नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ ।
अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ । पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ ।
विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं ।
पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन ।
नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन ।
पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ ।
विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ ।
अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ ।
पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो ।
पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।