिक स्थिरता र प्रभावकारी औद्योगिक नीति पनि आवश्यक हुन्छ । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्दै आगामी दिनमा प्रभावकारी योजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।
लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।